बर्दिबास- बर्दिबास नगरपालिका–७ स्थित प्रेमनगर मतदान केन्द्रमा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएका छन्। झडप चर्किएपछि बिहान करिब १०:१५ बजेदेखि उक्त केन्द्रमा मतदान अवरुद्ध भएको हाे।
मतदानस्थल बाहिर भएको झडपका क्रममा विपक्षी समूहले हानेको ढुंगा लागेर वडाध्यक्ष रामसोगारथ यादव भोरिल र उहाँका भाइ रामकरण यादव घाइते भएका हुन् । रामकरण यादवको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ। उहाँलाई थप उपचारका लागि जनकपुर लगिएको परिवारले जनाएको छ। वडाध्यक्ष भोरिलको नाकमा ढुंगा लाग्दा रक्तस्राव भएको छ।
पीडित पक्षले दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै मतदानस्थल नजिक नाराबाजी गरिरहेका छन्। उनीहरूले विपक्षी सुरेन्द्र सिंह, जीतेन्द्रकुमार महतो, संजित महतोसहित २०–२५ जनाको समूहले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन्।
विवाद समाधान गरी मतदान सुचारु गराउन बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीसहितको टोली घटनास्थल पुगेको छ।नेपाल प्रहरीका सई तथा बुथ कमान्डर एम।बी। सिंहका अनुसार एक हजार २२१ मतदाता रहेको प्रेमनगर मतदान केन्द्रमा विवाद हुनु अघि बिहान १०ः१५ बजेसम्म २२९ महिलासहित ४७३ जनाले मतदान गरिसकेका थिए।