गाइघाट- उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको हाे ।
गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ ।
त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईकाअनुसार गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको हो । उनले युवा विदेश पलायन भइरहेपनि गाउँका बुढापाकले कोदो खेतीमा निरन्तरता दिइरहेको बताए । यस पटक पहाडी क्षेत्रमा वर्षा राम्रो भएको कारण कोदो उत्पादन बृद्धि भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । कृषि ज्ञान केन्द्रकाअनुसार उदयपुरमा हाल दुई हजार ७६५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।