- १५-४९ वर्ष उमेर समूहका ९०.४५ पुरुषसँग मोबाइल फोन, महिलातर्फ ८१.६५ प्रतिशतसँग मात्रै मोबाइल
- मोबाइल पहुँचमा महिला-पुरुषबीच करिब ९-१० प्रतिशतको अन्तर
- ९५.५५ घरपरिवारमा टेलिफोन सेवाको पहुँच
- बागमतीमा सबैभन्दा बढी ९७.१५ र सुदूरपश्चिममा सबैभन्दा कम (९२.६५) टेलिफोन पहुँच
- सुर्तीजन्य पदार्थ सेवन गर्ने १५-४९ वर्ष उमेर समूहका पुरुष ४१.८५, महिला ५.१५ प्रतिशत
- १५ वर्षअगावै चुरोट र बिँडी सेवन गर्ने पुरुष ७.६५ र महिला २.१५ प्रतिशत
- स्वास्थ्य बिमा गर्ने पुरुष १९.६५ र महिला १७.८५ प्रतिशत
- ०-१७ वर्षका बालबालिकाका आमाबुवामध्ये ३३.२५ (एक वा दुवै) वैदेशिक रोजगारीमा ।
- विवाहित महिलामध्ये ३५ प्रतिशतबाट परिवार नियोजनका साधन प्रयोग
- प्रतिएक हजार जीवित जन्ममा एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु
- नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम र सबैभन्दा कम बागमतीमा
- कक्षा १-५ उमेरका ४.५५ र कक्षा ६-८ उमेरका ३.६५ बालबालिका विद्यालयबाहिर
काठमाडौं- मुलुकमा मोबाइल फोन, इन्टरनेट र सूचना तथा सञ्चार प्रविधिको पहुँच उल्लेखनीयरूपमा बढे पनि महिला र पुरुषबीच डिजिटल पहुँचको खाडल अझै कायमै रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ ले मोबाइल प्रयोग, इन्टरनेट पहुँच, स्वास्थ्य, शिक्षा र सामाजिक सूचकहरूमा लैंगिक असमानता उजागर गरेको हो ।
सर्वेक्षणअनुसार १५-४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुषसँग मोबाइल फोन रहेको छ भने महिलामा यो अनुपात ८१.६ प्रतिशत मात्र छ । यसले मोबाइल फोन स्वामित्वमा करिब नौ प्रतिशत बिन्दुको लैंगिक अन्तर देखाएको छ । गत तीन महिनामा मोबाइल फोन प्रयोग गर्नेको अनुपात पुरुषमा ७८.७ प्रतिशत र महिलामा ७२.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार पहुँचको हिसाबले महिला र पुरुषबीच करिब १० प्रतिशत बिन्दुसम्मको फरक देखिन्छ । उनले डिजिटल शिक्षाको कमी, घरायसी काममा महिलाको बढी संलग्नता र सामाजिक तथा आर्थिक संरचनाका कारण महिलाको पहुँच कम देखिएको हो । उनले प्रभावसँग भने, ‘हाम्रो नेपाली समाजमा पुरुषहरू महिलाको तुलनामा घरबाहिर हुन्छन् र बाहिर हुनेले सम्पर्कका लागि चाहिने हुँदा बोक्छन् । यसलाई पनि हामीले पुरुषको पहुँज फोनमा बढी हुनुको कारण मानेका छौं ।’
प्रतिवेदनअनुसार देशभर ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सेवाको पहुँच रहेको छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगअन्तर्गत ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गरिरहेका छन् । प्रदेशगतरूपमा बागमती प्रदेशमा सबैभन्दा बढी ९७.१ प्रतिशत घरपरिवारमा टेलिफोन पहुँच रहेको छ भने सुदूरपश्चिम प्रदेशमा यो अनुपात सबैभन्दा कम ९२.६ प्रतिशत रहेको छ ।
सुर्ती सेवनमा पुरुष अगाडि
सुर्तीजन्य पदार्थ सेवनमा महिलाको तुलनामा पुरुषहरू अगाडि देखिएका छन् । देशभरि १५-४९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्दा महिला ५.१ प्रतिशतमात्रै रहेको पाइएको छ । प्रतिवेदनअनुसार ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगावै एक खिल्ली चुरोट र बिँडी पूरै सेवन गरेको पाइएको छ । यसरी सुर्तीजन्य वस्तु महिलाभन्दा बढी पुरुषले सेवन गर्नुमा तनाव मुख्य कारण भएको बताएको लामिछानेले बताए ।
