काठमाडौं- नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनालाई सरकारले सत्यतथ्य छानविन गरी अन्याय हुन नदिने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपा सांसद खरेलले आत्मदाहपछि भएको गणेश नेपालीको मृत्युले आफूहरु सबैलाई दुीखत बनाएको बताए ।
यो घटना जसरी भयो, सरकारले यसलाई गम्भिर रुपमा लिने र राम्रोसँग छानविन गर्ने, यसको गहिराईसम्म पुगेर यसको सत्यतथ्य पत्ता लगाएर उनी र परिवारमाथि सरकारले अन्याय हुन नदिने विश्वास व्यक्त गरे । सांसद खरेलले दिनमा १८ जना मानिस कुनै न कुनै कारणले मरिरहेको बताए ।
कसैले विष पिउने, कसैले हामफाल्ने र कसैले झुण्डिएर आत्महत्या गर्ने गरेको बताउँदै हरेक मृत्यु आफूहरुका लागि पीडादायी भएको बताएका छन् । उनले वर्षमा सात हजार मानिसले आत्महत्या गरिरहेको तथ्यांक आफूहरुसँग रहेको बताउँदै सांसद खरेलले तीन करोड नेपाली जनतामध्ये ७० लाख बढीले कुनै न कुनै मानसिक समस्या व्यहोरी रहेको समेत बताएका छन् । उनले अब सरकारले नीति, नियम, कानुन र संरचनाहरुमा होश पुर्याउनु पर्ने बताएका छन् ।