काठमाडौं-मेरो राजनीतिक यात्रा २०५९ सालदेखि सुरु भएको हो । त्यस वर्ष कक्षा १० को सेन्टअप पास गरेर एसएलसीको तयारी गरिरहेको अवस्थामा विद्यालयबाटै जनमुक्ति सेनामा लागेको थिएँ । मेरो काका बढाबा लाहुरे हुनुहुन्थ्यो । बुबाले पनि भरुवा बन्दुक खेलाउनुहुन्थ्यो । मलाई त्योभन्दा ठूलो हतियार खेलाउन रहर लाग्थ्यो । त्यो बेला गोपाल किरातीको नेतृत्वमा पूर्वमा खम्बुवान मुक्ति मोर्चाको आन्दोलनको प्रभाव निकै थियो । माओवादी जनमुक्ति सेनाहरु गाउँमा आउने, परेड खेल्ने, देश र जनताका लागि लड्ने कुरा गर्ने गर्थे । जनमुक्ति सेना र कलाकारहरुले त्यसरी देशभक्ति कुरा गर्दा मलाई पनि जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले स्वेच्छिकरुपमै म जनमुक्ति सेनामा लागें ।
त्यसपछि करिब चार वर्ष युद्धमै बिताएँ । जनमुक्ति सेनामा लागेपछि पहिलो मोर्चा (लडाइँ) सिरहाको बन्दीपुरमा प¥यो । दोस्रो, भोजपुरकै पाँचधारेमा प¥यो । त्यहाँ पनि हामीले सेनाको सबै हातहतियार कब्जा गरेका थियौं । तेस्रो, भोजपुरकै घोडेटार युद्धमा परियो । त्यहाँ म बम र गोलीको छर्रा लागेर घाइते भएको थिएँ । म सँगैको कमाण्डरको मृत्यु भयो । साथीहरुले म¥यो भनेर मलाई पनि पुर्न खोज्दा एकजना साथीले अलिकति ढुकढुकी छ भनेर बाहिर निकाल्नुभएछ । नत्र म पनि माटोमै बिलाइसक्थें । जनयुद्धको अन्तिम लडाइँ जहाँ हेली झारिएको थियो, सर्लाहीको मलंगवा आक्रमण । त्यहाँ फायर भएको पाँच मिनेटमै हामी तारबार क्रस गरेर सेनाको हतियार खोसेका थियौं । १५ वटा हतियार म एक्लैले खोस्ने साहस गरेको थिएँ ।
त्यसपछि शान्ति सम्झौता भयो । सेना समायोजनका क्रममा मैले नेपाली सेनामा समाहित हुनुको अर्थ देखिनँ । विद्रोह नै गर्छु भनेर हतियार लिएरै निस्किएको थिएँ, तर संयुक्त राष्ट्रसंघको छाप भएको हतियार भएकोले मैले पछि फिर्ता गरें । विद्रोह गर्ने आँट, चाहना भएर पनि सांगठन नभएकोले म अध्ययनतिर लागें । एसएली पास गरेर काठमाडौंबाट पढाइ पूरा गरें । शान्ति सम्झौता हुँदा जनयुद्धको लक्ष्य पूरा भएको थिएन भन्ने लागेको थियो । त्यही भएर समायोजन रोजिएन । युद्ध भएको भए सास रहुञ्जेल लड्ने ऊर्जा, जोस थियो । यतिखेरसम्म वार र पार भैसक्थे । तर, शान्ति सम्झौताले परिवर्तनको लक्ष्य अधुरै रह्यो ।
