अर्थतन्त्रमा विशाल छलाङ
- पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब
- १० वर्षमा २०० खर्ब पुर्याउने
- प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने
रोजगारी र न्यूनतम पारिश्रमिक
- स्वदेशमै वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने
- श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउने
- डिजिटल क्रान्ति
- १८ देखि २८ वर्षका युवालाई मासिक १० जिबी इन्टरनेट डेटा निःशुल्क दिने
- स्टार्टअप र उद्यमी युवालाई अन्तर्राष्ट्रिय कारोबार गर्न १० हजार
- डलरबराबरको कार्ड उपलब्ध गराउने
शिक्षामा लगानी
- प्राविधिक उच्च शिक्षा पढ्ने विद्यार्थीलाई २० लाखसम्मको निब्र्याजी ऋण उपलब्ध गराउने
- पढ्दै कमाउँदै नीति लागू गर्ने
महिला सशक्तीकरण प्याकेज
- महिला उद्यमीलाई २० लाखसम्म निब्र्याजी ऋण
- सुत्केरी पोषणभत्ता २० हजार
- पाँच लाखको निःशुल्क जीवन बिमा
- पूर्वाधार विकास
- पाँच वर्षभित्र पूर्व-पश्चिम विद्युतीय रेलमार्ग
- काठमाडौं-तराई दु्रतमार्गको निर्माण कार्य सम्पन्न गर्ने ।
- ऊर्जा र निर्यात
- विद्युत उत्पादन र प्रतिव्यक्ति विद्युत् खपत दोब्बर बनाउने
- नेपाललाई दक्षिण एसियाकै स्वच्छ ऊर्र्जा निर्यातक हब बनाउने
- स्वास्थ्य र सामाजिक सुरक्षा
- महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि गरेर वार्षिक २० हजार रपुर्याउने
- सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य बिमा र सामाजिक सुरक्षाको दायरामा ल्याउने
- कृषि र आत्मनिर्भरता
- दुई वर्षभित्र सबै घरमा स्वच्छ खानेपानी पुर्याउने
- खाद्यन्नमा देशलाई आत्मनिर्भर बनाउँदै निर्यात दोब्बर गर्ने
- पुनर्निर्माण संकल्प
- जेन-जी आन्दोलनमा क्षति भएका राष्ट्रिय संरचनाहरूको एक वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले अर्थतन्त्रमा तीव्र विस्तार, स्वदेशमै रोजगारी सिर्जना र सुशासन सुदृढ गर्ने लक्ष्यसहित २५ वाचा र १० महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले पाँच वर्षभित्र देशको अर्थतन्त्र १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।
पार्टीले ‘मर्यादित श्रमः स्वदेशमै रोजगारी’ अवधारणा अघि सार्दै वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने, उद्योग विस्तारमार्फत उत्पादन वृद्धि गर्ने तथा कृषि, पर्यटन र सेवा क्षेत्रलाई रोजगारीको मुख्य आधार बनाउने योजना प्रस्तुत गरिएको छ । कृषिमा आधुनिक प्रविधि, वर्षैभरि सिँचाइ र खाद्य आत्मनिर्भरता हासिल गरी कृषिमै पर्याप्त आम्दानी सुनिश्चित गर्ने एमालेको दाबी छ ।
अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनबाट एमालेले एकल सरकार गठन गरेको अवस्थामा सबै वाचा पूरा गर्ने बताएका छन् । ‘यी सबै वाचा पूरा गर्छौं,’ उनले भने, ‘हामीले अघि सारेका योजना कार्यान्वयन गर्छौं ।’ एमालेले अर्थतन्त्र सुदृढीकरणका लागि उद्योग क्षेत्रको योगदान २० प्रतिशत पुर्याउने, आयात घटाएर निर्यात बढाउने र भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने नीति लिएको छ । वित्तीय प्रणाली सुदृढ गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउने र सहकारी क्षेत्रमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
डिजिटल पूर्वाधारलाई विकासको आधार मान्दै एमालेले युवामुखी कार्यक्रम अघि सारेको छ । १८ देखि २८ वर्षका युवालाई मासिक १० जिबी इन्टरनेट निःशुल्क दिने, स्टार्टअप उद्यमीलाई अन्तर्राष्ट्रिय कारोबारका लागि १० हजार डलरबराबरको कार्ड उपलब्ध गराउने योजना समेटिएको छ । शिक्षातर्फ प्राविधिक उच्च शिक्षा अध्ययन गर्न २० लाखसम्म निब्र्याजी ऋण र ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने उल्लेख छ ।
