- समानुपातिकतर्फको बन्द सूची पेस, निर्वाचन अनिश्चितता हट्यो
- दलहरूले बुझाए समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची
- नयाँलाई समानुपातिक सांसद हुने अवसर
- क्लस्टरअनुसार दलहरूले बुझाएको उम्मेदवारहरूको बन्द सूचीबारे आयोगले अध्ययन गर्ने
- सच्याउने, उम्मेदवारी फिर्तालगायतको मौका दिइने
काठमाडौं- राजनीतिक दलहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन् । सोमबार राति अबेरसम्म दलहरूले क्लस्टरअनुसार उम्मेदवारहरूको सूची तयार गरेर बुझाएका हुन् ।
बन्द सूची बुझाउनेमा नेकपा एमालेसमेत रह्यो । यो दलले यसअघि सुरक्षा चुनौती कायमै रहेको, निर्वाचनको वातावरण नबनेको र प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सार्वजनिकरूपमा निर्वाचनमा जान अनिच्छा प्रकट गरेको थियो । भित्र भने निर्वाचनको तयारीमै थियो । यस्तोमा सोमबार आयोग कार्यालय बहादुर भवन पुगेर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाएको हो ।
यससँगै सबै दल निर्वाचनकेन्द्रित भएका छन् । निर्वाचन हुने कि नहुने भन्ने अन्योल पनि हटेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब १५ देखि २० माघसम्म उम्मेदवार सूचीको विस्तृत अध्ययन हुने छ । बन्द सूचीको अन्तिम नामावली २० माघमा प्रकाशन हुने छ । सूची क्लस्टरअनुसार नमिले २० गतेपछि पुनः नाम मिलाएर पठाउन अनुरोध गरिने प्रवक्ता भट्टराईले बताए । २१-२७ माघसम्म दलहरूले नाम संशोधन गर्न सक्ने, उम्मेदवारले नाम फिर्ता सोही अवधिमा लिन पाउने, दलहरूले आवश्यक परे उम्मेदवारको नाम हटाउन सक्ने, उम्मेदवार सूचीमा दाबी-विरोध गर्न पाउने र त्यसपछि अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिने आयोगको निर्वाचन कार्यतालिका छ ।
सोमबार आयोग कार्यालयमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा कांग्रेसले नयाँलाई अवसर दिएको छ । यसअघि पटक-पटक समानुपातिकबाट सांसद भएकालाई रोकेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम समानुपातिक उम्मेदवारमा छ । आदिवासी जनजातिबाट पूर्वमन्त्री रोमी गौचन थकाली, सेतेमान तामाङ, गोपालमानसिंह राजभण्डारीको पनि नाम बन्द सूचीमा छ ।
महिलाबाट उर्मिला थपलिया, प्रेमिका रानामगर, रुक्मिणी कोइराला, गोमा भट्टराई, देवकी गौतमलगायतको नाम बन्द सूचीमा परेको छ । चलचित्र निर्देशक मीन भामको पनि नाम बन्द सूचीमा परेको छ । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, सोलुखुम्बुकी गीता गुरुङको पनि नाम बन्द सूचीमा समेटिएको छ ।
नेकपा एमालेले समानुपातिकतर्फको बन्द सूचीमा उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्यालदेखि जेन-जी पुस्ताकी नीता घतानीसम्मलाई समेटेको छ । सूचीमा नयाँबाट क्रान्ति बुर्लाकोटी, पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ पत्नी भूमिका सुब्बालगायत परेका छन् । लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, स्थायी कमिटीका पूर्वसदस्य गोरखबहादुर बोगटी, पुराना नेताबाट रामेछापका राजकुमार श्रेष्ठ, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा पनि बन्द सूचीमा छन् ।
पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना बन्द सूचीमा परेका छन् । अपांगता भएका समुदायबाट स्याङजाका रामबहादुर थापा र यसुदा बराल परेका छन् । दलितबाट मीना बरामले स्थान पाएकी छिन् । त्यस्तै, मनकुमारी तितुङ, मायादेवी पौडेल, निर्मल दउला, जितु गौतम पनि एमालेको समानुपातिकतर्फको बन्द सूचीमा परेका छन् । अल्पसंख्यकका रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि मन्त्री, सांसद नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाएको छ । नेता राजेन्द्र पाण्डेका अनुसार समानुपातिक उम्मेदवार बनाउँदा १७ वटै घटकलाई समेट्नेगरी विज्ञ, युवा, सहिद परिवार, अल्संख्यक र युवालाई अवसर दिइएको छ ।
उनले समानुपातिक उम्मेदवारहरूमा विज्ञ परशुराम तामाङ, दलित अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, जोगकुमार बर्बरिया, बिबी खनाल, पूर्वविद्यार्थी नेतृ पञ्चा सिंह, चेपाङ समुदायबाट मंगलसिंह प्रजा, पूर्वलडाकु कमाण्डर कमला नहर्की, नेकपाबाट आएका नेता चिरन पुन, पार्वती विक, महेन्द्रबहादुर कार्कीलगायत छन् । सशस्त्र युद्धका क्रममा बुबाआमा गुमाएका उदयपुरका विनोद कटुवाल र कैलालीकी विद्या भाट पनि समेटिएका छन् । सोमबारमात्रै नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा एकता गरेकी रञ्जिता श्रेष्ठ पनि समानुपातिक उम्मेदवार बनेकी छन् ।
उज्यालो नेपाल पार्टीलाई सोमबारमात्रै समाहित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले एकताअघि नै सूची बुझाइसकेको भए पनि एकतापछि उक्त सूची फिर्ता लिएको थियो । कुलमानलाई पहिलो वरीयताको उपसभापति दिएर रास्वपामा विलय गर्ने सहमति सोमबार साँझ भएको हो । सहमतिअनुसार उज्यालो नेपालबाट १८ जना रास्वपाको समानुपातिक सूचीमा समेटिएका छन् । जसमा प्रा.डा. महेन्द्र लावती, पार्टीअध्यक्ष अनुपकुमार उपाध्याय, रिमा विश्वकर्मालगायत छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाएको छ । बन्द सूची बुझाउनुअघि पार्टीभित्र जनजाति र खस आर्यको उम्मेदवारका लागि आन्तरिक चुनाव भएको थियो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार आन्तरिक निर्वाचनबाट जनजाति पुरुषबाट तोरण गुरुङ, महामन्त्री राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, खस आर्य पुरुष भरत गिरी, पुष्पराज पुरुष र धर्मराज जोशीलाई समानुपातिक उम्मेदवार बनाएको छ ।
खस आर्य महिलाबाट खुश्बु ओली र स्वाती थापाको नाम परेको छ । अपाङ महासंघबाट देबु पराजुली, जनजाति महिलाबाट सरस्वती लामा, विजयकला राई, सरस्वती थिङ रहेका छन् । मधेसबाट प्रल्हाद साह, थारुबाट गिरिधारीप्रसाद चौधरी र मधेसी महिलाबाट निरुपमा यादव रहेका छन् । दलितबाट अमर आर्यको नाम समानुपतिक सूचीमा पठाइएको छ । यसरी राप्रपाले ११० समानुपातिक उम्मेदवारकै नाम आयोगमा पठाएको प्रवक्ता श्रेष्ठले बताए ।
निर्वाचन आयोगमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले पनि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टीलगायतले पनि बन्द सूची बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।