काठमाडौं - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री समेत रहेका आचार्यले सरकारको जस्तै संसद्को समीक्षा गर्ने प्रस्ताव राखेका हुन् ।
“सामान्यतया, सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ । संसद्को हकमा चाहिँ ‘हनिमुन पिरियड’ भनेर सुनेजस्तो लाग्दैन । खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ,” उनले भने ।
उनले थपे, “संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे ? संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ? सांसदहरूको प्रस्तुति कस्तो रह्यो ?”