काठमाडाैं - आज साउन १,जुलाई १७, २०२६ साँझ खगोल प्रेमीहरूले वर्षकै दुर्लभ खगोलीय दृश्य अवलोकन गर्ने अवसर पाउने भएका छन्। बुध (Mercury), शुक्र (Venus), बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus) र वरुण (Neptune) गरी छ वटा ग्रह साँझको आकाशमा एकै समयमा देखिने दुर्लभ खगोलीय घटना हुने भएको हो।
खगोलविद्हरूका अनुसार यी ग्रहहरू अन्तरिक्षमा वास्तवमै एउटै सीधा रेखामा हुने छैनन्। तर पृथ्वीबाट हेर्दा सूर्यको परिक्रमा गर्ने काल्पनिक मार्ग ‘एक्लिप्टिक’ (Ecliptic) वरिपरि एकै दिशामा देखिने भएकाले ग्रहहरू एउटै रेखामा उभिएझैँ देखिनेछन्।
यस घटनामा बुध, शुक्र, बृहस्पति र शनि नाङ्गो आँखाले पनि हेर्न सकिने अपेक्षा गरिएको छ। तर अरुण र वरुण ग्रह हेर्न भने दूरबिन वा सानो टेलिस्कोप आवश्यक पर्ने खगोलविद्हरू बताउँछन्। विशेषज्ञहरूका अनुसार सूर्यास्तपछि पश्चिमी तथा दक्षिणपश्चिमी आकाश खुला रहेको स्थानबाट प्रकाश प्रदूषण कम भएको क्षेत्रमा यो दृश्य अझ स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ। मौसम सफा भएमा नेपालबाट पनि यो दुर्लभ ग्रहहरूको जमघट देख्न सकिने सम्भावना रहेको छ।
यस्ता बहुग्रहीय दृश्यहरू बारम्बार नदेखिने भएकाले खगोलप्रेमीका लागि यो विशेष अवसर मानिएको छ। ग्रहहरू वास्तवमा एकअर्काबाट करोडौं किलोमिटर टाढा रहे पनि पृथ्वीबाट हेर्दा एउटै दिशामा देखिने भएकाले यसलाई ‘प्लानेटरी एलाइनमेन्ट’ (Planetary Alignment) भनिन्छ।
खगोलविद्हरूले यस्तो दृश्यले ब्रह्माण्डको गतिशील संरचनाबारे बुझ्न तथा सर्वसाधारणमा खगोल विज्ञानप्रति रुचि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। मौसम अनुकूल भएमा शुक्रबार साँझको आकाश वर्षकै सबैभन्दा आकर्षक खगोलीय दृश्यमध्ये एक बन्ने अपेक्षा गरिएको छ।