- मोहरम पर्वका बेला राखिएको एउटा झण्डालाई लिएर विवाद सुरू
- सोमबारको बोलबम यात्राका लागि बजाइएको डिजे बन्द गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा तनाव
- स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु
- घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते
- घटना हुँदा सुनसरीका प्रमुख सुरक्षा अधिकारीहरू जिम्मेवारीमै थिएनन्
- घटनापछिको अवस्था नियन्त्रणमा लिन सेना परिचालन, विभिन्न स्थानमा कफ्र्यु
- घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, मृतक परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार तथा सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन
काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक तनावले हिंसात्मक रूप लिँदा एक युवकको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । घटनापछि सुनसरीसहित सप्तरी र सिरहामा पनि तनाव फैलिएको छ । सरकारले सुरक्षा नेतृत्व नै हेरफेर गरेको छ भने राष्ट्रिय मानवअधिकार आयोगले निष्पक्ष अनुसन्धानको माग गर्दै छानबिन सुरु गरेको छ ।

संवेदनशील जिल्लाका सुरक्षा कमाण्ड सम्हालेकाहरू एकैपटक बिदामा बस्नु हुँदैन, सुनसरीमा बसेको पाइयो, कमाण्डर नहुँदा चेन अफ कमाण्डमा असर पर्छ । त्यहाँ सुरक्षा चुक देखियो ।
हेमन्त मल्ल
पूर्वडिआइजी
प्रहरीको गोली लागेर देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भए । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार घटनाको मूल कारण मोहरम पर्वका बेला राखिएको एउटा झण्डा थियो । मोहरमका क्रममा एउटा समुदायले मोहरम खेल्ने स्थानमा झण्डा राखेको थियो । पर्व सकिएपछि अर्को समुदायले उक्त झण्डा हटाउन आग्रह गर्दै आएको थियो । तर, झण्डा नहटाइएपछि विवाद विस्तारै चर्किंदै गयो ।
यो विषय गाउँपालिका अध्यक्ष बेचनकुमार मेहतासम्म पुगेको थियो । अध्यक्षले झण्डा हटाउन आग्रह गरे पनि सहमति हुन सकेन । स्थानीयका अनुसार सुरक्षा निकायलाई पनि विवादबारे पहिलेदेखि जानकारी थियो । तर, दुवै पक्षलाई राखेर समयमै संवाद गराउने र समाधान निकाल्ने प्रयास प्रभावकारीरूपमा हुन नसकेको आरोप अध्यक्ष मेहेताले लगाए ।

यो घटनामा कुनै पनि हालतमा गोली चलाउनुपर्ने अवस्था छँदै छैन । जसले नागरिकमाथि गोली चलायो अत्यन्त गम्भीर र खेदजनक छ । गर्नै नहुने काम भयो ।
लालविक्रम थापा
प्रतिनिधिसभा सदस्य, रास्वपा
उनले मोहरमका लागि छुट्याइएको स्थानमा राखिएको झण्डा हटाउने विषय नै अहिलेको घटनाको मुख्य जरो बनेको दाबी गरे । ‘सम्भावित घटनाबारे हामीले पहिल्यै सुरक्षा निकायलाई भनेका थियौं तर बेवास्ता गरियो र यो अवस्था आयो,’ उनले प्रभावसँग भने । उनका अनुसार आइतबार साँझ साउने सोमबारको बोलबम यात्राका लागि एउटा समूहले डिजेसहित गानाबजाना गरिरहेको थियो । राति करिब ९ बजेतिर अर्को समुदायका केही व्यक्ति आएर डिजेको आवाजले असहज भएको भन्दै रोक्न खोजे । त्यसपछि दुवै पक्षबीच भनाभन सुरु भयो । सुनसरी-२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार यही विवाद भइरहेका बेला अचानक विद्युत् आपूर्ति बन्द भयो ।

