ब्युनस आयर्स- अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्।
३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औं अन्तर्राष्ट्रिय खेलमा १२६औं गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाए। उनले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गरे भने निको पाजले अर्को गोल गरे।
मेस्सीले खेलको ७१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
खेलको परिणामभन्दा मेस्सीको बिदाइ नै मुख्य आकर्षण बन्यो। ‘द लास्ट ट्यांगो’ नाम दिइएको कार्यक्रममा उनले समर्थकको माया र सम्मान ग्रहण गरे। खेलपछि सम्बोधन गर्दै उनले २० वर्षभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनका लागि ठूलो गौरव भएको बताए।
“म जीवनभर खेलिरहन चाहन्छु, तर मलाई लाग्छ अब यो क्षण आएको छ। राष्ट्रिय टोलीका लागि खेल्नु आफूले पाउन सक्ने सबैभन्दा सुन्दर कुरा हो”, उनले भने।
स्टेडियमतर्फ मेस्सी र उनका टोली साथीहरू सवार बस अघि बढ्दा समर्थकको ठूलो भीडले स्वागत गरेको थियो। त्यस क्रममा उनले भावुक हुँदै आँसु झारेका थिए। उनी आफ्ना तीन सन्तानसँगै मैदानमा प्रवेश गरे भने पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुसिट्टिनीले भिआइपी कक्षबाट उनलाई हात हल्लाउँदै स्वागत गरे।
खेल सुरु हुनुअघि मैदानमा मेस्सीको १० नम्बरको जर्सीमाथि ‘ग्रेसियस’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो। खेलको १०औं मिनेटमा उनको जर्सी नम्बरप्रति सम्मान प्रकट गर्दै खेल केही समय रोकिएको थियो र समर्थकले एक मिनेट लामो ताली बजाएका थिए। अन्तिम सिठ्ठीपछि ड्रोनमार्फत आकाशमा मेस्सीको तस्बिर देखाउँदै उनलाई धन्यवाद दिइएको थियो।
मंगलबारको खेलअघि ब्युनस आयर्स विश्वविद्यालयले मेस्सीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। एएफएको मुख्यालयबाहिर समर्थकले उनको तस्बिरसहित ‘मेरो जीवनको आनन्द’ लेखिएको विशाल अर्जेन्टिनी झण्डा फहराएका थिए। बार्सिलोनाका पूर्वटोली साथी नेयमारले पनि सामाजिक सञ्जालमार्फत मेस्सीले फुटबलका लागि गरेको योगदानप्रति धन्यवाद दिएका थिए।
अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको बिदाइ अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताएर ३६ वर्ष लामो उपाधि खडेरी अन्त्य गरेको चार वर्षपछि भएको हो। उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका उपाधिसमेत जितेको थियो। अर्जेन्टिना सन् २०१४ र २०२६ को विश्वकपमा उपविजेता बनेको थियो।
मेस्सी सन् २०२८ सम्म इन्टर मियामीसँग अनुबन्धमा छन्। यद्यपि, दुई महिनाअघि आफ्ना बुबा जोर्जको निधनपछि उनले अपेक्षा गरिएभन्दा चाँडै फुटबलबाट बिदा लिन सक्ने संकेत गरेका थिए।
समर्थक सिसिलिया एड्रियानोले मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो तर्फबाट सबै कुरा दिएको बताउँदै अब उनले आफ्नो जीवनको आनन्द लिन र आराम गर्न पाउनुपर्ने प्रतिक्रिया दिए। रासस/एएफपी