काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधको मुद्दामा दोषी ठहर भएकाहरुलाई सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका दोषीहरुमाथि कैद सजाय र जरिवाना तोकेको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दाको पूर्ण फैसला सुनाउँदै रायमाझीलाई चार वर्ष कैद सजाय ४० हजार रुपैयाँ जारिवाना तोकेको छ । उनलाई सरकारी लिखत किर्तेमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, ठगीमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्य विरुद्धको कसुर दफा ५१ (४) एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुर दफा ५१(७) तर्फ छ महिना थप कैदसहित एकीकृत सजाय चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
रायमाझीले तीन वर्ष दुई महिना थुनामा बसिसकेका छन् । त्यसैले अब बाँकी १० महिना कैद भुक्तानी गरेपछि उनी थुनामुक्त हुने भएका छन् । रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसैले उनी निरन्तर जेलमै छन् । भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा ‘जेल ब्रेक’ हुँदा रायमाझी १५ दिनजति बाहिर बसेका थिए । पछि आफैं फिर्ता भएका थिए ।
रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे र अरू सात जनालाई पनि चार वर्ष कैद र ४० हजार रुपैयाँ कैद सजाय तोकिएको छ । यसरी सजाय पाउनेमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा, डा. इन्द्रजित राई, आङटावा शेर्पा रहेका छन् । अघिल्लो मंगलबार (२१ असार) उनीहरुलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
अदालतले कसुरअनुसार कैद र जरिवाना भनी अलग–अलग सजाय तोके पनि जुन कसुरमा सबभन्दा बढी कैद सजाय तोकिएकोलाई आधार बनाएर अन्य कसुरको थप कैद जोडेर एकीकृत सजाय निर्धारण गर्ने गर्छ । सोहीअनुसार एकीकृत फैसलालाई अन्तिम सजाय मानिन्छ ।पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई यो मुद्दामा मतियार ठहर गर्दै दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ । यसअघि उनी सात महिनाजति थुनामा बसेका थिए । त्यतिबेला अदालतले उनलाई धरौटीमा छोडेको थियो । उनी थुनामा बसेको अवधि कटाएर बाँकी अवधि जेल बस्नुपर्ने छ । जसअनुसार उनी अब एक वर्ष पाँच महिना जेल बस्नुपर्ने छ । यो हिसाबले खाँणभन्दा पहिले रायमाझी थुनामुक्त हुने देखिन्छ ।
खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी ठगीको धन्धा चलाउने, चलाइरहेका व्यक्तिहरुलाई प्रत्यक्ष सहयोग पुग्नेगरी नीति निर्माण तहमा रहेर कार्य गर्ने काममा प्रतिवादी टेकनारायण पाण्डे संलग्न रहेको देखिन आयो । यसरी प्रतिवादीहरुमध्ये केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीले वादी नेपाल सरकारको अभियोग मागदाबीबमोजिम आरोपित ठगी तथा संगठित अपराधको कसुर गरेको ठहर्छ,’ असार २३ गते जारी आदेशमा भनिएको छ ।
यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ । हज समितिका पूर्वअध्यक्ष शमशेर मियाँलाई भने संगठित ठगीको ‘मतियार’ (सहयोगी) ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
यस्तै यो प्रकरणमा हाइप्रोफाइल सेटिङ मिलाएको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । झाले सरकारी लिखत किर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको भन्ने दाबी नपुगेकोले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । २०८१ असार १४ गते पक्राउ परेका झा त्यसयता पुर्पक्षका लागि सुन्धारा कारागारमा छन् ।
इन्द्रजित राई अब दुई महिना कैद बसे पुग्ने
भुटानी शरणार्थी प्रकरणमा मुछिएका राईलाई एकीकृततर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ । ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना, सोही कसुरमा थप छ महिना कैद तोकिएको हो ।
राईको हकमा उनी ७५ वर्ष नाघेकाले उनको ७५ प्रतिशत सजाय छुट हुने अदालतले उल्लेख गरेको छ । अब उनले दुई महिना १३ दिन कैद र जरिवाना भुक्तान गरे पुग्ने छ । उनी पुर्पक्षका लागि थुनामै छन् । उनले तीन वर्ष दुई महिना १० दिन सजाय भुक्तान गरिरसकेका छन् । बाँकी नौ महिना २० दिन कैदको हकमा छुट हुने छ । उनले सात महिना सात दिन कैद छुट पाउने फैसलामा उल्लेख छन् ।
सात जनाले पाएका थिए सफाइ
जिल्ला अदालत काठमाडौंले यो मुद्दामा प्रतिवादीमध्ये सात जनालाई सफाइ दिएको थियो । यसरी सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । सन्दीप पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा हुन् भने प्रतीक पूर्वगृहमन्त्री एवं एमाले नेता रामबहादुर थापाका छोरा हुन् ।
जिल्ला अदालतको यो फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरवेदन गर्न पाउने छन् । ३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन् । अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो ।
नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ ।
कसलाई कति सजाय ?
टोप बहादुर रायमाझी - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
बालकृष्ण खाँण - २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
टेक नाथ रिजाल - २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
केशव प्रसाद दुलाल - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
सानु भण्डारी - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
सागर राई - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
सन्देश शर्मा - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
डा. इन्द्रजित राई - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
गोविन्द भन्ने गोविन्द कुमार चौधरी - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
आङटवा शेर्पा - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
टेक नारायण पाण्डे - ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
नरेन्द्र के.सी. - १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
शमशेर मिया- १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
हरीभक्त महर्जन - १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
निरञ्जन कुमार खरेल - १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना |