- सरकारी अपिलपछि पनि देवानगञ्जमा हिंसा रोकिएन
- घाइतेको उपचार र क्षतिपूर्तिको सरकारले प्रतिबद्धता जनायो
- सेना, प्रहरीसहित चार सुरक्षा निकाय परिचालित, हेलिकप्टरबाट गस्ती बढाइँदै
- प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहतालाई सहिद घोषणा गर्न माग
- सर्वदलीय बैठकबाट राहत र निष्पक्ष छानबिन गर्न माग
- सद्भाव कायम गर्न दल र नागरिक समाजको आग्रह
- रास्वपाले बोलायो सर्वदलीय बैठक, आज बिहान ८ बजे सिंहदरबारमा बैठक बस्ने
- धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न प्रधानमन्त्री कार्यालयको आग्रह
काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा सुरु भएको विवाद अझै साम्य भएको छैन । सामान्य विवादबाट सुरु भएको घटना साम्प्रदायिक तनावमा परिणत भएको छ । त्यसपछि हिंसा चर्किएको छ । सरकारको संयमताको अपिलपछि पनि झडप रोकिएको छैन । आगजनी, तोडफोड र लुटपाटका घटना दोहोरिएका छन् । सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको छ । यसले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै घाइतेको निःशुल्क उपचार गरिने, पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने र दोषीमाथि कडा कानुनी कारबाही गरिने बताएका छन् । गृह मन्त्रालयले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
विज्ञप्तिमा अर्यालले भनेका छन्, ‘उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतः विश्वास गर्दछ ।’ सरकारले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न आग्रह गरेको छ । अफवाह र भ्रामक सूचना नफैलाउन पनि सबैसँग अपिल गरेको छ । विज्ञप्तिमा छ, ‘धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पु¥याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ ।’
सरकारले अपिल जारी गरे पनि मंगलबार राति देवानगञ्ज बजारमा फेरि दुई समूहबीच झडप भयो । दुवै पक्ष घरेलु हतियारसहित सडकमा उत्रिएका थिए । त्यसपछि स्थिति तनावपूर्ण बन्यो । सुनसरी प्रहरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । उनले भने, ‘अवस्था अझै सामान्य भइसकेको छैन । त्यसैले कफ्र्यु हटाइएको छैन ।’ आइतबार राति सुरु भएको विवादमा प्रहरीको गोली लागेर देवानगञ्ज-४ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो । त्यसपछि सुरु भएको विरोध प्रदर्शन मंगलबार थप उग्र बनेको हो ।
स्थानीय प्रशासनले दक्षिण सुनसरीका पाँच बजार क्षेत्रमा कफ्र्यु जारी गरेको छ । तर, प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै सडकमा उत्रिएका छन् । प्रहरीका अनुसार सोमबार एउटा पक्षमात्रै सडकमा थियो । मंगलबार दुवै पक्ष आमनेसामने भए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
कोशी गाउँपालिकाको कोशी कटान क्षेत्रमा पसलहरूमा आगजनी र लुटपाट भयो । होटलका कामदारमाथि कुटपिट भयो । धारिलो हतियारसमेत प्रयोग भएको प्रहरीले जनाएको छ ।
कोशी गाउँपालिका-४ का प्रेमकुमार मलाह माझी गम्भीर घाइते भएका छन् । देवानगञ्ज-२ का सञ्जय यादवमाथि पनि आक्रमण भएको छ । दुवैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले देवानगञ्ज-३ का चार घरमा आगजनी गरेका छन् । बजारबाट बस्तीतर्फ जाने सडक अवरुद्ध बनाएर घरमा आगो लगाइएको स्थानीयले बताएका छन् । यस्तै, इनरुवामा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
घुस्कीमा प्रहरी सहायक निरीक्षक बलराम यादव घाइते भएका छन् । उनको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपीले प्रयोग गर्ने दुईवटा सरकारी गाडी पनि तोडफोड गरेका छन् ।
सेनाको हवाई गस्ती
स्थिति बिग्रिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको छ । नेपाली सेनाले हेलिकप्टरबाट हवाई गस्ती गरेको छ । हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका र इनरुवामा सुरक्षा बढाइएको छ ।
यसबीच प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल मृतक ओमप्रकाश मेहताको घर पुगे । उनले परिवारलाई भेटे । घटनाको निष्पक्ष छानबिन हुने, दोषीलाई कारबाही गरिने र राहत उपलब्ध गराइने आश्वासन दिएका छन् ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताको अध्यक्षतामा मंगलबार बसेको सर्वदलीय बैठकले ओमप्रकाश मेहतालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । बैठकले घाइतेको निःशुल्क उपचार, राहत, क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग पनि गरेको छ ।
‘सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा, राहत, घाइतेको उपचार र घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्ने निर्णय गरेको छ,’ उनले प्रभावसँग भने, ‘छानबिन समितिलाई अनुसन्धानमा सहयोग गर्ने सहमति पनि गरेका छौं ।’
यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको आलोचना गरेका छन् । उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको छ ।’ एमालेले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । रास्वपाले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय तथा राहत दिन सरकारसँग माग गरेको छ । सभापति लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज बिहान ८ः०० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान उक्त बैठक संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैं फोन गरेर आमन्त्रण गरेको महामन्त्री आचार्यको भनाइ छ ।
महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिकरूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको बताए ।
नागरिक आन्दोलनको चिन्ता
बृहत् नागरिक आन्दोलनले पनि घटनालाई दुःखद भनेको छ । ‘दुई पक्षबीच सुरु भएको विवादमा सम्बन्धित पक्ष र सुरक्षाकर्मीले पर्याप्त सावधानी र संयमता अपनाउन नसक्दा हिंसात्मक रूप लिनु ज्यादै दुःखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा छ ।
घटनापछि स्वतन्त्र छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी कारबाही गर्न, मृतकका परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सरकारले छानबिन समिति गठन गरेर शान्ति कायम गर्ने प्रयास गरेको जनाएको छ । तर, कफ्र्यु, चारवटै सुरक्षा निकायको परिचालन र सरकारी अपिलपछि पनि अवस्था पूर्णरूपमा सामान्य हुन सकेको छैन । राजनीतिक दल, नागरिक समाज र स्थानीय तहले अब निष्पक्ष छानबिनसँगै दीर्घकालीन समाधान खोज्न सरकारलाई दबाब दिएका छन् ।