चितवन- जिल्लामा व्यावसायीक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन् ।
विगत २० वर्षदेखि व्यावसायीक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, चिचिन्ना, करेलालगायतका तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, “अधिकांश तरकारी प्रतिकिलो पाँच रुपैयाँमा बेच्न बाध्य छौं ।”
बाह्र विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी उनले तरकारीले उचित मूल्य नपाउँदा आफूलगायतका किसान मारमा परेको बताइन्। उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा समेत उठ्न नसकेको उनको भनाइ छ ।
यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले २ विगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । उनको बारीमा अहिले तने बोडी, काँक्रा चिचिन्डा जस्ता तरकारी लगाउँदै आएका छन् । उनले अहिले १० कठ्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाए पछि त्यतीकै राखेकी छन् । उनले भने, “तरकारीले मूल्य पाउन सकेन बिचौलीया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानहरुले तरकारी बिक्री गर्न सकेका छैनन् ।
उनका अनुसार लागत मूल्य समेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान संघर्ष समिति वनाएर प्रदर्शन गर्ने तयारीमा किसानहरु रहेको संघर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताइन् ।
न्यौपानेले भनिन्, “किसानसँग प्रतिकेजी ५ रुपैयाँदेखि १० रुपैयाँमा किनेर उपभोक्ताहरुकोमा पुग्दा ७० रुपैयाँदेखि ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।” आफूहरुले बजारमा उपभोक्ता मूल्य समेत बुझेको बताउँदै उनले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताइन् । बिउ, मल, बिषादी, जनशक्ति, सिंचाई, ढुवानीको लागत मूल्य समेत उठ्न नसकेको उनले बताइन् ।
राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न समेत उनले आग्रह गरे । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिए ।
राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिंदै आइएको छ । जहाँ एक हजार कृषक सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेको इकाईका प्रमुख महेश रेग्मीले बताए ।