दमौली- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । भानु नगरपालिका-१ र बन्दीपुर गाउँपालिका-४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए ।
प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए ।
“यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।” भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पुल निर्माण पछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताए ।