काठमाडौं- आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि वीर अस्पताल परिसर तनावग्रस्त बनेको छ।
नेपालीको मृत्युको खबर सार्वजनिक भएसँगै अस्पताल परिसरमा उपस्थित केही युवाले विरोध प्रदर्शन गरेका छन्।
आफूहरू मुगुका स्थानीय युवा भएको परिचय दिँदै उनीहरूले घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले लिनुपर्ने र पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारको गैरजिम्मेवारीका कारण यस्तो दुःखद घटना भएको आरोप लगाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका थिए।
विरोध प्रदर्शनका कारण केही समय अस्पताल परिसर तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय अवस्था रोक्न नेपाल प्रहरीले वीर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारेको छ। अस्पतालका मुख्य प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रदर्शन भने शान्तिपूर्ण रूपमा जारी रहेको र अस्पतालको सेवा–प्रवाहलाई असर नपर्ने गरी सुरक्षा व्यवस्थापन गरिएको जनाइएको छ।