काठमाडाैं - भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्यसूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाले छलफल गरेकाे छ । साेमबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल,नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग स्टिकर टाँस्ने सम्बन्धमा नाडाले छलफल गरेकाे हाे ।
अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा भएकाे विस्तृत छलफलमा भावकारी बनाउने भन्सार विभागका महानिर्देशक भण्डारीले बताएका छन् । सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको सो व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समयदेखि नाडाले विभागलाई अनुरोध गर्दै आएको बताए ।उनीहरुले चारपाँग्रे तथा दुई पाँग्रे सवारी साधनहरुको लागि कुनै समस्या नभए पनि एउटै बक्स भित्र सयौँको संख्यामा आउने अटोमोवाइल स्पेयर पार्टसहरुको हकमा भने समस्या रहेको बताए । त्यसैगरी भन्सारमा वण्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक नभएको बताए।
नाडा प्रतिनिधि मण्डलसँगको उक्त छलफलमा महानिर्देशक भण्डारीले सबै किसिमका अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताउँदै विभागले व्यापारमा सहजीकरण र राजश्व बृद्धिमा ध्यान दिदै आएको बताए ।
सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहि रहेका सवारी साधनहरु तोकिएको समयसीमा भित्र जाँचपासगरी लैजान सूचना जारी गरेको सम्बन्धमा जिज्ञाशा राखेकोमा महानिर्देशक भण्डारीले सो सूचना कानूनमा भएको व्यवस्था अनुसार जारी गरिएको हुनाले नाडाका सम्बन्धित सवारी साधन पैठारीकर्ताहरुलाई तोकिएकै समयमा ती सवारी साधनहरुको भन्सार जाँचपासगरी सहजीकण गरी दिन आग्रहसमेत गरे ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ काे चैत ३० गते जारी गरेको प्रेश विज्ञप्ति मार्फत विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा उक्त छलफल केन्द्रीत रहेको थियो। सो छलफल तथा भेटघाटमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो ।