काठमाडौं - त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार नेपालीको उपचारको क्रममा निधन भएको हो ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका नेपालीको वीर अस्पतालको उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीबार दिउँसो ३ बजे राहदानी विभाग बाहिर आफूमाथि पेट्रोल खन्याएर आगो लगाएका नेपालीलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइएको थियो । वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको वीर अस्पतालले जनाएकाे छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।
अस्पताल प्रशासनले भने उनकाे निधनबारे जानकारी दिएको छैन । घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरप्रहरीका ३ जना नगर प्रहरीलाई भद्रकालीमा बाेलाइएकाे छ ।