आर्थिक सर्वेक्षणमा वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये तीन चौथाइ कामदार मलेसिया, कतार, साउदी अरब र युनाइटेड अरब इमिरेट्स (युएई)मा गएको उल्लेख छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका श्रमिकहरुको संख्याका आधारमा उक्त तथ्यांक तयार पारिएको हो ।
काठमाडौं - नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमा खाडी मुलुक र मलेसिया यथावत् रहेको तथ्यांकमा देखिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷८० मा वैदेशिक रोजगारीको ठूलो हिस्सा खाडी मुलुक र मलेसियाले ओगटेको उल्लेख गरिएको छ ।
आर्थिक सर्वेक्षणमा वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये तीन चौथाइ कामदार मलेसिया, कतार, साउदी अरब र युनाइटेड अरब इमिरेट्स (युएई)मा गएको उल्लेख छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका श्रमिकहरुको संख्याका आधारमा उक्त तथ्यांक तयार पारिएको हो ।
आर्थिक सर्वेक्षणले गत २०७९ फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख २६ हजार ७०४ जना रहेको देखाएको छ । जसमा ९४.४ प्रतिशत पुरुष र ५.६ प्रतिशत महिला रहेका छन् । यद्यपि, चालु आर्थिक वर्षको फागुनसम्म तीन लाख ३७ हजार १४४ जनाले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएका छन् ।
यसमा पुरुष ९० र महिला १० प्रतिशत रहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्यामा पनि बढोत्तरी भएको सर्वेक्षणमा जनाइएको छ । सरकारले वैदेशिक रोजगारीको तथ्यांक राख्न थालेयता २०७९ फागुनसम्म विदेश जाने कामदारहरुको संख्यामध्ये मलेसियामा २६.५ प्रतिशत, कतारमा २६.४ प्रतिशत, युएईमा १४.९ प्रतिशत, साउदी अरबमा २२ प्रतिशत, कुवेतमा ३.८ प्रतिशत, बहराइनमा १.३ प्रतिशत, ओमानमा ०.९ प्रतिशत, जापानमा ०.५ प्रतिशत र अन्यमा चार प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
हालसम्म वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १११ मुलुकमा खुला गरिएको छ । सरकारले ९०० म्यानपावर कम्पनीलाई विदेशमा कामदार पठाउने प्रयोजनका लागि इजाजतपत्र प्रदान गरेको तथ्यांक छ । सरकारले १० वटा मुलुकसँग श्रम सम्झौता गरेको छ भने इजरायल, कोरिया र बेलायतमा सरकार आफैंले कामदार पठाउने गरी सम्झौता गरेको छ । इपिएस प्रणाली लागू भएयता गत फागुनसम्म ८५ हजार ८०४ जना कामदार दक्षिण कोरिया गएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष र सीपयुक्त बनाउन सीप विकास तालिम प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्ममा ९२५ जनाले विभिन्न व्यावसायिक तथा सीप विकास तालिम लिएका छन् ।
यस्तै बोर्डबाट सञ्चालन भएका कल्याणकारी कार्यक्रमबाट आर्थिक वर्ष २०७९/८० को फागुनसम्म एक हजार ५७६ पुरुष र ४३८ महिला गरी दुई हजार १४ जना कामदार तथा तिनका परिवारका सदस्य लाभान्वित भएका छन् । बोर्डले सञ्चालन गरेको कल्याणकारी कार्यक्रमअन्तर्गत नै टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ अनुसार वैदेशिक रोजगारीमा रहेका कामदारलाई कार्यस्थलमा आइपर्ने स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्य परामर्श सेवा सुरु गरेको पनि सर्वेक्षणमा उल्लेख छ ।
त्यसैगरी स्थानीय तहको व्यवस्थापन तथा कार्यान्वयनमा सञ्चालन गरिने सुरक्षित आप्रवासन कार्यक्रम (तेस्रो चरण) ३९ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको र गत फागुनसम्म दुई लाख ४८ हजार २३० जानले सेवा प्राप्त गरेको जनाइएको छ ।
आर्थिक सर्वेक्षणले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारको छोराछोरीलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आर्थिक वर्ष २०७९/८० फागुनसम्म एक हजार ५१४ जनालाई एक करोड ४५ लाख २४ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।
यतिमात्र नभई चालु आबको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा ७६१ पुरुष र २८ महिला गरी ७८९ जना नेपालीको विदेशी भूमिमा ज्यान गएको जनाउँदै मृतकका परिवारका सदस्य वा नजिकका हकदारवालाले ४१ करोड एक लाख ८० हजार रुपैयाँ प्राप्त गरेको उल्लेख छ । साथै, यस अवधिमा वैदेशिक रोजगारीको क्रममा शारीरिकरुपमा अंगभंग तथा बिरामी भएका १६० पुरुष र छ महिला गरी १६६ जना कामदारलाई पाँच करोड ९३ लाख १३ हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ ।
चालु आबको फागुनसम्म वैदेशिक रोजगारसम्बन्धी गतिविधिमा संस्थागत ४८५ र व्यक्तिगत ६८६ गरी एक हजार १७१ उजुरी दर्ता भई ५६ करोड ६८ लाख पाँच हजार ८८१ रुपैयाँ दाबी गरिएको उल्लेख छ । विशेष महŒवका साथ ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा फागुनसम्म १७ हजार ७४८ रोजगारदाता र तीन लाख ९८ हजार ५८७ कामदार सूचीकृत भएको जानाए पनि वैदेशिक रोजगारीमा जाने कामदारहरुबारे उल्लेख गरिएको छैन ।