काठमाडौं- ह्वाटएप्सबाट एमसबएसको प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रश्नपत्र आउट गर्नेलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए । त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ । प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा सञ्चालक समितिले निर्णय गरेको हो ।
अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ । उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
त्रिवि, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग समेत स्ववियले गरेको छ ।