काठमाडौं- सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले सम्हाल्दै आएका थिए। सरकारले अध्यादेशमार्फत प्रेस काउन्सिलसम्बन्धी कानुनी व्यवस्था संशोधन गरेपछि अध्यक्षसहित काउन्सिलका सबै पदाधिकारी पदमुक्त भएका थिए।
नवनियुक्त अध्यक्ष श्रेष्ठ लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सञ्चार क्षेत्रको अनुभव र व्यावसायिक पृष्ठभूमिका कारण उनको नियुक्तिलाई प्रेस काउन्सिलको नेतृत्वमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।प्रेस काउन्सिल नेपाल प्रेस तथा प्रकाशन क्षेत्रको स्वनियमन, पत्रकार आचारसंहिताको कार्यान्वयन, प्रेस स्वतन्त्रताको संरक्षण तथा जिम्मेवार पत्रकारिताको प्रवद्र्धन गर्ने संवैधानिक निकाय हो।
सरकारको निर्णयसँगै प्रेस काउन्सिल नेपालको नेतृत्वले पूर्णता पाएको छ। अब नयाँ नेतृत्वले प्रेस आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सञ्चार माध्यमको अनुगमन तथा जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।