काठमाडौं- जल तथा मौसम विज्ञान विभागले प्रायः सबै जिल्लामा पानी परिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् विनु महर्जनले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले धेरै जसो जिल्लामा वर्षा भइरहेको जानकारी दिए।
“कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ”, महर्जनले भने । विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज राति मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।