महिला सशक्तीकरणका लागि महिला उद्यमीलाई २० लाखसम्म निब्र्याजी ऋण, सुत्केरी पोषणभत्ता २० हजार र पाँच लाख रुपैयाँको निःशुःक जीवन बिमा दिने कार्यक्रम घोषणापत्रमा समावेश गरिएको छ । स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य बिमा र सामाजिक सुरक्षाको दायरामा ल्याउने, महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि गर्ने योजना पनि अघि सारिएको छ । पूर्वाधार विकासलाई तीव्रता दिन पाँच वर्षभित्र पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण, काठमाडौं-तराई दु्रतमार्ग सम्पन्न गर्ने, सुरक्षित यातायात र आधुनिक पूर्वाधार विस्तार गर्ने लक्ष्य राखिएको छ । ऊर्जा क्षेत्रमा विद्युत उत्पादन र खपत दोब्बर बनाउँदै नेपाललाई स्वच्छ ऊर्जा निर्यात केन्द्र बनाउने महत्वाकांक्षा व्यक्त गरिएको छ ।
सहरी विकासतर्फ स्वच्छ सहर, पूर्ण पूर्वाधार र नागरिकमैत्री आवास निर्माणलाई प्राथमिकता दिइएको छ भने ‘गतिशील गाउँ, आधुनिक सहर’ अवधारणामार्फत सन्तुलित विकास गर्ने योजना प्रस्तुत गरिएको छ । दुई वर्षभित्र सबै घरमा स्वच्छ खानेपानी पुर्याउने प्रतिबद्धता पनि गरिएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि ‘सफा हात, स्वच्छ प्रशासन’ अभियान सञ्चालन गर्ने, सेवा प्रवाह डिजिटल बनाउने र पारदर्शिता बढाउने एमालेको घोषणा छ । सार्वजनिक वित्त, प्रशासन र सहकारी क्षेत्रमा सुधार गर्दै जनतामैत्री शासन स्थापना गर्ने लक्ष्य उल्लेख गरिएको छ ।
विदेश नीतिमा ‘सबैसँग मित्रता, कसैसँग शत्रूता छैन’ सिद्धान्त अपनाउँदै गैरआवासीय नेपालीलाई विकासमा साझेदार बनाउने नीति लिइएको छ । पर्यटन प्रवद्र्धन, युवा सिर्जनशीलता र खेलकुद विकासमार्फत आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।एमालेले घोषणापत्रमार्फत आर्थिक रूपान्तरण, रोजगारी वृद्धि र सुशासन सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्ने दाबी गरेको छ । निर्वाचनपछि जनमतको आधारमा यी कार्यक्रम चरणबद्ध कार्यान्वयन गर्ने पार्टीको प्रतिबद्धता छ ।
१. हाम्रो अर्थः आधा दशकमा सय खर्ब- एक दशकमा २०० खर्ब
२. मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम
३. सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
४. गतिशील गाउँ, आधुनिक सहरः आर्थिक विकासको नयाँ लहर
५. सहरको स्वच्छता, पूर्वाधारको पूर्णताः समुन्नत सहर हाम्रो प्रतिबद्धता
६. स्वच्छ पानी, सफा आँगनः स्वस्थ नेपाली, हाम्रो अभियान
७. उद्योग क्षेत्रको विस्तार, उत्पादनमा वृद्धिः २० प्रतिशत योगदान,
राष्ट्रको समृद्धि
८. आयात घटाउने, निर्यात बढाउनेः भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
९. आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय
१०. हरियो वन, समुदायको धनः संरक्षण, उपयोग, दिगो व्यवस्थापन
११. सहकारीमा सुशासन र पारदर्शिताः बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता
१२. पर्यटकको वृद्धि, लामो बसाइः गाउँ, सहरमा काम र कमाइ
१३. खेतीयोग्य जमिनमा कुलो र नहरः बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर
१४. गुणस्तरीय शिक्षा, उन्नत प्रविधिः ज्ञानयुक्त नागरिक, देशका निधि
१५. स्वस्थ खाना, योग र व्यायामः निरोगी नेपालको महाअभियान
१६. डिजिटल पूर्वाधारः विकास र सुशासनको आधार
१७. सुरक्षित यातायात, आधुनिक पूर्वाधारः दिगो विकास, समृद्धिको आधार
१८. स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात
१९. पुनर्निर्माण र नयाँ निर्माण
२०. सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी
२१. सिर्जनशीलता युवा, नवीन विचारः समाज रूपान्तरणको सुदृढ आधार
२२. ऊर्जावान् खेलाडी, देशको शानः खेलकुदको विकास, राष्ट्रको मान
२३. सफा हात, स्वच्छ प्रशासनः गुणस्तरीय सेवा, जनप्रिय शासन
२४. सबैसँग मित्रता, छैन कसैसँग शत्रूता
२५. नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान