- सबै माग सम्बोधन भएको भन्दै सिजेपीद्वारा आन्दोलन स्थगनको घोषणा
- आन्दोलनमा सहभागीहरुलाई घर फर्कन आह्वान
- विद्यार्थीहरूको हित र देशको एकता कायम राख्न आफूले राजीनामा दिएको शिक्षामन्त्री प्रधानको दाबी
काठमाडौं- भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा (निट-युजी) प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर चर्किएको आन्दोलनले राजनीतिक मोड लिएपछि संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । शनिबार उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
राजीनामापत्रमा प्रधानले विद्यार्थीहरूको हित र देशको एकता कायम राख्न आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘देशका युवा भ्रमको जालमा नफसून्, गैरराष्ट्रिय तत्वहरूले स्थितिबाट फाइदा नउठाऊन् र कुनै पनि प्रतिभाशाली विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस् भन्नका लागि मैले पदबाट हट्ने निर्णय गरेको हुँ ।’
शिक्षामन्त्री प्रधानले गत मे ३ मा भएको निट–युजी परीक्षामा अनियमितता भेटिएलगत्तै सरकारले सिबिआई छानबिन सुरु गरेको, परीक्षा रद्द गरी पुनः जुन २१ मा सफलतापूर्वक परीक्षा सञ्चालन गरेको दाबी गरे । आगामी वर्षदेखि निट परीक्षा कम्प्युटरमा आधारित (सिबिटी) मोडलमा गरिने निर्णय भइसकेको पनि उनले जानकारी गराए ।
शिक्षामन्त्रीको राजीनामापछि संविधान क्लबमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग सिजेपी प्रतिनिधिमण्डलको तेस्रो चरणको वार्ता भएको थियो । वार्तापछि सिजेपीका मुख्य प्रवक्ता सौरव दास र प्रवक्ता आशुतोष रांकाले पत्रकार सम्मेलन गरी आन्दोलन स्थगनको घोषणा गरे । परीक्षामा भएको धाँधली र मानसिक तनावका कारण आत्महत्या गरेका निट आकांक्षीका परिवारलाई नियम तथा कानुनअनुसार सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराइने भएको सिजेपीले जनाएको छ । सिजेपीले प्रतिपरिवार एक करोड रुपैयाँ माग गरेको थियो ।
यसैगरी जुलाई २० को ‘चलो संसद’ मार्च र दिल्लीलगायत भाजपा शासित राज्यहरूमा प्रदर्शनकारी विद्यार्थीमाथि दर्ता भएका सबै प्रहरी मुद्दा (एफआइआर) फिर्ता लिइने र तीन–चार दिनभित्र त्यसको प्रतिलिपि उपलब्ध गराइने सहमति भएको जनाइएको छ । सिजेपीले बुझाएको पाँच बुँदे मागपत्र तथा शैक्षिक–परीक्षा सुधारका दीर्घकालीन उपायहरूमाथि छलफल गर्न आगामी चार हप्तापछि पुनः अर्को चरणको वार्ता बस्ने भएको छ ।
आन्दोलन फिर्ताको घोषणा गर्दै सिजेपीका संस्थापक अभिजीत दिप्के र प्रवक्ता रांकाले जन्तर मन्तरमा उपस्थित हजारौं प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरे । सामाजिक सञ्जाल एक्समा ‘छात्र शक्ति जिन्दावाद’ लेख्दै सिजेपीले यो निर्णयलाई विद्यार्थी र लोकतन्त्रको जितको रूपमा व्याख्या गरेको छ । यस्तै, वातावरण तथा नागरिक अभियन्ता सोनम वाङचुकले पनि शिक्षामन्त्रीको राजीनामा र विद्यार्थीहरूको विजयलाई लोकतन्त्रको सुन्दर अभ्यास भनेका छन् ।
मे महिनामा सञ्चालन भएको स्नातक तहको चिकित्सा प्रवेश परीक्षा ‘निट-युजी’ को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि लाखौं परीक्षार्थीहरू सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ नामको अभियानपछि जन्तर मन्तरमा ३७ दिन लामो सत्याग्रह र देशव्यापी प्रदर्शनमा परिणत भएको थियो । सिजेपीले शिक्षामन्त्री प्रधानको राजीनामालाई आफ्नो मुख्य सर्त बनाएको थियो । सिजेपीको सुरुआत मुख्य न्यायाधीश सूर्य कान्तको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमार्फत भएको थियो ।