काठमाडाैं- एमाले सांसद भूमिका लिम्बु सुब्बाले राष्ट्रियता र सीमा सुरक्षाको सवालमा सरकार गम्भीर नभएको बताएकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले बताएकी हुन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति र छिमेकी मुलुकबाट भइरहेका अवाञ्छित गतिविधिप्रति सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाइन् ।
जेठ १७ गते प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको निरन्तर विरोध गर्दै सुस्ता र दार्चुलामा भइरहेका हस्तक्षेपबारे सरकारको जवाफ माग गर्दै उनले भनिन्, ‘सुस्तामा भारतीय सीमा सुरक्षा बल पूर्वसूचना बिना प्रवेश गरेको छ र दार्चुलाको आकाशमा भारतीय सैनिक हेलिकप्टरले नेपालको अनुमति बिना उडान भरेको छ । ’
अन्तर्राष्ट्रिय कानुनको यो गम्भीर उल्लंघनबारे सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ कि छैन ? छ भने जवाफ के आयो र छैन भने किन पठाइएन भनी उनले सरकारलाई प्रश्न गरिन् ।