Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • जहाँ हुदै छ महाभिडन्त  
जहाँ हुदै छ महाभिडन्त  
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, माघ ८, २०८२
  • नयाँ र पुराना दलका उम्मेदवारहरूबीच विभिन्न निर्वाचन क्षेत्रमा महाभिडन्त हुने
  • महाभिडन्तमा हुने जित हारले देशको राजनीतिको रुप नै बदल्न सक्छ
  • राष्ट्रिय चासोको केन्द्रमा महाभिडन्त हुने क्षेत्र


काठमाडौं- संसदीय निर्वाचन हुन थालेको साढे छ दशकमा आगामी फागुन २१ गते नवौंपटक निर्वाचन हुँदै छ । समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवारी दर्ता भइसकेसँगै चुनावी महोल तातेको छ । 

गत भदौको अन्तिम साता भएको जे-जी विद्रोहपछि हुन लागेको यो मध्यावधि निर्वाचनलाई नयाँ र पुराना भनिएका दलहरू तथा तिनका शीर्ष नेताहरूको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ । सत्ता अभ्यास गरिसकेका परम्परागत दलहरू जनआक्रोश, आन्तरिक विवाद र विश्वासको संकटबाट गुज्रिरहेका बेला आफूलाई ‘विकल्प’ दाबी गर्ने नयाँ शक्तिहरूका लागि पनि यो चुनाव कठोर परीक्षा बनेको छ ।

पुराना दलहरूका लागि यो निर्वाचन राजनीतिक सान्दर्भिकता जोगाउने लडाइँ बनेको छ । पटक-पटक सरकार चलाएर पनि स्थायित्व, सुशासन र आर्थिक सुधारमा अपेक्षित परिणाम दिन नसकेको आरोप खेपिरहेका यी दलले मतदातालाई फेरि विश्वास दिलाउनुपर्ने चुनौती सामना गरिरहेका छन् ।

उता, नयाँ भनिएका दल र स्वतन्त्र पृष्ठभूमिबाट उदाएका नेताहरूका लागि यो निर्वाचन ‘आक्रोश’ संस्थागत गर्ने अवसर हो । सामाजिक सञ्जाल र नागरिक असन्तोषको बलमा उदाएका यी शक्तिले सडकको लोकप्रियता मतपेटिकासम्म पुर्‍याउन सक्छन् कि सक्दैनन् ? निर्वाचनको परिणामपछि प्रस्ट होला ।

Hardik health

निर्वाचनमा भने नयाँ र पुराना दलका उम्मेदवारहरूबीच देशको विभिन्न क्षेत्रमा महाभिडन्त हुने देखिएको छ । महाभिडन्तमा हुने जित हारले देशको राजनीतिको रुप नै बदल्न सक्छ । त्यसो हुँदा महाभिडन्त हुने क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा छ ।  सर्वाधिक चासो रहेको झापा-५ मा हो । यहाँ तीनपटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकपटक काठमाडौं महानगरपालिकाको प्रमुख भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेताबीच महाभिडन्त हुँदै छ । यी दुवै जना आ-आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । ओली आठौंपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्दा बालेन पहिलोपटक उम्मेदवार बनेका हुन् ।

यी दुई भावी प्रधानमन्त्रीका उम्मेदवारमध्ये एकले जित्ने र अर्कोले हार्ने निश्चित छ । उसो त यहाँ कांग्रेसकी मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता रञ्जित तामाङ तथा श्रम संस्कृति पार्टीका युवा नेता समीर तामाङ पनि प्रतिस्पर्धामा छन् । मन्दरा, रञ्जित र समीर पनि त्यहाँ प्रभावशाली उम्मेदवार हुन् । यी तिनै जना उम्मेदवार पहिलोपटक निर्वाचनको मैदानमा छन् । त्यसो हुनाले यी तीन उम्मेदवार पनि ओली र बालेनका लागि चुनौती हुन सक्ने विश्लेषण भइरहेको छ ।

यता मधेस प्रदेशको सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वकांग्रेसी नेता हालका रास्वपा उम्मेदवार डा. अमरेशकुमार सिंहबीच चुनावी भिडन्त हुँदै छ । थापा आफूले २०७०, २०७४ र २०७९ मा लगातार निर्वाचन जितेको काठमाडौं-४ छाडेर सर्लाही-४ पुगेका हुन् । यही क्षेत्र हो, जहाँबाट सिंहले कांग्रेस उम्मेदवार भएर २०७४ मा निर्वाचन जितेका थिए । २०७९ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर पनि निर्वाचन जितेका थिए । यही क्षेत्रमा थापाले सिंहविरुद्ध धावा बोलेका छन् । थापा पनि कांग्रेसले घोषणा गरेको भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । उनी पराजित भए पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने उनको सपनामा तुषरापात हुने छ ।