अहिले राजनीति ठूला नेताहरुको ठेक्कापट्टा जस्तै भएको छ । नेताहरु कानुन बनाउँछन् आफैं पालना गर्दैनन् । कानुन त हामी सर्वसाधारणका लागि मात्रै लाग्छ । अन्तर्राष्ट्रिय दलाली गर्ने पेसा बनाइयो राजनीतिलाई । यसले हामीजस्ता हिजो देश र जनताका लागि भनेर लडेका योद्धाहरुलाई निराश बनाएको छ । राजनीतिमा गलत प्रवृत्ति र स्वार्थ हाबी भएको छ । हामीले त्यतिखेरै नै युद्ध सकिएको छैन भनेको हो । त्यो अहिले पुष्टि भएको छ । वास्तविक परिवर्तन आएको भए गरिबको झुपडीमा आज प्रचण्डको आँखा किन जाँदैन ? नेताहरु भ्रमको खेतीमा लागेका छन्, आफ्नो स्वार्थका लागि ।
धरानमा रहँदा पढाइसँगसँगै राजनीतिक संगठनहरुमा पनि सक्रियता निरन्तर रह्यो । समयलाई सदुपयोग गर्दै कराँते र अंग्रेजी भाषा सिक्न थालें । काठमाडौंमा पढाइ पूरा गरेपछि गाउँमा गएर अंग्रेजी भाषा सिकाउन थालें । जिल्लामा पनि अंग्रेजी भाषा र कराते सिकाएँ । बागबजारको जेभियर कन्सल्टेन्सीको शाखा नै लगेको थिएँ । भोजपुर डोजो आफ्नै नाममा दर्ता गरें । विद्यार्थीहरुलाई पढाउँदापढाउँदै पुस्तक लेख्न थालें । कमजोर विद्यार्थीलाई पढाउन, बुझाउन नोट गर्दागर्दै त्यसले किताबको आकार लियो । ब्रिटिस अंग्रेजी भाषासम्बन्धी तीनवटा पुस्तक प्रकाशनमा ल्याइसकेको छु ।
पुस्तक प्रकाशन गर्न पनि उस्तै संघर्ष गर्नुप¥यो । प्रकाशकहरुले पत्याएनन् । किड्नी बेचेरै भए पनि प्रकाशन गर्छु भनेर भारतको पटनामा पुगें । भाग्यवस त्यहाँको डाक्टरले सम्झाएर पठाइदिए, मेरो किड्नी बच्यो । त्यसपछि मैले तयार पारेको पुस्तकको ‘डमी’ देखाएपछि साथीहरुले विश्वास गरे, र प्रकाशनका लागि सापटी दिएर सहयोग गरे । त्यसरी आफ्नै लगानीमा किताब प्रकाशन गरें । किताब बिक्री भएको देखेपछि भने प्रकाशकले पत्याए । अहिले एसपी पब्लिेकेसनबाट विभिन्न संस्करणमा मेरो पुस्तक प्रकाशन भइरहेको छ । ‘समृद्ध राष्ट्रको चमत्कारी सिद्धान्त’ शीर्षकको नयाँ पुस्तक पनि प्रकाशनका लागि तयार भएको छ ।
‘समृद्ध राष्ट्रको चमत्कारी सिद्धान्त’
राष्ट्रको परिवर्तनका लागि राजनीति चाहिँदैन, शिक्षा नीतिबाटै गर्न सकिन्छ भन्ने उजागर गर्न यो पुस्तक तयार पारेको छु । अहिले पढेर बूढा भइँदैन भन्ने कुरा गरिन्छ, जुन भ्रामक हो । अहिलेको शिक्षा र मेरो शिक्षा नीति ठीक विपरीत छ । पढ्नु भनेको गर्नका लागि हो, तर ६० वर्षसम्म पढेर कहिले लगानी उठाउने ? अहिले छोराछोरी पढाउनका लागि अधिकांश बाबुआमा विदेशमा छन् तर यहाँ डिग्री, पिएचडी गरेकालाई पनि जागिरको टुंगो छैन । विडम्बना देश चलाउनेहरु आठ कक्षा फेलरहरु छन् । जनतालाई पढ्नुपर्छ भन्ने आफूचाहिँ नपढ्ने नेताहरु छन् । तिनलेचाहिँ पढ्नु नपर्ने ?
त्यही भ्रमलाई चिर्नका लागि समृद्ध राष्ट्रको चमत्कारी सिद्धान्त अगाडि सारेको छु । मेरो मूल राजनीतिक एजेण्डा पनि यही हो । यसभित्र बेसिक, डिप्लोमा र एड्भान्सको कोर्ष हुनुपर्छ भन्ने मेरो सिद्धान्त छ । २५ वर्षको उमेरसम्ममा सम्पूर्ण कोर्षहरु सकिनुपर्छ । यसका लागि बच्चा जन्मेको पाँच वर्षसम्म घरैमा नैतिक शिक्षा दिने । पाँचदेखि १० वर्षको उमेरमा बेसिक कोर्ष स्कूलमा पढाउने । त्यसपछिको १० वर्ष अर्थात् २० वर्षको उमेरसम्म डिप्लोमा तह पढाउने । डिप्लोमा तहमा आ–आफ्नो संकाय (फ्याकल्टी) छुट्याउनुपर्ने, जस्तैः विज्ञान, कला, वाणिज्य आदि ।
डिप्लोमापछिको पाँच वर्ष एड्भान्स कोर्ष पढाउने, जसमा डिग्री र पिएचडी पर्छ । यसरी २५ वर्षको हुँदा कोर्ष सकाउनुपर्छ । त्यसपछिको पाँच वर्ष उसलाई आफ्नो फिल्डमा पठाउनुपर्छ । ३० देखि ४० वर्षसम्म उसको विज्ञताका आधारमा सोही क्षेत्रमा सरकारले अनिवार्य रोजगारी दिने । त्यो १० वर्ष उसलाई पुग्दो तलब दिनुपर्छ, किनभने त्यो समय भनेको कमाउने हो । कमाउनका लागि उसले गैरकानुनी बाटो रोज्न नपरोस्, जस्तो अहिले नेपालमा कर्मचारीको तलब थोरै हुँदा भ्रष्टाचार अनियन्त्रित बनेको छ । त्यसैले पर्याप्त तलब दिनुपर्छ ।
त्यसपछि ४० वर्षमा अवकास दिएर उद्योग, व्यवसायमा लगानी गर्न लगाउने, जहाँबाट उनीहरुले अरुका लागि रोजगारी सिर्जना गरोस् । ५० वर्षपछि भने रिटायर्ड घोषणा गरिदिनुपर्छ । त्यसपछि उनले आफ्नो विज्ञता भएको क्षेत्रमा परामर्शदाताको रुपमा काम गर्न सक्छ, त्यसमा सरकारले सहयोग गर्नुपर्छ । अरुलाई ज्ञान बाँड्न लगाउनुपर्छ । यसो गरियो भने राजनीतिको आवश्यकता नै पर्दैन ।
यही परिवर्तनका लागि अब युवा नेतृत्वको आवश्यकता छ । हिजो युवालाई हतियारको गोली बनाइयो । अब युवाहरुले बुझ्नुपर्छ, हामी भ¥याङ बन्ने होइन, बन्दुकको गोली बन्ने होइन । हामीभन्दा अग्रजहरुले हामीलाई साथ दिनुपर्छ ।
नभएको नेतृत्वले केही गर्न सक्दैन भन्ने प्रमाणित भइसक्यो । जसको जेमा विज्ञता छ उसलाई मात्र सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्छ । अर्थशास्त्रको ज्ञान नभएको अर्थमन्त्री, स्वास्थ्यको ज्ञान नभएको स्वास्थ्यमन्त्री, कृषिको ज्ञान नभएको कृषिमन्त्री भएर केही गर्न सक्दैन । अब हामी युवाहरु आफ्नै भिजनमा अगाडि बढ्नुपर्छ । अरुको पुच्छर बन्न छाड्नुपर्छ । आफ्नो भिजनसहित अगाडि नबढेसम्म विकास र परिवर्तन सम्भव छैन ।
यस कारण मेरो उम्मेदवारी
अहिले जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्ने माहोल सिर्जना भएको छ । दलहरुप्रति जनताको विश्वास घटेको छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने दलहरुलाई जनताले चिनिसके । अब योग्य व्यक्तिलाई जनताले चुन्छन् । त्यही भएर म प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा अगाडि बढेको हुँ । चुनाव चिह्न ‘तीन चुलो’ लिएर चुनावमा लागेको छु ।
अहिलेका पार्टीहरुसँग कुनै स्पष्ट भिजन र लक्ष्य छैन । ठूला पार्टीहरु सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्ने लक्ष्यमै केन्द्रित छन् । देश विकास, राष्ट्रियताको सवालमा स्पष्ट नीति नै छैन । त्यसैले यी पार्टीहरुबाट मुलुकमा परिवर्तन सम्भव छैन । यिनीहरुले राष्ट्रियतालाई बेचिसके, एमसिसी त्यसको उदाहरण हो । आगामी चुनावपछि कि त राजनीतिक विद्रोह हुन्छ, कि त हामीले नेपाली भन्नै नपाउने स्थिति आउनेवाला छ । जनताले यो कुरा बुझ्न जरुरी छ, हामीले बुझाउनुपर्छ । अब नयाँ नेतृत्व स्थापित गर्नुको विकल्प छैन । यही कुरा जनतालाई बुझाउन मैले उम्मेदवारी दिएको हुँ । राष्ट्रको हितमा पार्टीको भन्दा मेरो भिजन प्रस्ट छ । त्यही कुरा म जनतालाई बुझाउँदै छु ।
म काठमाडौं–३ बाट उम्मेदवार भए पनि मेरो एजेण्डा समग्र देशका लागि छ । बाटो बनाउने, पुल बनाउने भन्नेजस्ता सबै कुरा गर्छु भन्ने होइन, प्रतिनिधिसभाले त कानुन बनाउने हो । प्रतिनिधिसभामा गएर राष्ट्र हितमा कानुन निर्माण गर्ने मूल लक्ष्य हो मेरो । अहिलेको व्यवस्थाले मुलुकको समृद्धि सम्भव छैन । यही व्यवस्थालाई निरन्तरता दिने हो भने हाम्रो अर्को पुस्ताले पनि समृद्धि देख्न पाउने छैनन् । म काठमाडौं–३ मा उम्मेदवार बन्नुको उद्देश्य चुनाव जित्नुमात्रै होइन, बहुदलीय व्यवस्था र अहिलेका दलहरुभित्रका विकृत पक्षहरु जनतासमक्ष भण्डाफोर गर्नु हो । हामी मेरो पार्टी, मेरो पार्टीको सिद्धान्त भनेर बिग्रिएका हौं । अब आफ्नो समुदाय, पार्टीभन्दा एक खुड्किला माथि राष्ट्र हितका लागि उठ्नुपर्छ ।
प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री चुन्ने व्यवस्था हुनुपर्छ । यस्तो व्यवस्था भयो भने योग्य व्यक्तिहरु आउन पाउँछन् । यसका लागि विस्तारै माहोल बन्दै गएको छ । स्वतन्त्रहरुले देशैभर साहस गरेका छन् । स्वतन्त्र र योग्यहरुलाई जिताएर पठाए परिवर्तनको चाहनालाई सार्थक बनाउन सकिन्छ । आशा छ, यसपटक जनताको भोट नोटमा बिक्ने छैन ।
म हिजो जनयुद्धबाट आएको मान्छे । हिजो हामीले प्रचण्डलाई नेता मान्यौं, प्रचण्डपथलाई आत्मसात् गरेर युद्ध लड्यौं । अहिले प्रचण्डमा ‘दाहालवाद’ हावी भएको छ । मेरो अहिलेको संघर्ष त्यही दाहालवादको विरुद्ध हो । दाहालवाद जस्तै वाद अरु पार्टीमा पनि छ, त्यसका विरुद्ध मेरो संघर्ष हो ।
काठमाडौं–३ म लामो समयदेखि बसेको क्षेत्र हो । यहाँ म लामो समयदेखि भिजेको छु । यहाँका समुदायसँग मेरो सामीप्यता छ । त्यही भएर मैले यो क्षेत्रलाई रोजेको हुँ । तर, मेरो इच्छा चितवनमा प्रचण्डसँग लड्ने थियो । मैले प्रचण्डविरुद्ध लड्छु भनेर घोषणा नै गरेको थिएँ, तर प्रचण्ड चितवन छाडेर गोरखामा पुगे । गोरखा गएपछि प्रचण्डसँग लड्ने मेरो लक्ष्य यसपालि अपूरो रह्यो ।
काठमाडौं–३ का जनताले मलाई साथ दिने विश्वास छ । मेरो परिवर्तनको एजेण्डालाई अगाडि बढाउन मलाई मत दिनुहुनेछ । चुनावी अभियानका क्रममा मैले आफ्नो भिजन जनतालाई बुझाउन पाएको छु । यो नै मेरो लागि ठूलो सफलता हो ।
जनतालाई मेरो आग्रह छ– अब मेरो मान्छे, मेरो पार्टी, मेरो क्षेत्रको विकास गर्नेभन्दा पनि राष्ट्रप्रेमी र समग्र मुलुकको विकास गर्ने, नेपाली जनताको भाग्य र भविष्य कोर्न सक्षम र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने व्यक्तिहरुलाई चुनेर पठाउनुस् । यो निर्णायक युद्ध हो, त्यसैले धेरै सोचेर भोट दिनुहोला ।
(काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईसँग प्रभावले गरेको कुराकानीमा आधारित)
रक्षकुमार राई