मनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् ।
मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी ,नेकपाका यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ९नवीन०ले नौ मत पाएका छन् ।
सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।