- महासंघ अध्यक्ष देवीदत्त आचार्यले महासंघको २१औ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशनमा खाना, नास्ता र आवासमा आठ लाख ९३ हजार ५०१ रूपैयाँ र २२औँ वार्षिक साधारणसभामा छ लाख ३९ हजार ४३२ रूपैयाँ गरी १५ लाख ३२ हजार ९३३ रूपैयाँ अनियमितता गरेको आरोप
- सम्झौतामा १५० मा सादा खाना खुवाउने भनिए पनि होटलबाट लिएको बिलमा २०० रुपैयाँ तिरेको उल्लेख
- हाफ प्याकेजको भुक्तानी ४५० हुनुपर्नेमा फुल प्योजक ८५० भुक्तानी गरेर पनि उनले संस्थालाई आर्थिक नोक्सानी पुर्याएको
काठमाडौं– राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता गरेको आरोप लागेको छ । महासंघको आर्थिक सवालमा साझा सहमति कायम गर्न गठित समितिले छानबिन गर्दा अध्यक्ष आचार्यले खाना, खाजा र आवास खर्चमा अनियमितता गरेको पाइएको उल्लेख छ ।
समितिले महासंघको आर्थिक नियमावलीविपरीत र महासंघ कार्यसमिति तथा खरिद समितिको निर्णयबिना साधारणसभा र महाधिवेशनमा आचार्यले मनमौजी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । समितिको प्रतिवेदनअनुसार उनले नियमविपरीत भुक्तानीका लागि चेक काटेको पाइएको छ ।
उनै आचार्य र महासंघको नियमावलीविपरीतको वस्तु तथा सेवा खरिद गर्ने कर्मचारीले अनियमितता गरेको ठहर गरी उनीहरूलाई जिम्मेवार बनाउन समितिले सुझाव दिएको छ । छानबिन प्रतिवेदनमा भनिएको छ, ‘कार्यसमिति तथा खरिद समितिको निर्णयबिना महासंघको आर्थिक नियमावलीविपरीतको वस्तु तथा सेवा खरिद गर्ने कर्मचारी र नियमविपरीतको भुक्तानी दिन चेक काट्ने पदाधिकारीलाई अनियमितता गरेको ठहर गरी जिम्मेवार बनाउनुपर्ने ।’
समितिले नियमविपरीत बढी भुक्तानी भएको रकम महासंघको खातामा अनिवार्य दाखिला गर्न सुझाव दिएको छ । समितिको यो सुझावले अध्यक्ष आचार्य अनियमितता गरेको रकम फिर्ता गर्न बाध्य हुने छन् ।आचार्यले महासंघको नेपालगञ्जमा २०७९ को मंसिर १३ र १४ गते भएको २१औं साधारणसभा तथा नवौं महाधिवेशनमा खाना, खाजा र आवास खर्चमा आठ लाख ९३ हजार ५०१ रूपैयाँ गरेको भेटिएको छ । २०८१ को पुस १२ र १३ गते काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारणसभामा पनि उनले अनियमितता गरेको फेला परेको छ ।
उक्त साधारणसभामा खाना, खाजा र आवासमा उनले छ लाख ३९ हजार ४३२ रूपैयाँ अनियमितता गरेको समितिको प्रतिवेदनमा छ । यसरी उनले खाजा, खाना र आवासमा मात्रै १५ लाख ३२ हजार ९३३ रूपैयाँ अनियमितता गरेको पाइएको हो ।छानबिनको क्रममा समितिले साधारणसभा तथा महाधिवेशनमा भएको सम्पूर्ण खर्च र वास्तविक खर्चसँग तालमेल भए/नभएकोबारे बिल, भर्पाइमा आधारित रहेर अध्ययन गरेको थियो । साधारणसभा तथा महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, सहयोगी, कर्मचारी, स्वयंसेवक, सुरक्षाकर्मी र अतिथिहरूको उपस्थिति विवरणमा उल्लिखित हस्ताक्षरले पुष्टि गर्ने यकिन संख्यासँग खर्चको तालमेलबारे जाँचबुझ गरेको थियो ।
यसबाहेक खर्च शीर्षकमा दोहोरोपना, आम्दानी तथा खर्चबारे संस्थाको नीति नियम, आर्थिक तथा प्रशासनिक नियमावली २०६१ मा उल्लिखित प्रावधानहरूबारे पनि अध्ययन गरेको थियो । समितिमा सदस्यहरू अमर गुरुङ, नवीनचन्द्र ढुंगेल, नेत्रप्रसाद सापकोटा र सुरेन्द्र खत्री थिए । उनीहरू सम्मिलित समितिले २१औँ साधारणसभा तथा नवौँ महाधिवेशनमा अध्यक्ष आचार्यले गरेको अनियमितताको मसिनोगरी छानबिन गरेर तथ्य सार्वजनिक गरेको हो ।
उनले वास्तविकभन्दा बढी सहभागीलाई खाना, नास्ता र आवासको व्यवस्था गरेको भन्दै भुक्तानी दिएर संस्थालाई आर्थिक नोक्सानी पु¥याएको प्रतिवेदनमार्फत खुलासा भएको छ । सम्झौता नै नभएका होटलहरूमा सहभागीलाई खाना, नास्तादेखि आवाससम्मको सुविधा दिएको भन्दै फर्जी बिल र भर्पाइ बनाएर भुक्तानी दिएको पनि पाइएको छ । सम्झौतामा १५० मा सादा खाना खुवाउने भनिए पनि आचार्यले होटलबाट लिएको बिलमा २०० रुपैयाँ तिरेको उल्लेख छ ।
२१ औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन अघिल्लो कार्यसमितिले गरेको हो । मसँग सम्बन्धित छैन । गत वर्षको पुसमा भएको साधारणसभाको खर्च परिचालन गर्ने हाम्रो कर्मचारीहरूको संयन्त्र छ, उहाँहरूले तोकेभन्दा बढी खर्च किन भयो ? स्पष्टीकरण दिनुभएको छ, त्यो कुरा त मैले भ्रष्टाचार गरेको भन्न मिलेन होला ।
देवीदत्त आचार्य
अध्यक्ष, राष्ट्रिय अपांग महासंघ
आवासमा पनि उनले त्यस्तै बदमासी गरेको छानबिन प्रतिवेदनले उजागर गरेको छ । हाफ प्याकेजको भुक्तानी ४५० हुनुपर्नेमा फुल प्योजक ८५० भुक्तानी गरेर पनि उनले संस्थालाई आर्थिक नोक्सानी पु¥याएको प्रतिवेदनले औँल्याएको छ । कतिसम्म भने महासंघको वार्षिक साधारणसभा तथा महाधिवेशनमा सहभागी नभएका व्यक्तिको नाममा समेत भुक्तानी गरेको देखिएको छ । तर, अध्यक्ष आचार्यले २१औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशन अघिल्लो समितिले गरेको र त्यो आफूसँग सम्बन्धित नभएको जवाफ दिए । २२औं साधारणसभाको खर्च आफूले नगरेको दाबी गरे ।
‘२१ औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशन अघिल्लो कार्यसमितिले गरेको हो । मसँग सम्बन्धित छैन,’ आचार्यले प्रभावसँग भने, ‘गत पुसमा भएको साधारणसभाको खर्च परिचालन गर्ने हाम्रो कर्मचारीहरूको संयन्त्र छ, उहाँहरूले तोकेभन्दा बढी खर्च किन भयो ? स्पष्टीकरण दिनुभएको छ, त्यो कुरा त मैले भ्रष्टाचार गरेको भन्न मिलेन होला ।’महासंघका एक पदाधिकारीका अनुसार अध्यक्ष आचार्यले संस्थामा चरम अनियमितता गरेको र स्वेच्छचारी ढंगले गतिविधि गरेको भन्दै छानबिनको माग राखेर हेल्लो सरकारमा उजुरी परेको थियो । तर, केही भएन ।
यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आचार्यले अनियमितता गरेको प्रमाणसहित पटकपटक उजुरी प¥यो । अध्यक्ष आचार्यमाथि कारबाही भएकै छैन । महासंघका ती पदाधिकारी भन्छन्, ‘अझ उजुरीको फाइल नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्यो । यो कार्यले त अध्यक्ष आचार्यको संरक्षण भयो ।’उजुरीमा महासंघभित्र बजेट सञ्चालनदेखि आर्थिक प्रतिवेदन पेस गर्नेसम्मका काममा कार्यसमिति र साधारणसभामा छलफल नै नगरी अध्यक्ष आचार्यको इच्छाअनुसार निर्णय भएको उल्लेख छ । अनियमिततासम्बन्धी प्रश्न उठाउने प्रदेश सदस्यहरूलाई निलम्बन गर्ने, लेखापरीक्षण कार्यसमितिको निर्णयबिनै गर्ने र प्रदेशका बैंक खातालाई समेत रोक्का गरिएको जस्ता आरोप उजुरीमा छन् ।
यसबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंको रोहवरमा गत वर्षको २५ माघमा पाँच बुँदे समझदारी पत्र भएको थियो । त्यसलाई अध्यक्ष आचार्यले कार्यान्वयन नगरेको र भएका सहमतिको बेवास्ता गरेको आरोप पनि उनीमाथि छ । कतिसम्म भने उनी एकल निर्णयलाई संस्थागत बनाउन खोज्छन्, यसले पनि महासंघमा असन्तोष चुलिएको ती पदाधिकारी बताउँछन् ।