चितवन- चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २१६ जना चितवन र बाँकी ५८ जना अन्य जिल्लाका रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेंगु देखिएको उनले बताए ।
भरतपुर महानगरपालिकाका ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकाका २१ जना, कालिका नगरपािलकाका ११ जना, माडी नगरपालिकाका तीन जना र इच्छाकामना गाउँपालिकाका तीन जनामा डेंगुको सङ्क्रमण देखियो । गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो । १७ हजार ३५३ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको केसीले बताए । सो आर्थिक वर्षमा डेंगुका कारण एक जनाको मृत्यु भएको थियो ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ र असोजमा डेंगु रोग बढी देखिने गरेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग सर्ने चिकित्सक बताए । उक्त लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने केसीले जानकारी दिए । उक्त लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने उनको भनाइ छ ।
डेंगु लागेपछि आँखाको गेडी तथा टाउको, शरीर, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने तथा शरीरमा बिबिरा आउने रक्तस्राव हुने र उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्छ । डेंगु ज्वरोबाट बच्नु लामखुट्टेको टोकाइबाट जोगिन पर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताए ।