काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको भन्दै लगानीकर्ताहरूलाई सचेत रहन आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन एक अपिल जारी गर्दै सचिवालयले नियमनकारी निकाय कब्जा गरेर बजारमा वितण्डा मच्चाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको स्पष्ट पारेको हाे ।
नयाँ सरकार बनेयता सेयर बजारमा भइरहेको गिरावट र लगानीकर्तामा देखिएको आक्रोशलाई सम्बोधन गर्दै सचिवालयले बजारको अवस्था ठिक नभएको भनी गलत भाष्य निर्माण गर्न खोजिएको दाबी गरेको छ। सचिवालयले भारतका कुख्यात सेयर कारोबारी हर्षद मेहताको प्रसंग उल्लेख गर्दै नेपालको सेयर बजारमा पनि त्यस्तै प्रवृत्ति देखाउनेहरूमाथि कारबाही सुरु भएको संकेत गरेको छ।
’नियमनकारी निकायबाट सेयर बजार सुधारका कदमहरू सञ्चालन गर्न योजनाबद्ध कामहरू अघि बढेका छन्,’ सचिवालयको भनाइ छ, ’सेयर बजारमा नियमनकारी निकाय कब्जा गरेर हर्षद मेहता (सन् १९९१, बम्बै) जस्तै वितण्डा मच्चाउनेहरू अनुसन्धानको फन्दामा परेका छन्।’