- परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएपमा पुग्यो एमबिएसको प्रश्नपत्र
- ‘सुलभ सर’ले प्रश्नपत्रसँगै उत्तरसमेत पठाएको स्क्रिनसट सार्वजनिक
- प्रश्नपत्र लिक प्रकरणमा शिक्षक सन्दीप सिंह पक्राउ
- प्रश्नपत्र कसरी चुहियो ? खोज्दै सिआइबी
- त्रिविको छानबिन समितिको निष्पक्षतामाथि प्रश्न
- त्रिविको परीक्षा र सुरक्षा प्रणालीमाथि गम्भीर बहस
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबिएस प्रथम सेमेस्टरको परीक्षा शुक्रबार दिउँसो १२ बजेदेखि थियो । करिब पाँच-छ मिनेटपछि नै प्रश्नपत्र बाहिरियो । ‘एमबिएस फस्र्ट सेम, सेक्सन सी’ नामको ह्वाट्सएप समूहमा प्रश्नपत्रको पिडिएफ फाइल पोस्ट भयो । उक्त समूहमा एक हजार २३ जना सदस्य थिए । समूहको उद्देश्य नै ‘हेल्प इच अदर’ अर्थात् एक अर्कालाई सहयोग गरौं भन्ने थियो ।

हामी अहिले अनुसन्धानमै छौं । तर, प्रारम्भिक अनुसन्धानमा सुलभ सर भन्नेले ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र र उत्तर पठाएको देखिएको छ । तर, उहाँले प्रश्नपत्र कसरी पाउनुभयो भन्ने विषयमा हाम्रो अनुसन्धान केन्द्रित छ ।
अनुपशमशेर जबरा
एसएसपी तथा प्रवक्ता, सिआइबी
प्रश्नपत्र पठाउने ‘सुलभ सर’ थिए । उनको ह्वाट्सएप अकाउन्टबाटै प्रश्नपत्र ग्रुपमा पठाइएको थियो । लगत्तै परीक्षार्थीहरूले देखे । एक परीक्षार्थीले लेखिहाले- सर सोलुसन नि पठाइदिनु न ।’ सुलभ सरले पठाइदिने भन्दै ‘हस्’ भने । उनीसँग परीक्षार्थीहरूले पेपरवाइज उत्तर मागे । क्षणभरमै प्रश्नका उत्तरहरू फोटोमार्फत समूहमा पठाए । त्यसको स्क्रिनसट सार्वजनिक भएको छ । त्यसले थप पोल पनि खुलेको छ । ‘सुलभ सर’ले परीक्षाअघि नै परीक्षामा सोधिने प्रश्नहरू भनेको तथ्य बाहिरिएको छ ।
एक जना परीक्षार्थीले ह्वाट्सएपमै लेखेका छन्, ‘आज पनि तपाईंले भन्नुभएकै आयो । तर, मैले बिर्सें ।’ सुलभ सर झनै हौसिँदै भन्छन्, ‘इकोको पनि दिन्छु, राम्रोसँग हेर्नुहोला ।’ समूहमा रहेका एक परीक्षार्थीले खुसी हुँदै भन्छन्, ‘हामी जब होल्डर्सका लागि बेस्ट ग्रुप भयो यो त । सेलेक्टिभ क्वेस्चन्स पढ्दा पनि आज ९५ गरेँ मैले ।’ यो संवादले प्रश्नपत्र र सम्भावित ‘गेस पेपर’बीचको सम्बन्धबारे पनि प्रहरी अनुसन्धान आवश्यक रहेको देखाउँछ । अर्कोतर्फ यो तथ्यले छनोट गरिएका प्रश्न उपलब्ध गराउने नियमित अभ्यास भइरहेकोतर्फ आशंका उब्जाएको छ । जबकि, सामान्य प्रक्रिया अनुसार परीक्षा केन्द्रमा प्रश्नपत्र सिलबन्दी अवस्थामा पठाइन्छ । परीक्षा सुरु हुनुअघि केन्द्राध्यक्षको रोहवरमामात्रै खोलिन्छ । त्यसपछि परीक्षार्थीलाई वितरण गरिन्छ ।

तर, परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा पुग्नुले सुरक्षा प्रणालीको कुनै न कुनै तहमा गम्भीर कमजोरी भएको देखाउँछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपशमशेर जबराले अनुसन्धानको मुख्य विषय नै प्रश्नपत्र ‘सुलभ सर’सम्म कसरी पुग्यो ? भन्नेमै केन्द्रित रहेको बताए ।
उनले प्रभावसँग भने, ‘हामी अहिले अनुसन्धानमै छौं । तर, प्रारम्भिक अनुसन्धानमा सुलभ सर भन्नेले ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र र उत्तर पठाएको देखिएको छ । तर, उहाँले प्रश्नपत्र कसरी पाउनुभयो भन्ने विषयमा हाम्रो अनुसन्धान केन्द्रित छ ।’ प्रारम्भिक अनुसन्धानपछि प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका-११ घर भई भक्तपुर बस्ने ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको छ । उनी कोटेश्वरस्थित हिमालयन कलेज र काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारमा फाइनान्स विषय अध्यापन गर्ने शिक्षक रहेको प्रहरीले जनाएको छ ।
सिआइबीले सिंहविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान अघि बढाएको छ । सुरूमा दुई जनालाई नियन्त्रणमा लिइए पनि एक जनाको संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको सिआइबीले जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएपछि त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले साइबर ब्युरोलाई औपचारिक पत्राचार गरेको थियो । त्यहाँ भनिएको छ, ‘एमबिएस प्रथम सेमेस्टरको अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा साझा भएको विषयमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
डिन कार्यालयले संलग्न व्यक्ति, संस्था र परीक्षा केन्द्र पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेको छ । घटनापछि व्यवस्थापन संकायले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा सहप्राध्यापक पुष्कर रैखला र सहप्राध्यापक महेशराज ओझा सदस्य छन् । समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
समितिका संयोजक ज्ञवालीले छानबिन सुरु भइसकेको बताए । सिआइबीसँग समन्वय गरेर विवरण संकलन गरिरहेका रहेको र सम्बन्धित परीक्षा केन्द्र पनि ट्र्याकिङ भइसकेको पनि उनको भनाइ छ । तर, छानबिन समितिमाथि नै प्रश्न उठ्न थालेको छ । परीक्षा केन्द्र निर्धारण गर्ने अधिकार डिन कार्यालयसँग हुने भएकाले प्रश्नपत्र चुहावटमा व्यवस्थापनपक्षकै कमजोरी हुनसक्ने आशंका कतिपयको छ । यससँगै डिन कार्यालयले गठन गरेको समितिले निष्पक्ष छानबिन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उठेको छ ।
घटना सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरेका थिए । उनले घटनालाई गम्भीररूपमा लिँदै दोषीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए ।
परीक्षा प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्ष गोपनीयता हो । परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र हजारभन्दा बढी सदस्य रहेको ह्वाट्सएप समूहमा पुग्नु सामान्य कमजोरी होइन । यस घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा व्यवस्थापन, प्रश्नपत्रको सुरक्षा प्रणाली, परीक्षा केन्द्रको निगरानी र डिजिटल माध्यमबाट हुने अपराध नियन्त्रणका विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।