काठमाडौं - प्राकृतिक प्रकोपको सूचना सम्प्रेषणका लागि नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपको सूचना सम्प्रेषणका लागि नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको हाे ।
यस सम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा.अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस प्रकारको एसएमएस प्रवाह विगतदेखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवैजनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरे । उनीहरूले भविष्यमा समेत यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सम्झौताअनुसार, देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद् सम्बन्धी प्रकोप तथा विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएस मार्फत पठाइने छ ।
यसअनुसार, वर्षा, हावाहुरी, चटयाङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोट र डढेलो जस्ता प्रकोपहरूको पूर्वसूचना पठाइने छ । विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरु तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरूका एसएमएस पोलिगनहरू जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने छ । सम्झौता अनुसार पश्चिम राप्ती, कन्काई, कोसी, वाग्मती, नारायणी, बबई, कर्णाली, महाकालीलगायत नदी तटीय क्षेत्र र अन्य स्थानीय तहको नक्सा वा जिल्लागत नक्सा वा आकस्मिक बाढी सम्भावित क्षेत्र वा उपयुक्त कुनै वेसिनको नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराइने छ ।
त्यसैगरी प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभावस्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा, विभिन्न स्थानका कुनै विशेष भूभाग समेटिएको नक्सा र अन्य उपयुक्त नक्सा समेत उपलब्ध गराइने छ । यस सम्बन्धी एसएमएस सेवा नेपाल टेलिकमले विगतदेखि नै निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपाल टेलिकमले पहिलेदेखि नै ७०० वटा सिम उपलब्ध गराइरहेकोमा अब थप १०० वटा समेत गरी ८०० वटा डाटा सहितको सिम निःशुल्क उपलब्ध गराउने छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग मार्फत विगत २०७३ साल देखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको छ ।