- समानुपातिकतर्फ सांसद चुन्ने समयसीमा आज सकिँदै
- छ दलले प्राप्त सिटलाई आधार मानेर सांसद चुन्ने
- एमालेले १६ सांसद चुन्दा, रास्वपा, कांग्रेस, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको बाँकी
- रास्वपाले ५७, कांग्रेसले २०, नेकपाले नौ, श्रम संस्कृति र राप्रपाले चार–चार सांसद चुन्ने
- समावेशी क्लस्टरअनुसार सांसद चुन्नुपर्ने अवस्थामा दलहरू
काठमाडौं- निर्वाचन आयोगले निर्धारण गरेको सिटअनुसार राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरूले समानुपातिकतर्फका सांसदको नाम बुझाउनु समयसीमा आज सकिँदै छ । समानुपातिकतर्फ तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)हुन् ।
नेकपा एमालेले समानुपातिकतर्फका सांसदहरू शनिबार टुंगो लगाएको छ । निर्वाचन आयोगमा गत पुसको दोस्रो साता बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीका आधारमा एमालेको सचिवालय बैठकले शनिबार १६ सिटमा नाम टुंगो लगाएको नेता लेखराज भट्टले बताए । उनका अनुसार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समावेशी क्लस्टरअनुसार नाम चयन गरेको हो ।
एमालेले आदिवासी जनजाति महिलाबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, आदिवासी जनजाति पुरुषमा रामबहादुर थापा मगर र कुलभक्त शाक्य, खस आर्यबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, यशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), खस-आर्य पुरुषबाट गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई समानुपातिक सांसद चयन गरेको हो । यसैगरी थारूबाट कृपाराम राना, दलितबाट विष्णुमाया बिके, नीता घतानी, मधेसीबाट रिंगला यादव, यशोधाकुमारी यादव तथा चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्दीकीलाई एमालेले समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
प्रतिनिधिसभामा पहिलो दल बनेको रास्वपाले शनिबार नै समानुपातिक सांसदहरूको टुंगो लगाउने जनाएको थियो । तर, आकस्मिकरूपमा पार्टी बैठक आजलाई सारेको थियो । प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनमा बैठक सारिएको हो । बैठक आज बिहान १० बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने उनले बताए ।
उनका अनुसार बैठकमा समानुपातिक सांसद टुंगो लगाउने मुख्य एजेण्डा छ । प्रत्यक्षको १२५ र समानुपातिकको ५७ गरेर रास्वपाको प्रतिनिधिसभामा १८२ सांसद हुने देखिन्छ । त्यसको एकतिहाइ महिला हुनुपर्ने संवैधानिक प्रावधानअनुसार रास्वपाबाट ६० जना महिला सांसद प्रतिनिधिसभामा हुनुपर्छ । राष्ट्रिय सभामा उपस्थिति नभएको रास्वपाको प्रतिनिधिसभा प्रत्यक्षबाट १३ जना महिला निर्वाचित छन् । बाँकी ४७ जना महिलालाई समानुपातिकको बन्दसूचीबाट संसद्मा लैजानुपर्ने भएको छ । सोहीअनुसार आज रास्वपाले ४७ जना महिलालाई समानुपातिकतर्फबाट निर्वाचन आयोगलाई सिफारिस गर्नुपर्ने छ ।
निर्वाचनबाट दोस्रो दलको हैसियतमा झरेको नेपाली कांग्रेसको समानुपातिक सांसद टुंगो लगाउन आज कार्यसम्पादन समिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयले शनिबार एक सूचना जारी गर्दै प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको जनाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
उनका अनुसार निर्वाचनअघि आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा समानुपातिक उम्मेदवारहरूको नाम टुंगो लगाएर आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने छ । कांग्रेसले समानुपातिकमा पाएको २० सिटमा बन्द सूचीबाट १५ जना महिला पठाउनुपर्ने भएको छ । राष्ट्रिय सभामा कांग्रेसका २४ सदस्य छन् । गत पुस ३० मा सुदूरपश्चिमबाट निर्वाचित कांग्रेसका बलदेव बोहराको निधनपछि राष्ट्रिय सभाको एउटा सदस्य पद रिक्त छ ।
प्रतिनिधिसभामा प्रत्यक्षबाट १८ र समानुपातिकबाट २० गरेर ३८ सदस्य निर्वाचित हुँदा संघीय संसद्मा कांग्रेसको सांसद संख्या ६२ पुग्ने छ । त्यसको एकतिहाइ अर्थात् २० जना महिलाको प्रतिनिधित्व कांग्रेसले गराउनुपर्छ । राष्ट्रिय सभामा पाँच र प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित एक महिला रहेकाले बाँकी १४ जना महिला सांसद समानुपातिकको २० जनाबाट कांग्रेसले पठाउनुपर्ने भएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि आजै समानुपातिक सांसद टुंगो लगाउने भएको छ । नेकपाले समानुपातिकमा नौ सिट पाएको छ । त्यसमा चार महिलासँगै अन्य विभिन्न क्लस्टरबाट समानुपातिक सांसद चुनिने नेता गणेशमान पुनले बताए । यससँगै नेकपाको संघीय संसद्मा ३४ जनाको प्रतिनिधित्व पुग्दै छ । राष्ट्रिय सभामा १७ जना छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट आठ जनाले जितेका छन् । समानुपातिकबाट नौ जना निर्वाचित भएसँगै नेकपाको प्रतिनिधिसभा र राष्ट्रिय सभामा समान १७/१७ जना सांसद हुने भएको हो ।
चार–चार सिट पाएका श्रम संस्कृति पार्टी र राप्रपाले दुई-दुई सिट महिलालाई दिनुपर्ने छ । बाँकी अन्य क्लस्टरबाट मिलाएर समानुपातिक सांसद टुंगो लगाउनुपर्ने छ । उसो त शनिबार नै श्रम संस्कृति पार्टीले चार सिटमा समानुपातिक सांसदको टुंगो लगाएको समाचार विवरण सार्वजनिक भएको थियो । तर, पार्टी अध्यक्ष हर्क साम्पाङले त्यो गलत भन्दै खारेज गरिदिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘आधिकारिक को-को हो भनेर निर्णय भइसकेको छैन । तयारीमात्रै भइरा’छ है । समानुपातिकबारे धेरै हतार गरेर समाचार बनाइहाल्नु पर्दैन ।’ राप्रपाले पनि आजै समानुपातिकतर्फको सांसदको सूची टुंगो लगाउने भएको छ । नेता बुद्धिमान तामाङका अनुसार पार्टीले समानुपातिक सांसदहरूको नाम छानेर निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ । यसरी समानुपातिकतर्फको ११० सिटमा छ राजनीतिक दलबाट समावेशी आधारमा सांसद छानिँदै छ । दलले छानेको नाम प्राप्त गरेपछि आयोगले दुई दिनभित्रै समावेशी समूह र बन्दसूचीको क्रम मिले-नमिलेको छानबिन गर्ने सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।
उनका अनुसार त्यसमा कैफियत देखिए मिलाएर पठाउन सम्बन्धित दललाई आयोगले पुनः निर्देशन दिने छ । त्यसपछि प्राप्त समानुपातिक सांसदको टुंगो लगाएर आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाउने छ । संविधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेसन आह्वान गर्ने उल्लेख छ । संसद्को अधिवेशन आह्वान भएपछिमात्रै निर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिने छन् ।