काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुमवासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसद सन्दीप रानाले भने, “मल नपाएर हाहाकार भएको छ, रेबीज र क्यान्सरका बिरामी उपचार नपाएर अलपत्र छन्, बालबालिका कुपोषणका शिकार भएका छन्, युवाहरु विदेश पलायन भएका छन् । यसमा सरकारको ध्यान जाओस् ।” सांसद अर्जुनकुमार कार्कीले लोकतन्त्रका लागि लडेका प्रतिपक्ष र सत्तापक्ष दुवैले कानुन र विधिलाई आत्मसाथ गर्नुपर्ने बताए । सांसद गोपाल शर्माले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे । सांसद आरेन राइले सरकारले सुकुमबासी समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने माग गरे ।
सांसद खुश्बु ओलीले कीर्तिपुरको जलन अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताइन्।सांसद राजकिशोर महतोले मुलुकलाई आत्मनिर्भर बनाउन हर्बल सामाग्रीको बजारीकरण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद रिना उप्रेतीले सोमबार सञ्चार गृहका प्रवेशद्वार अगाडी गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष रुपमा छानवीन गर्न सरकार समक्ष माग गरे। सांसद विष्णुमाया विकले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताइन् । सांसद गणेशबहादुर विश्वकर्माले सरकारले सय दिनको अवधिमा गरेका काम उल्लेखनीय भए पनि अझै जनअपेक्षा अनुसार काम गर्न बाँकी रहेको बताए ।
सांसद पुकार बमले बुढानिलकण्ठ क्षेत्र पहिरोको जोखिममा रहेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाको नीति अपनाउन सरकारसँग आग्रह गरे । सांसद एसुदाकुमारी बरालले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बाढी/पहिरोबाट जनधनको क्षति भएकाले प्रभावितको उद्धारका साथै राहत उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गराइन् ।
सांसद कृष्णहरि बुढाथोकीले भने, “कुन कुन सडक सञ्चालनमा छन्, कुन सडकमा पहिरो गएको छ, कुन ठाउँमा पुल र सडकखण्ड असुरक्षित छ, कुन मार्गमा सवारीसाधन सञ्चालन गर्न उपयुक्त छ, त्यसबारे सरकारले समयमै जानकारी दिने व्यवस्था मिलाउनुपर्छ ।”
सांसद खगेन्द्र सुनारले जातीेय विभेद र हिंसाका घटनाबारे सरकारको ध्यान जाओस् भने । सांसदहरु लिमा अधिकारी आचार्य, गणेश कार्की, समीक्षा बाँस्कोटा, गणेश पौड्याल र बशुमाया तामाङ, झविलाल डुम्रे, श्रीधर पोखरेल, सुशान्त वैदिक, हरिप्रसाद भुषाल, जनकसिंह धामी, यज्ञमणि न्यौपानेलगायतले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।