यहाँ एमालेले अमनिसकुमार यादवलाई उम्मेदवार बनाएको छ । उम्मेदवार भएका अमनिस सोमबारमात्रै नेकपा छाडेका नेता शिवपुजन यादवका छोरा हुन् । यहाँ नेकपाले रगनिश राय यादवलाई उम्मेदवार बनाएको छ । यी दुई उम्मेदवार पनि गगन र अमरेशका लागि भारी पर्न सक्ने टिप्पणी भइरहेको छ । 

झापा-२ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरबीच महाभिडन्त हुँदै छ । घिमिरे एमाले र राना रास्वपा उम्मेदवार हुन् । घिमिरे २०७९ मा निर्वाचित भएका थिए । राना समानुपातिक सांसद थिइन् । यसपटक संसद्का दुई नेता प्रतिस्पर्धामा उत्रिएका हुन् । अघिल्लोपटकको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी भएका स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार छन् । पहिले स्वतन्त्र र अहिले उनी दलबाट निर्वाचनमा होमिएका हुन् । स्वागत पनि बलिया उम्मेदवार हुन् । पत्रकारिता र कानुनी पृष्ठभूमिबाट आएका उनलाई यसपटक राप्रपाको पनि साथ हुँदा उनले नजित्लान भन्न सकिँदैन ।

तर, विगतको निर्वाचन परिणामलाई आधार मान्दा झापा-२ बाट पटक-पटक कम्युनिस्ट उम्मेदवारहरूले निर्वाचन जित्दै आएका छन् । यसपटक के हुन्छ ? हेर्न बाँकी छ ।  गोरखा-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपाका नेता लेखनाथ न्यौपाने आमनेसामने हुँदै छन् । यो क्षेत्र १० वर्षे युद्धकालमा माओवादी प्रभावित क्षेत्र हो । भट्टराई र न्यौपाने युद्धका सहयात्रीसमेत हुन् । उनीहरूबीच नै यसपटक भिन्नभिन्न पार्टीबाट प्रतिस्पर्धा हुन लागेको हो । उसो त यहाँ एमालेले मिलन गुरुङ (चक्रे मिलन) र कांग्रेसले प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ । यी दुई उम्मेदवार भट्टराई र न्यौपानेका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ ।

महाभिडन्त हुने अर्को प्रतिनिधिसभा क्षेत्र चितवन-२ हो । यहाँ यसपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाति रवि लामिछाने उम्मेदवार बनेका छन् । यसअघि पहिलोपटक २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन र दोस्रोपटक २०८१ को वैशाखमा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा उनी उम्मेदवार बनेका थिए । दुवैपटक निकटतम् प्रतिद्वन्द्वीले झण्डै तेब्बर बढी मतले लामिछाने विजयी भए । उनै लामिछानेसँग चुनावी प्रतिस्पर्धामा यसपटक चिवतन-२ मा कांग्रेसकी मीनाकुमारी खरेल उत्रिएकी छन् । दुई दशकभन्दा बढी समयदेखि बालअधिकार र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील अभियन्ता हुन् । रविका लागि उनी भारी पर्न सक्ने ठानिएको छ । एमालेले त्यहाँ अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ । उनी पहिलोपटक निर्वाचनमा होमिएका हुन् । विगतमा यस क्षेत्रबाट पटक-पटक एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । यस क्षेत्रमा नेकपाले यसपटक प्रभावशाली नेता प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । 

सहकारी ठगी मुद्दाका आरोपी लामिछानेको यसपटक झनै छविमा दाग लागेको छ । यस्तोबेला निर्वाचन हुन लागेकाले उनलाई प्रतिस्पर्धी दलका उम्मेदवारहरूविरुद्ध जित निकाल्न सहज नहुन सक्छ ।  यस्तै, रुकुम पूर्वमा नेकपा संयोजक पुष्पकमल दाहालसँग कांग्रेस उम्मेदवार कुशुम थापा मगर र एमाले उम्मेदवार लीलामणि गौतम प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्र फेरेको फेरेकै गरेका कारण ‘घुमन्ते उम्मेदवार’को छवि बनाएका पूर्वप्रधानमन्त्री दाहाललाई राष्ट्रिय राजनीतिमा त्यति नचिनिएका दुई नेताले टक्कर दिने भएका छन् । त्यहाँ दाहाल सहज जितका लागि गएका हुन् । कुशुम र लीलामणि जिल्लावासी हुनाले मतदाताले दीर्घकालसम्मका जनप्रतिनिधि खोजेको अवस्थामा दाहालले पराजय बेहोर्न पनि सक्छन् । 

दाहालकै दल नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई यसपटक मधेस आन्दोलनका शीर्षस्थमध्येका एक नेता अनिलकुमार झाले टक्कर दिँदै छन् । झा कांग्रेस प्रवेश गरेर नेपालसँगको प्रतिस्पर्धा निश्चित गरेका हुन् । नेपालले पटक-पटक यस क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । उनको जित रोक्नेगरी झा यसपटक उम्मेदवार बनेर नेपालमाथि चुनौती बढाइदिएका छन् । नेपालसँगको प्रतिस्पर्धामा एमालेले अजयकुमार गुप्ता र रास्वपाले राजेश चौधरीलाई उम्मेदवार बनाएको छ । गुप्ता अनुभवी राजनीतिज्ञ हुन् । यी दुई उम्मेदवारलाई पनि यहाँ कम आकलन गर्न नसकिने अवस्था छ ।

यस्तै, काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार बनेका छन् । घिसिङ नेपाललाई १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेका नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुन् । लोकप्रिय छविका उनी सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको नेतृत्व गर्दै हाल निर्वाचनको मैदानमा आएका नेता हुन् ।

उनलाई टक्कर दिन कांग्रेसले रामेश्वर फुयाँललाई उम्मेदवार बनाएको छ । फुयाँल पनि घिसिङजस्तै लोकप्रिय नेता हुन् । यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसकै सन्तोष चालिसेले निर्वाचन जितेका थिए । त्यसो हुनाले यो कांग्रेसको राम्रै जनमत भएको निर्वाचन क्षेत्र हो । यही क्षेत्रमा कुलमान उम्मेदवार बन्दा उनलाई चुनौती कांग्रेसका फुयाँलले दिँदै छन् । रास्वपाले काठमाडौं महानगर प्रहरी बलका पूर्वप्रमुख राजुनाथ पाण्डेलाई अघि सारेको छ । 

यस्तै, सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक महाभिडन्त हुने भएको छ । यहाँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पहिलोपटक उम्मेदवार बनेका छन् । एमाले र एमाले समर्थित उम्मेदवारले मात्रै निर्वाचन जित्ने गरेको यस क्षेत्रमा साम्पाङ बलिया प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् । उनीसँग प्रतिस्पर्धामा एमालेले पूर्वसभासद टीकाराम लिम्बू, कांग्रेसले सुजेन्द्र तामाङ, रास्वपाले सरिन ख्युङ्बा तामाङ (गोमा), नेकपाले पूर्ववडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाएका छन् । हर्कसँगको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएकामध्ये सरिन त्यस्ता उम्मेदवार हुन्, जसले अघिल्लोपटक एमाले समर्थित जनता समाजवादी (जसपा)का उम्मेदवार अशोककुमार राईलाई आछुआछु पारेकी थिइन् । उनी राईसँग करिब ५०० मतान्तरले पराजित भएकी थिइन् । यसपटक पनि उनी प्रतिस्पर्धामा उत्रिएकी हुन् । 

उसो त यो त्यस्तो क्षेत्र हो, जहाँबाट २०४८ मा एमालेका मनमोहन अधिकारी निर्वाचित भए । उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन् । २०५१, २०५६, २०७० र २०७४ मा एमालेका उम्मेदवारले मात्रै निर्वाचन जितेका थिए । २०६४ मा माओवादी र २०७९ मा एमाले समर्थित जसपाका उम्मेदवारले निर्वाचन जिते । त्यसो हुँदा यो कम्युनिस्ट जनाधार बलियो भएको क्षेत्रमा यसपटक धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुखसमेत रहेका साम्पाङसँग अन्य दलका उम्मेदवारको भिडन्त चर्को हुने भएको छ । 

अर्को महाभिडन्त हुने क्षेत्र झापा-३ पनि हो । यहाँ २०७४ र २०७९ मा लगातार दुईपटक निर्वाचन जितेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ह्याट्रिक जितको अपेक्षासहित उम्मेदवार बनेका छन् । उनलाई पहिलोपटक एमाले र माओवादी सम्मिलित वाम गठबन्धन र दोस्रोपटकमा एमालेको समर्थन थियो । एक्लाएक्लै लड्न यहाँ कांग्रेस बलियो शक्ति हो । यही क्षेत्रबाट लिङ्देन लगातार उम्मेदवार बनेका हुन् । उनीसँगको चुनावी भिडन्तमा कांग्रेसले यसपटक राजेन्द्र घिमिरे र एमालेले हरिलाल राजवंशी तथा रास्वपाले जिल्ला सभापति प्रकाश पाठकलाई उम्मेदवार बनाएको छ । यी सबै नेता प्रभावशाली हुन् । उनीहरूले यसपटक राप्रपा अध्यक्ष लिङ्देनसँग कडा टक्कर दिन सक्ने विश्लेषण भइरहेको छ । 

