काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अंक बाँडेको हो।
नेपालले अब क्वार्टरफाइनलमा श्रीलंकाविरुद्ध खेल्ने छ। नेपाल र श्रीलंकाबीचको खेल मंगलबार हुने तालिका छ।
आज जापानसँगको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो।
नागोयास्थित कोरोगी स्पोर्टस् पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले। जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन तथा लोकेशले २२ बलमा छ छक्का र एक चौकाको सहयोगमा अविजित ५२ रनको पारी खेलेका हुन्।
यस्तै, आसिफ शेखले १५ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे। जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जेक कुसुडा नायर्न र रेओ साकुरानो थोमसले एक/एक विकेट लिएका थिए।