नागरिकको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपथ्र्यो ।
गगन थापा
सभापति, नेपाली कांग्रेस
उनले भने, ‘यही विवादकाबीचमा विद्युत् अवरुद्ध भयो । यसलाई संयोगमात्रै मान्न सकिँदैन ।’ उनका अनुसार करिब दुई घण्टापछि मात्रै बिजुली आयो । त्यतिबेलासम्म बजार क्षेत्र तनावग्रस्त बनिसकेको थियो । mघटनास्थलमा प्रहरी पुगेपछि एउटा समूह पछि हटेको थियो । तर, अर्को समूहसँग प्रहरीको विवाद सुरु भयो । केहीबेरमै सशस्त्र प्रहरी पनि त्यहाँ पुग्यो । तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार प्रदर्शनकारीले सुरक्षाकर्मीलाई घेरेर ढुंगामुढा गरेपछि हवाई फायर गरिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २५ राउण्ड हवाई फायर गरेका दाबी गरेका छन् । तर, त्यसक्रममा गोली सर्वसाधारणलाई लाग्यो । गोली लागेर घाइते भएका मिथलेश मेहताका बुबा दिलीप मेहताले भने, ‘झण्डा टाँग्ने विषयमा झडप भयो । प्रहरीले कसरी गोली चलायो थाहा भएन । सुरुमा कतैबाट लाठी प्रहार भएको थिएन । उता प्रहरी, यता सर्वसाधारण थिए । उताबाट फायर आयो ।’
घटना हुँदा सुनसरीका प्रमुख सुरक्षा अधिकारीहरू जिम्मेवारीमै थिएनन् । जिल्ला प्रहरी प्रमुख एसपी केशवकुमार थेवे बिदामा थिए । उनको स्थानमा डिएसपी चन्द्र खड्का निमित्त प्रमुख थिए । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरे पनि बिदामा थिए । सशस्त्र प्रहरी बल नम्बर-४ गण इनरुवाका प्रमुख एसपी श्यामकुमार कार्की यसअघि नै मुख्यालय तानिएका थिए । उनको स्थानमा नयाँ गणपति नियुक्त भइसकेका थिएनन् ।
सीमावर्ती संवेदनशील जिल्लामा एकैपटक सुरक्षा नेतृत्व कमजोर भएका बेला विवाद हिंसामा परिणत भएको भन्दै सुरक्षा संयन्त्रको गम्भीर आलोचना भइरहेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सुरक्षा कमाण्ड सम्हालेकाहरू एकैपटक बिदामा बस्नु नै गलत भएको बताउँछन् । ‘संवेदनशील जिल्लाका सुरक्षा कमाण्ड सम्हालेकाहरू एकैपटक बिदामा बस्नु हुँदैन, सुनसरीमा बसेको पाइयो, कमाण्डर नहुँदा चेन अफ कमाण्डमा असर पर्छ,’ उनले भने, ‘त्यहाँ सुरक्षा चुक देखियो ।’
घटनापछि स्थानीय प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्युकाबीच पनि सोमबार केही स्थानमा प्रदर्शन भए । देवानगञ्जमा घर, पसल, ट्याक्टर र मोटरसाइकलमा आगजनी भयो । इनरुवामा बजाज शोरुम, प्रहरी बिट तथा अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड भयो । केहीबेर पूर्व-पश्चिम राजमार्ग पनि अवरुद्ध भयो । अवस्था नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको जनाएको छ ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा अधिकारीहरूसँग छलफल गरी गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।सरकारले तत्काल सुरक्षा नेतृत्वमा पनि व्यापक हेरफेर गरेको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेलाई फिर्ता बोलाइएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको छ ।
डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर डिआइजी शेखर खनाललाई कोशी प्रदेश पठाइएको छ । एसपी केशवकुमार थेवेलाई भैरहवा सरुवा गरी एसपी पुष्पराज मल्ललाई सुनसरीको जिम्मेवारी दिइएको छ । सुनसरी घटनाको विरोधमा सोमबार सप्तरीको राजविराजमा प्रदर्शन भयो । प्रदर्शनकारीले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै ज्ञापनपत्र बुझाए । सोमबार सिरहाको कर्जन्हामा केहीबेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । पछि प्रहरीको सम्झाइबुझाइपछि अवस्था सामान्य बनेको थियो ।
सप्तरीमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्ने, अफवाह नफैलाउने र धार्मिक सहिष्णुता जोगाउने सहमति गरेको छ । घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले घटनाको अनुसन्धान सुरु गर्दै प्रारम्भिक अनुगमनमा पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा चर्किएको र त्यसपछि झडप तथा प्रहरीको गोली चलेको देखिएको जनाएको छ । आयोगले निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, मृतक परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार तथा सामाजिक सद्भाव कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।
‘गोली चलाउनुपर्ने अवस्था नै थिएन’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्ज घटनामा प्रहरीले नागरिकमाथि गोली चलाउनु अत्यन्तै गम्भीर र खेदजनक भएको बताएका छन् । सुनसरी-२ बाट निर्वाचित प्रतिनिधिसभा थापाले सोमबार घटनास्थल पुगेर प्रहरीले गोली चलाउनुपर्ने अवस्था नै नरहेको दाबी गर्दै आक्रोश पोखेका हुन् ।
‘कुनै पनि हालतमा गोली चलाउनुपर्ने कन्डिसन छँदै छैन यो घटनामा,’ सांसद थापाले भने, ‘जसले गर्यो यो खेदजनक छ ।’ उनले आफूलाई उक्त विवादको बारेमा पहिले नै जानकारी रहेको र प्रहरी अधिकारीहरुसँग संवेदनशीलताको विषयमा सोधे पनि यथार्थ जानकारी नदिएको भन्दै आक्रोश पोखे । प्रशासन र सुरक्षा निकायबीच समन्वय अभाव हुँदा उक्त घटना भएको प्रस्ट देखिएको उनको भनाइ थियो ।
‘सिडिओ साबलाई सोध्दा उहाँले मलाई जानकारी छैन भन्नुभाछ । एसपी साबलाई फोन गर्दा एसपी साबले फोन उठाइराख्नुभा छैन र अरु कसैले उठाइराछ,’ सांसद थापाले भने, ‘मेरो नागरिकमाथि गोली चलाएको छ । अत्यन्तै गर्नै नहुने काम भयो ।’ घटनापछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य संयमित हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले भने, ‘नागरिकको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपथ्र्यो ।’ थापाले स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य छानबिन, घाइतेको उपचार तथा मृतक परिवारलाई उचित सहयोग गर्न सरकारसँग माग गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनाको प्रत्यक्ष जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । उनले भने, ‘यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो । यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ आङ्देम्बेले हिंसा, आगजनी र प्रतिशोधबाट समाधान ननिस्कने भन्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सुरक्षाकर्मीले अधिकतम संयमता अपनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने घटनापछि गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।