- आत्मदाहका तीन घटनामा दुईको मृत्यु
- एक जनाको गम्भीर अवस्थामा उपचार जारी
- मृतकहरू गणेश नेपाली र आश्विन राउत
- उपचाररत विवेक मण्डल
- गणेशको आत्मदाह प्रकरणलाई लिएर प्रदर्शन
काठमाडौं- पछिल्ला तीन दिनमा देशका विभिन्न स्थानमा तीनवटा आत्मदाहका घटना भए । बिहीबारदेखि शनिबारसम्म भएका आत्मदाहका घटनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक युवकको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
पछिल्लोपटक शनिबार बिहान काठमाडौंको बुद्धनगरमा आश्विन राउतले आत्मदाहको प्रयास गरे । ४५ वर्षीय उनले घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए । प्रहरीले तत्काल उद्धार गरेर वीर अस्पताल पुर्याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उनले आत्मदाह किन गरे भन्ने कारण भने अझै खुल्न सकेको छैन । प्रहरीले भने घटनाको अनुसन्धान थालेको छ । शुक्रबार सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन् । उनको कीर्तिपुरको बर्न अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ । ‘अवस्था क्रिटिकल छ । आइसियूमा उपचार हुँदै छ । ८५ प्रतिशत जलेको छ । सबै घाउ गहिरो छ,’ उनले भने ।
२५ वर्षीय विवेकले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । घरबाट करिब २०० मिटर टाढा गएर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका उनलाई हेलिकप्टरमार्फत शुक्रबार साँझ काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका निर्देशक नकर्मीका अनुसार मण्डलको शरीरको ८५ प्रतिशत भाग गहिरोसँग जलेको छ । उनको अवस्था अत्यन्त गम्भीर रहेकाले आइसियूमा उपचार भइरहेको छ ।
आत्मदाह घटनाको शृंखला बिहीबार काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भयो । मुगुको सोरु गाउँपालिका-१ का गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर अवस्थामा उनको वीर अस्पताल लगेर उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रबार उनको निधन भयो । वीर अस्पतालमा शव सुरक्षित राख्ने मर्चरी फ्रिज नभएकाले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
गणेशका आफन्तले काठमाडौं महानगर प्रहरीसँग भएको विवादका कारण उनी आत्मदाह गर्न बाध्य भएको आरोप लगाएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । सरकार र परिवारबीच शुक्रबार र शनिबार भएको अनौपचारिक वार्ताबाट पनि कुनै सहमति जुट्न सकेन ।
यता, नेपालीको मृत्युको विरोधमा शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन भयो । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । उनीहरूले सरकार र सत्तारुढ दलविरुद्ध नाराबाजी गरेका थिए । सम्भावित अप्रिय अवस्था हुन नदिन अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।