बनेपा (काभ्रे)- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रमा पर्ने चिसापानी डाँडामा अन्तर्राष्ट्रियस्तरको हक्की रंगशाला तथा प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। संघीय सरकारबाट बजेट सुनिश्चित भई त्रिपक्षीय सम्झौता सम्पन्न भएपछि यस परियोजनाको निर्माणका लागि औपचारिक बाटो खुलेको हो।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र शैक्षिक गन्तव्यका रूपमा परिचित काभ्रेपलाञ्चोकको धुलिखेल अब खेलकुदको नयाँ केन्द्रका रूपमासमेत विकास हुने भएको छ। हरियाली डाँडाकाँडा, स्वच्छ वातावरण र रमणीय भूगोलका कारण पर्यटकीय पहिचान बनाएको धुलिखेलमा बन्ने यो रंगशालाले यहाँको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि पर्याप्त पूर्वाधारको अभावमा सीमित हुँदै आएको हक्की खेलको विकासका लागि धुलिखेल नगरपालिका र काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिबीच द्विपक्षीय सम्झौता भएको छ। यस सम्झौतासँगै धुलिखेलमा हक्की खेलको व्यवस्थित प्रशिक्षण, प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनका लागि बलियो आधार तयार हुने विश्वास गरिएको छ। धुलिखेलस्थित नगरपालिकाको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा धुलिखेल नगरपालिकाका तर्फबाट कार्यवाहक नगरप्रमुख निरान्न जंगम र काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले हस्ताक्षर गरेका छन्।
धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रस्थित चिसापानी डाँडामा निर्माण हुने उक्त स्टेडियमले वडा, पालिका र देशकै हित हुनेमा विश्वस्त रहेको वडा नं १२ का अध्यक्ष मोहनप्रसाद लामिछानेले बताएका छन्। यसैगरी, काभ्रेपलाञ्चोक जिल्ला हक्की संघका अध्यक्ष स्वस्तिक व्यञ्जुका अनुसार यो परियोजना जिल्ला कार्यसमिति र समग्र मुलुककै गर्वको विषय हो। परियोजना सम्पन्न गर्न संघ र आफूले समेत सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यञ्जुले व्यक्त गरेका छन्।
सम्झौता अनुसार धुलिखेल नगरपालिकाले कानुन बमोजिम आफूले भोगचलन गर्न पाउने हकभित्रबाट खेलकुद पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने छ। यसअघि पालिकाले नेपाल हक्की संघसँग ४० वर्षका लागि अनुमति प्रदान गरिएको २०० रोपनी जग्गा कार्यपालिकाबाट निर्णय गरी यो परियोजना अघि बढाउने सम्झौता गरिएको थियो। विशेषगरी धुलिखेल नगरपालिका–११ र १२ को सिमाना क्षेत्रमा रहेको उपयुक्त जग्गामा हक्की खेलका लागि आधुनिक रंगशाला तथा प्रशिक्षण केन्द्र निर्माण गर्ने योजना अघि सारिएको हो।
कार्यवाहक नगरप्रमुख जंगमले धुलिखेललाई खेलकुदमैत्री पालिकाका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्यअनुसार हक्की रंगशाला निर्माणको योजना अघि बढाइएको जानकारी दिए। उनले खेलकुद पूर्वाधारले स्थानीय युवालाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्नुका साथै धुलिखेलको सामाजिक, आर्थिक र पर्यटन विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
रंगशाला निर्माणका लागि बजेट व्यवस्थापन तथा पूर्वाधार विकासमा जिल्ला खेलकुद विकास समितिले आवश्यक पहल गर्ने भएको छ। समितिका अध्यक्ष मानवीर वाइवाका अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा बागमती प्रदेशस्थित सम्बन्धित खेलकुद निकायहरूसँग समन्वय गरी परियोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गरिने छ। “यो परियोजना धुलिखेलको मात्र नभई समग्र काभ्रेपलाञ्चोक र नेपाली हक्की खेलको विकाससँग जोडिएको विषय हो,” अध्यक्ष वाइवाले भने, “बजेट व्यवस्थापनदेखि पूर्वाधार निर्माणसम्म समितिले आफ्नो तर्फबाट सक्रिय सहयोग गर्ने छ।”
आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय खेलकुद परिषद्मार्फत कार्यान्वयनमा लैजाने गरी संघीय सरकारबाट तीन करोड रुपैयाँ बजेट छुट्याइएको छ। जिल्ला खेलकुद विकास समितिमार्फत सोही कार्य कार्यान्वयन गर्न तथा जिल्लास्थित कार्यालय र संघलाई अनुगमनका लागि सहज होस् भनी आज यो सम्झौता गरिएको शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए।
सम्झौतामा रंगशालाको प्रयोग बलम सञ्चालनसम्बन्धी विषयसमेत समेटिएको छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिले धुलिखेल नगरपालिकासँग आवश्यक समन्वय गर्नेछ। प्रतियोगिता आयोजना नभएको समयमा भने अभ्यासका लागि नगरपालिकाले उक्त मैदान प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ। काभ्रेपलाञ्चोक जिल्ला हक्की संघका अध्यक्ष स्वस्तिक व्यञ्जुका अनुसार यसअघि नेपाल हक्की संघ र धुलिखेल नगरपालिकाबीच २०८२ वैशाख २९ गते भएको द्विपक्षीय सम्झौतालाई समेत नयाँ सम्झौताको अभिन्न अंगका रूपमा राखिएको छ। यसले हक्की खेलको विकासका लागि यसअघि भएका सहमति र प्रयासलाई निरन्तरता दिँदै परियोजनालाई थप संस्थागत बनाएको उनले बताए।
धुलिखेल नगरपालिकाले अघि बढाएको ‘खेलकुदमैत्री पालिका’ बनाउने अभियानमा जिल्ला खेलकुद विकास समितिले पूर्ण ऐक्यबद्धता जनाएको छ। अभियानअन्तर्गत विद्यालय तथा वडास्तरदेखि जिल्लास्तरसम्म खेलकुद गतिविधि विस्तार गर्ने योजना रहेको छ। त्यसका लागि आवश्यक प्राविधिक तथा विज्ञ सहयोग जिल्ला खेलकुद विकास समितिले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
खेलकुदको विकासका लागि भौतिक पूर्वाधारसँगै दक्ष प्रशिक्षक, प्राविधिक जनशक्ति र नियमित प्रतियोगिता पनि उत्ति नै आवश्यक हुन्छ। यसैलाई ध्यानमा राख्दै विद्यालय तथा वडास्तरमा खेलाडी पहिचान, प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा सहकार्य गरिने भएको छ। यसबाट स्थानीयस्तरमै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई जिल्लास्तर, प्रदेशस्तर हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा स्थापित धुलिखेलमा खेलकुद पूर्वाधार थपिएसँगै यसको पहिचान अझ व्यापक बन्ने सम्भावना छ। खेलकुद प्रतियोगिता, प्रशिक्षण तथा राष्ट्रियस्तरका कार्यक्रम आयोजना हुँदा स्थानीय होटल, यातायात, व्यापार र पर्यटन व्यवसायमासमेत सकारात्मक प्रभाव पर्न सक्नेछ। स्थानीय युवाको ऊर्जा, खेलाडीको सपना र संस्थागत सहकार्यलाई एउटै योजनामा जोड्दै अघि बढाइएको यो परियोजनाले धुलिखेललाई नेपालको खेलकुद मानचित्रमा उच्च स्थानमा स्थापित गर्ने अपेक्षा गरिएको छ। रासस