- श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, एमालेका टीकाराम लिम्बू, रास्वपाकी सरिन ख्युङ्बा तामाङ र कांग्रेसका सुजेन्द्र तामाङबीच टक्कर
- २०४८ यता पाँचपटक एमाले, एकपटक माओवादी र एकपटक एमालेको समर्थनमा जसपाको जित
- कम्युनिस्ट लालगढको रूपमा सुसनरी-१ स्थापित
काठमाडौं- सातवटा संसदीय निर्वाचनको परिणामलाई आधार मान्दा सुनसरी-१ कम्युनिस्ट गढ हो । कम्युनिस्ट गढ भए पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सरिन ख्युङ्बा तामाङ (गोमा)को लोकप्रियताले कम्युनिस्ट शक्तिलाई छायामा पारेको छ ।
यहाँ नेकपा एमालेबाट टीकाराम लिम्बू र कांग्रेसबाट सुजेन्द्र गोले तामाङ उम्मेदवार छन् । अन्य दलका पनि उम्मेदवारहरू छन् । तर, हर्क र सरिन चुनावमा उत्रिँदा देशवासीको ध्यान सुनसरी-१ ले तानेको हो । रास्वपाकी सरिन ती उम्मेदवार हुन्, जसले २०७९ को चुनावमै कम्युनिस्ट गढ झण्डै भत्काइदिएकी थिइन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले समर्थित जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोककुमार राईसँग उनी ४५३ मतको झिनो अन्तरले पराजित भइन् । अर्थात् अशोकले १७ हजार ०५९ मत पाउँदा सरिनले १६ हजार ६०६ मत पाएकी थिइन् । त्यसो हुनाले गत निर्वाचनमै कम्युनिस्ट किल्ला सुनसरी-१ धर्मराएको थियो ।
यसपटक त्यहाँ भाइरल नेता हर्क साम्पाङ थपिए । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । राजनीतिक विश्लेषकहरूका अनुसार उनले नवयुवा, गैरदलीय र असन्तुष्ट मतदातालाई आकर्षित गर्न सक्छन् । उनको छवि लोकप्रिय छ ।
धरानका मेयर छँदा धरानको खानेपानी समस्या समाधान गर्न पहल गरेकोदेखि श्रम संस्कृति पार्क निर्माण गरेको, सुम्निमा र पारुहाङको सालिक निर्माण गरेको विषयले चर्चामा छन् । उनले नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको श्रमदानलाई संस्कृतिकै रूपमा देशव्यापी फैलाएका छन् ।
व्यक्तिगत लोकप्रियता भए पनि बलियो पार्टी संरचना नहुनु उनको कमजोरी मानिन्छ । उनी मेयर हुँदा अख्तियारमा अनियमितताको उजुरी पनि परेको छ । तर, उनको लोकप्रियतामा कमी आएको छैन । श्रम संस्कृति पार्टीका नेता मदनमुुर्छना राई दाबी गर्दै भन्छन्, ‘उहाँ नै हो सुनसरी-१ बाट निर्वाचित हुने । अरुले टक्कर दिन सक्ने अवस्था छैन ।’
एमालेले अघि सारेका उम्मेदवार लिम्बू पनि राम्रो छविका नेता हुन् । उनलाई एमालेको जितको विरासत धान्ने अभिभारा अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । संगठित मत, जुझारु कार्यकर्ता र निर्वाचन व्यवस्थापनमा अब्बल एमाले अझैसम्म बलियो देखिन्छ । तर, बहुपक्षीय प्रतिस्पर्धा र जेन-जी विद्रोही माहोल एमालेका लागि चुनौतीपूर्ण ठानिएको छ । तर, जसरी पनि जितको हकदार आफू हुने लिम्बूले बताए ।
‘एमाले र मसँग प्रतिस्पर्धी कोही छैनन्, यहाँ २०४८ यता कसैले एमालेविरुद्ध धावा बोल्न सक्दैन र सक्ने छैन,’ उनले प्रभावसँग भने, ‘यहाँ हाम्रो पक्षमा माहोल छ, जित्ने हामी नै हो ।’ कांग्रेस उम्मेदवार तामाङ आदिवासी आन्दोलनसँग जोडिएका, पूर्वकर्मचारी पृष्ठभूमिका प्रभावशाली उम्मेदवार हुन् । यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता छ र कांग्रेसको त्यहाँ कहिल्यै जित नभए पनि स्थिर मतदाता छ । यस्तोमा पार्टी सभापति गगन थापाले कांग्रेसका प्रभावशाली नेता तामाङलाई चुनावी मैदानमा उतारेका हुन् ।
नेकपाबाट उम्मेदवार बनेका मनोज भट्टराई धरान-१७ का पूर्ववडाध्यक्ष हुन् । विगतमा धरान उपमहानगरको कार्यपालिका बैठकमा हर्कसँग भएको नोकझोंकले उनी चर्चामा आउँथे । उनी कार्टुनिस्टहरूले ट्रोल बनाइएका नेता पनि हुन् । यहाँ दल र स्वतन्त्र गरी २८ जना उम्मेदवार छन् । तर, चुनावी माहोलले हर्क, सरिन, टीकाराम र सुजेन्द्रबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ । सुनसरी-१ मा धरान उपमहानगरपालिकासँगै बराह नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएका छन् ।
निर्वाचन कार्यालय सुनसरीका अनुसार यहाँ कूल मतदाता एक लाख ५० हजार ३९३ जना छन् । यी मतदाताहरूको मत सबैभन्दा बढी कसले पाउँछन् ? चुनाव उनैले जित्ने हुन् । फेरि, यसपटकको निर्वाचन जेन-जी विद्रोहको पृष्ठभूमिमा हुँदै छ । केही राजनीतिक विश्लेषकका अनुसार जेन-जी विद्रोहको हावा जुन उम्मेदवारले चलाउन सक्छन्, उनले जितको माहोल बनाउने छ ।
विगतको चुनावी परिणाम केलाउँदा भने यहाँबाट २०४८ सालमा एमालेबाट मनमोहन अधिकारी निर्वाचित भए । पछि उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । मनमोहनपछि पनि यहाँ २०५१ मा एमालेकै लीला श्रेष्ठ सुब्बा र २०५६ मा कुन्ता शर्माले चुनाव जिते । एमालेको यहाँ ह्याट्रिक जित थियो ।
२०६४ को संविधानसभा निर्वाचनमा भने १० वर्ष सशस्त्र युद्ध लडेको नेकपा माओवादीका नेता किरणकुमार राई निर्वाचित भए । कांग्रेस र राप्रपाले कहिल्यै चुनाव नजितेको सुनसरी-१ मा एमालेको ‘लालगढ’ तत्कालीन माओवादीले तोडेको थियो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेकै कृष्णकुमार राई, २०७४ को प्रतिनिधिसभा निर्वाचन पनि एमालेकै जयकुमार राईले निर्वाचन जिते । २०७९ को प्रतिनिधिसभा निर्वाचन भने एमाले समर्थित जसपाका अशोककुमार राईले जितेका थिए ।
२०८२ मा आइपुग्दा एमालेको बलियो प्रभाव क्षेत्रमा श्रम संस्कृति पार्टीका हर्क, रास्वपाकी सरिन, कांग्रेसका सुजेन्द्र र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मनोज भट्टराईलाई एमाले उम्मेदवार टीकारामविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । तर, विश्लेषकहरू यदि हर्क र सरिनबीच नवपुस्ताको मत विभाजन अधिक भए एमाले उम्मेदवारलाई जितका लागि सहज हुने विश्लेषण गर्छन् । मत विभाजन कम भए कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।