स्वास्थ्य बिमामा पनि महिला पछि
स्वास्थ्य बिमा गराउनेमा पनि महिलाभन्दा पुरुषको संख्या धेरै रहेको देखिएको छ । प्रतिवेदनअनुसार १५-४९ वर्ष उमेर समूहका १७.८ प्रतिशत महिला र १९.६ प्रतिशत पुरुषले स्वास्थ्य बिमा गरेको पाइएको छ । पाँचदेखि १७ वर्ष उमेर समूहका १५ प्रतिशत बालबालिकाको र पाँच वर्षमुनिका ११.७ प्रतिशतको स्वास्थ्य बिमा गराएको पाइएको छ । यसले स्वास्थ्य सेवामा पहुँच र सचेतनामा पनि लैंगिक अन्तर रहेको देखिन्छ ।
एकतिहाइ बुबाआमा वैदेशिक रोजगारीमा
वैदेशिक रोजगारीमा १७ वर्षसम्मका केटाकेटीका आमाबुवामध्ये एकतिहाइ गएको देखिएको छ । ‘०-१७ वर्ष उमेर समूहका बालबालिकाको जन्म दिने आमाबुवा (एक वा दुवै) विदेशमा बसोबास गर्ने ३३.२ प्रतिशत रहेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४०.८ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम २१.० प्रतिशत देखिएको छ । उक्त उमेर समूहका बालबालिकामध्ये ३.४ प्रतिशतका जन्म दिने आमाबुवा (एक वा दुवै) को मृत्यु भइसकेको पाइएको छ । प्रदेशगत आधारमा यो अनुपात सबैभन्दा बढी ५.३ प्रतिशत सुदूरपश्चिम प्रदेश र सबैभन्दा कम २.१ प्रतिशत मधेस प्रदेशमा देखिएको छ ।
परिवार नियोजनको साधन प्रयोग गर्ने महिला एकतिहाइ
तथ्यांकअनुसार विवाहित महिलामध्ये प्रत्येक तीन जनामा एक जनाले परिवार नियोजनका साधन प्रयोग गरेका पाइएको छ । १५-४९ वर्ष उमेर समूहका हालै विवाहित महिलामध्ये प्रत्येक तीन जना (३५ प्रतिशत)ले परिवार नियोजनका उपाय तथा साधनको प्रयोग गरेको देखिन्छ । सोही उमेर समूहका दुई जनामध्ये एक महिला ५५.२ प्रतिशत आधुनिक परिवार नियोजनका साधन र सेवाको आफ्नो मागअनुसार प्रयोगमा सन्तुष्ट रहेको प्रतिवेदनमा छ ।
एक वर्ष नपुग्दै २७ जनाको मृत्यु
सर्वेक्षणअनुसार प्रतिएक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष उमेर नपुग्दै २७ जनाको मृत्यु भएको पाइएको छ । तीमध्ये १७ शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिएक हजार जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ ।
प्रदेशअनुसार नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ प्रतिहजार छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० प्रतिहजार रहेको छ । प्रतिएक हजार जन्ममा सबैभन्दा बढी शिशु मृत्युदर ३८ जना सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिन्छ । पाँच वर्षमुनिका बालबालिका मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४८ प्रतिहजार रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० प्रतिहजार रहेको देखिन्छ ।
विद्यालयबाहिर धेरै
आधारभूत विद्यालय कक्षा (१-५) मा पढ्ने उमेरका ४.५ प्रतिशत बालबालिका र कक्षा ६-८ मा पढ्ने उमेरका ३.६ प्रतिशत विद्यालयबाहिर रहेको देखिएको छ ।
सबैभन्दा धेरै माध्यमिक विद्यालय (९-१२) मा पढ्ने उमेरका १३.२ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ । प्रतिवेदनअनुसार आधारभूत विद्यालय कक्षा १-५) को कक्षा १ मा प्रवेश गर्ने उमेरका बालबालिकाचाहिँ ४१.२ प्रतिशत रहेको देखिएको छ ।