विराटनगर- जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए ।
अहिले देवानगञ्ज, घुस्की, कप्तानगञ्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान ७ बजेदेखि निषेधज्ञा जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा समयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताए ।
कप्तानगञ्जमा गए राति दुई समूहबीचको विवाद सिर्जनापछि भएको झडपको घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको थियो । बैठकमा जिल्लास्थितका प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो ।