काठमाडौं– बेलायत सरकारले आफ्नो मौसमी कामदार भिसा योजना विस्तार गर्दै आप्रवासी कामदारहरूलाई बागवानी तथा पोल्ट्री फार्ममा काम गर्न अनुमति दिने भएको छ । ब्रेक्जिट र युक्रेन युद्धका कारण युरोपेली कामदारहरूको संख्या घट्दै गएपछि कामदार अभावलाई सम्बोधन गर्ने लक्ष्यकासाथ उक्त योजना ल्याइएको बताइएको छ ।
मौसमी कामदार भिसा योजनाले आप्रवासी कामदारहरूलाई फलफूल, तरकारी वा बालीनाली टिप्ने वा पोल्ट्री प्रशोधनजस्ता विशेष कामहरूमा काम गर्न छ महिनासम्म बेलायत रहने अनुमति दिने प्रतिष्ठित सञ्चारमाध्यम द गार्जियनले जनाएको छ । मौसमी कामदारको रुपमा बेलायत प्रवेशका लागि प्रायोजक हुनु अनिवार्य रहेको छ भने २६० पाउण्ड आवेदन शुल्क तिर्न र पर्याप्त व्यक्तिगत बचत छ भन्ने प्रमाणित गर्नुपर्ने जनाइएको छ ।
यस योजनाअन्तर्गत सन् २०१९ मा दुई हजार ५०० भिसा जारी गरे पनि २०२०, २०२१ र २०२२ मा भिसा विस्तार गर्दै ६० हजार भन्दा बढी आप्रवासी कामदारले भिसा पाउन सफल भए । यसले श्रमिक अभावलाई हल गर्न भिसा संख्याको सीमालाई हटाउन सरकारकार तयार रहेको संकेत गरेको सञ्चारमाध्यमले उल्लेख गरेको छ । बेलायतले यस बर्ष झण्डै ५० हजार मौसमी कामदार लिने बताइएको छ ।
सरकारले ल्याएको भिसा विस्तार योजनाले कामदारहरूका लागि आधुनिक दासत्व र शोषणको जोखिम निम्त्याउने श्रम अधिकार विज्ञहरूले चेतावनी दिएका छन् । उनीहरुले उच्च ऋण, कमजोर कामको अवस्था र सीमित अधिकारहरू सामना गर्न सक्ने कामदारहरूको सम्भावित शोषण र दुव्र्यवहारको बारेमा चिन्ता गरेका छन् ।
युरोपको तुलनामा कम श्रम सुरक्षा भएका देशहरू इन्डोनेसिया, नेपाल, भियतनाम, कीर्गिस्तान र काजाकिस्तानबाट आउने कामदारहरूले हवाई भाडा र भिसाको लागत बेहोर्न ठूलो मात्रामा ऋण लिनुपर्ने परिस्थितिका कारण उनीहरूलाई जबरजस्ती श्रम र दुव्र्यवहारको लागि कमजोर बनाउनसक्ने औंल्याइएको छ ।
श्रम क्षेत्रमा काम गर्ने त्यहाँको एक श्रम प्रदायक संघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकता दिन र शोषण रोक्ने योजनाका नियमहरूलाई तत्कालै कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उल्लेख गरेको छ । प्रतिवेदनले रोजगारदातालाई नियमन गर्न र श्रम शोषण रोक्न जिम्मेवार निगरानीकर्ता ‘ग्याङ्मास्टर्स र श्रम दुरुपयोग प्राधिकरण’ (जिएलएए) द्वारा योजनाको निरीक्षण र कार्यान्वयनमा भएको कमीको पनि आलोचना गरेको छ ।
निगरानीको अभावमा रोजगारदाताहरूले कामदारहरूको ज्याला र काम गर्ने समयको बारेमा भ्रमित गरेको र आवास, यातायात र खानाको तलबबाटै कटौती गरेको प्रतिवेदनमा जनाइएको छ ।यद्यपि, बेलायत सरकारले आप्रवासी मौसमी कामदार भिसा योजनालाई बागवानी तथा कृषि क्षेत्रमा कामदार अभाव हुन नदिन चालिएको कदमको रूपमा प्रस्तुत गरेको गार्जियनले जनाएको छ । यस योजनालाई सफल बनाउन श्रमिकहरूलाई शोषण र दुव्र्यवहारबाट जोगाउन योजना तर्जुमा, प्रभावकारी कार्यान्वयन र स्वतन्त्र नियामकद्वारा अनुगमन हुने अवस्था सुनिश्चित गर्न आवश्यक रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १०:१९