काठमाडाैं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजीक्षेत्र, उद्योगी व्यवसायीलाई विश्वासमा लिने प्रयास गरेका छन् । आगामी आर्थिक वर्षको बजेटसँगै मौद्रिक नीति सार्वजनिक भएलगत्तै निजीक्षेत्रका व्यवसायीहरूलाई सिंहदरबार डाकेर छलफल गरेका प्रधानमन्त्री बालेनले उद्योग व्यवसायीलाई नियन्त्रणमा लिने सरकारको कुनै उद्देश्य नभएको बताएका छन् ।
बैठकको छफलफलबारे जानकारी दिँदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भने, ‘निजी उद्योग व्यवसायीलाई पक्रिने, धरपकड गर्ने सरकारको कुनै नीति नभएको प्रधानमन्त्री ज्यूले बताउनु भएको छ ।’ यसअघि कहिल्यै पनि यसरी उद्योगी व्यवसायीलाई पक्रिने, थुन्ने नगरिएकोमा बालेन नेतृत्वको रास्वपा सरकार आएपछि निजीक्षेत्रमाथि सरकारले अप्रेशन नै चलाइरहेकोप्रति छलफलमा उद्योगी व्यवसायीहरूले बहस उठाएका थिए ।
जवाफमा प्रधानमन्त्री बालेनले यसरी उद्योगी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने सरकारको कुनै उद्देश्य, नीति र नियती नभएको तर कानुनी प्रावधानहरूका कारण मात्र नियन्त्रणमा लिनुपरेको बताएका अध्यक्ष अग्रवालले जानकारी दिए । साथै प्रधानमन्त्रीसँगको छलफलमा निजीक्षेत्रले व्यवसायिक वातावरण बनाउन सुझाव दिएको बताउँदै उनले सरकारी खर्च पुँजीगत खर्च बढाउन अनुरोध गरेको पनि जानकारी दिए ।