काठमाडौं- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृंखला खेल्दै छ। एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृंखला महत्त्वपूर्ण छ।
हाल अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले आसन्न श्रृंखलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्ने छ। नेपाली टोली श्रृंखलामा चारवटै खेल जित्ने लक्ष्यका साथ सोमबार बिहान ओमान प्रस्थान गरिसकेको छ।
तालिकाको शीर्ष छ भित्र पर्न सके नेपालले सोझै एकदिवसीय मान्यता सुरक्षित गर्ने छ। यदि त्यो स्थान हासिल गर्न नसके नेपालले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउनुपर्ने छ।
नेपाली टोली हालको लय कायम राख्दै ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ। टोलीका कप्तान सन्दीप लामिछाने खेलाडीमा उच्च आत्मविश्वास रहेकाले नेपालले आउँदो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन्।
उनका अनुसार एसिसी प्रिमियर कपमा गरेको प्रदर्शन र ओमानमा यसअघिका खेलबाट प्राप्त अनुभवले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ। ‘‘एसिसी प्रिमियर कप र त्यसअघि ओमानमा हाम्रो जुन प्रदर्शन रह्यो, त्यो हाम्रो लागि मनोवैज्ञानिक रूपमा सकारात्मक कुरा हो। त्यसलाई अझै राम्रो ऊर्जाका साथ अगाडि बढाउनेछौँ। टिम अहिले एकदम राम्रो लयमा छ’’, कप्तान लामिछानेले भने, ‘‘मौसमले साथ नदिँदा एसियन गेम्समा हामी दुर्भाग्यवश रोकियौँ। नत्र एकदम राम्रो तरिकाले अगाडि बढिरहेका थियौं।’’
उनले राष्ट्रिय टोलीमा नयाँ खेलाडीको प्रवेशलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए। राष्ट्रिय टोलीमा स्थान बनाउनु आफैँमा ठूलो उपलब्धि भएकाले नयाँ खेलाडीलाई थप आत्मविश्वास र ऊर्जा दिन सञ्चारमाध्यम, क्रिकेट समर्थक तथा सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने कप्तान लामिछानेको भनाइ छ।
‘‘नयाँ खेलाडी टिममा आउँदा उनीहरूलाई मनोवैज्ञानिक रूपमा थप ऊर्जा दिन सकियो भने त्यसले खेलाडी र राष्ट्रिय टोली दुवैलाई फाइदा गर्छ। राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्नु सानो कुरा होइन। यहाँसम्म आइपुग्न धेरै साहस चाहिन्छ र काँधमा ठूलो जिम्मेवारी हुन्छ’’, उनले भने, ‘‘यहाँ आइसकेपछि को सानो, को ठूलो, को कुन खेलाडी भन्ने हुँदैन। हामी सबै जना नेपालको राष्ट्रिय टोलीका लागि खेलिरहेका छौं। नेपालका लागि खेल्ने एउटै सपना हामी सबैको हो।’’ नेपाललाई आगामी विश्वकप क्वालिफायरसम्म पुर्याउने र त्यहाँ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा टोली केन्द्रित रहेको कप्तान लामिछानेले बताए।
त्यसका लागि सकारात्मक वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ। ‘‘हामी सबैको सपना भनेको टिमलाई विश्वकप क्वालिफायरमा पुर्याउने र त्यहाँ गएर राम्रो गर्ने हो। आगामी प्रतियोगितामा राम्रो गर्न सकारात्मक वातावरण आवश्यक हुन्छ। त्यो वातावरण निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो’’, उनले भने।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीबाट आगामी खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताए। उनले ‘एसियन कन्डिसन’ मा हुने खेलमा नतिजाभन्दा पनि खेलाडीले खेलको दिन दबाबलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। सचिव खड्काले टोलीलाई आगामी खेलका लागि शुभकामना दिँदै क्यानले आवश्यक अन्तर्राष्ट्रिय क्रिकेट तथा घरेलु प्रतियोगिताको संरचना तयार गरिरहेको जानकारी दिए।
‘‘एसियन कन्डिसनमा खेल्दै गर्दा समग्र नतिजा हेर्नुभन्दा पनि त्यो दिन टिम र खेलाडीले कसरी प्रेसर ह्यान्डल गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। नेपाल क्रिकेट संघको तर्फबाट यहाँहरूलाई आगामी खेलका लागि सबैभन्दा राम्रो शुभकामना छ’’, खड्काले भने। घरेलु क्रिकेटको संरचना पनि अन्तिम चरणमा पुगेको र धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको उनले बताए। खेलाडी तथा टोलीमाथि अपेक्षा धेरै रहेकाले त्यसलाई सही ढंगले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
‘‘अहिले अपेक्षा धेरै छन्। त्यो अपेक्षालाई टिमका रूपमा व्यवस्थापन गर्नुपर्छ। जसरी यहाँहरूले मैदानभित्र र मैदानबाहिर प्रदर्शन गर्दै आउनुभएको छ, त्यही स्पिरिटका साथ खेल्दै फेरि पनि नेपाललाई जिताउनुहुनेछ भन्ने विश्वासमा नेपाल क्रिकेट संघ यहाँहरूको साथमा छ’’, सचिव खड्काले भने।
आसन्न विश्वकप लिग–२ श्रृंखलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ। रासस