काठमाडौं- नेपाल आयल निगम लिमिटेडले बजारमा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न आग्रह गरेको छ।निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको जनाएको हाे ।
निगमका अनुसार २०८३ असार २९ गतेदेखि लागू हुने गरी उद्योगी व्यवसायीमार्फत १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय भइसकेको र बजारमा नियमित आपूर्ति भइरहेको छ।विज्ञप्तिअनुसार भारतका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट लोडिङको अवस्था सुधार भएसँगै उपभोक्ताको मागअनुसार १४.२ केजी क्षमताको सिलिन्डर नियमित रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। निगमले २०८३ असार २९ गते बसेको सञ्चालक समितिको बैठकबाट ग्यासको खुद्रा मूल्य २ हजार ५० रुपैयाँ कायम गरेको उल्लेख गरेको छ।
त्यस्तै, केही समयका लागि ५.१ केजी क्षमताको सिलिन्डर उपलब्ध नहुने भएकाले हाल बजारमा रहेका ५.१, १४.२ र १९ केजी क्षमताका सिलिन्डर बिक्री–वितरण भइरहे पनि आगामी तीन वर्षभित्र चरणबद्ध रूपमा ५.१ केजी सिलिन्डर बजारबाट हटाइने तयारी गरिएको निगमले जनाएको छ।
निगमले भारतीय आयल कर्पोरेसन लिमिटेडबाट एलपी ग्यासको आयात निरन्तर भइरहेकाले बजारमा अभाव नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक भण्डारण नगर्न विशेष अनुरोध गरेको छ।