काठमाडाैं - प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै स्थगित भएकाे छ । प्रतिनिधि सभाका सभामुख डाेलप्रसाद अर्यालले १५ मिनेटका बैठक लागि स्थगित भएकाे जनाएका हुन् ।
नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सभामुखलाई तपाईं कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए ।
सांसद राईले आफ्नो अपमान गरेको भन्दै सभामुखले उनलाई बोल्न समय दिएनन् । उनले राईलाई भने, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुहोला । माननीय सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिन्नँ, बस्नुस् । माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ । त्यसकारणले बस्नुस् ।’
सभामुखले बोल्न नदिएपछि एमालेका सांसद उठेर विरोध जनाइरहे । सांसद राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद ज्वाला संग्रौलाले पनि आपत्ति जनाइन् । उनले सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।