काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।
उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न आग्रह गरे । उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए ।
बोर्डका अध्यक्ष डा गोपाल भट्टले पुँजीबजार विकासको ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए । उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा-डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ भने सरोकारवालासँग परामर्शपछि ती व्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ । सोमबार अर्थमन्त्री वाग्लेलगायतको उच्चपदस्थ टोलीले बोर्डको स्थलगत निरीक्षण गरेको थियो ।