धनकुटा - अविरल वर्षापछि धनकुटा-पाँचथर सीमास्थित नावा खोलामा आएको बाढीले तमोर कोरिडोर प्रभावित बनेको छ। खोलामाथिको सडक डुबानमा परेपछि धरान-धनकुटा-पाँचथर-ताप्लेजुङ सडकखण्डमा साना तथा यात्रुवाहक सवारी सञ्चालन रोकिएको छ भने ठूला मालवाहक सवारी आंशिक रूपमा सञ्चालनमा आएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार चौविसे गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिकाको सीमास्थित नावा खोलामा पानीको सतह ह्वात्तै बढेपछि सडक अवरुद्ध भएको हो। लगातार वर्षा भइरहेकाले सडक खुलाउने काम प्रभावित भएको प्रहरीले जनाएको छ।
प्रहरीले नदीको बहाव अझ बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दा तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ। पानीको सतह घटेपछि सडकको अवस्था मूल्यांकन गरी यातायात पूर्ण रूपमा सञ्चालन गरिने जनाइएको छ।