यस्तै नुवाकोट-१ मा नेकपाका उम्मेदवार हितबहादुर तामाङ र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ । तामाङ २०७४ र २०७९ मा लगातार निर्वाचित नेता हुन् । पूर्वपर्यटनमन्त्री तामाङ त्यस क्षेत्रका लोकप्रिय नेता मानिन्छन् । उनै तामाङका प्रतिस्पर्धी यसपटक पूर्वअर्थमन्त्री डा. महत भएका हुन् । महतकै दाजु डा. रामशरणसँग तामाङ २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । तर, पछिल्ला दुई निर्वाचनमा भने तामाङले जित निकाले । यसपटक उनीसँग प्रतिस्पर्धामा उत्रिएका प्रकाशशरण कहिल्यै प्रत्यक्ष निर्वाचन नजितेका नेता हुन् । यसअघि जतिपटक उनी संसद् पुगे, समानुपातिक सांसद भएरमात्रै हो । प्रत्यक्ष निर्वाचन जितेको उनको रेकर्ड छैन ।

अर्को हेभिवेट प्रतिस्पर्धा हुने काठमाडौं-५ मा पनि हो । त्यहाँ एमालेका शीर्षस्थ नेता ईश्वर पोखरेलसँग कांग्रेस महामन्त्री प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लोपटकको निर्वाचनमा पौडेलले पोखरेललाई पराजित गरेका थिए । यसपटक जित दोहो¥याउन पौडेलले चाहेका छन् । पोखरेलले बदला लिन खोजेका छन् । यहाँ नेकपाले कल्पना शर्मा र रास्पाले स्मित पोखरेललाई उम्मेदवार बनाएको छ । राप्रपाले उपप्रधानसहित नौ पटक मन्त्री भइसकेका राप्रपा नेता कमल थापालाई उम्मेदवार बनाएको छ । उनी पनि अग्ला कदका उम्मेदवार हुन् ।

सुनसरी-३ मा कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारसँग यसपटक पनि एमाले नेतृ भगवती चौधरी चुनावी प्रतिस्पर्धामा छिन् । अघिल्लोपटक चौधरीले गच्छदारलाई पराजित गरेकी थिइन् । त्यसअघि भने गच्छदारले पटक-पटक चौधरीलाई पराजित गरे । गच्छदार संसदीय राजनीतिका चतुर खेलाडी मानिन्छन् । बालुवाटारको जग्गाकाण्डमा मुछिएका उनीविरुद्ध यसपटक पनि जित निकाल्ने दाउसहित चौधरी चुनावी प्रचारमा जुटेकी छन् । गच्छदार पूर्वउपप्रधानमन्त्री र चौधरी पूर्वमन्त्री हुन् । उनीहरूविरुद्ध नेकपाले दुर्गेश चौधरी र रास्वपाले अशोक चौधरीलाई उम्मेदवार बनाएको छ । 

मोरङ-६ मा कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार छन् । एमालेबाट विनोद ढकाल उम्मेदवार भएका छन् । यहाँबाट पछिल्ला निर्वाचनहरू डा. कोइरालाले जित्दै आएका छन् । यहाँ नेकपाले ओपेन्द्रकुमार राय र रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ । धनुषा-३ मा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग एमालेकी जुलीकुमारी महतो, रास्वपाका महामन्त्री मनिष झा र नेकपाका रामललित मण्डलबीच प्रतिस्पर्धा हुँदै छ । सर्लाही-३ मा नेकपा नेता नारायणकाजी श्रेष्ठसँग एमालेबाट पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेती, कांग्रेसका विनोद खनाल र रास्वपाका नरेन्द्र साह कलवर उम्मेदवार छन् । बारा-३ मा कांग्रेस उपसभापति फरमुल्लाह मन्सुरसँग एमाले तथा पूर्वमन्त्री ज्वालाकुमारी साह चुनावी प्रतिस्पर्धामा छिन् । यहाँ नेकपाले भरतप्रसाद साह र रास्वपाले अरविन्द साहलाई उम्मेदवार बनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु
चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु बिहीबार, माघ ८, २०८२
सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार बिहीबार, माघ ८, २०८२
घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी
घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी बिहीबार, माघ ८, २०८२
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सवारी दुर्घटनामा एक जनाको मृत्यु बिहीबार, माघ ८, २०८२
निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल
निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल बिहीबार, माघ ८, २०८२
भावी प्रधानमन्त्रीका दाबेदार सात नेता
भावी प्रधानमन्त्रीका दाबेदार सात नेता बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP