रौतहट - जिल्ला हुलाक कार्यालय रौतहटले हुलाक सेवालाई थप छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत हल्काराहरूलाई साइकल वितरण गरेको छ । आइतबार जिल्ला हुलाक कार्यालय रौतहटको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख देवनाथ यादवले १२ वटा स्थानीय तहमा कार्यरत १२ जना हल्कारालाई १२ थान साइकल हस्तान्तरण गरेका हुन् ।
कार्यालयले यस अभियानलाई कर्मचारीको कार्यक्षमता अभिवृद्धि, सेवा प्रवाहमा सहजता तथा हुलाक सेवाको गुणस्तर सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख यादवले नागरिकलाई समयमै र भरपर्दो हुलाक सेवा उपलब्ध गराउने उद्देश्यले साइकल वितरण गरिएको बताए ।
उनले भने, “हुलाक सेवामा खटिएका हल्काराहरूले गाउँ–गाउँ पुगेर सरकारी तथा व्यक्तिगत चिठीपत्र, सूचना र अन्य महत्वपूर्ण कागजात पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएका छन्। उनीहरूको कामलाई सहज, छिटो र प्रभावकारी बनाउन साइकल वितरण गरिएको हो ।“
उनका अनुसार पहिलो चरणमा जिल्लाका १२ वटा स्थानीय तहमा कार्यरत हल्काराहरूलाई साइकल उपलब्ध गराइएको हो । यसबाट सेवाग्राहीले समयमै हुलाक सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा बाँकी रहेका स्थानीय तहका हल्कारालाई समेत क्रमशः साइकल उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
कार्यालय प्रमुख यादवले आधुनिक सूचना प्रविधिको विकाससँगै मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढे पनि हुलाक सेवाको आवश्यकता अझै समाप्त नभएको स्पष्ट परे। उनले भने, “आज डिजिटल प्रविधिको युग भए पनि सरकारी कार्यालयबीच हुने पत्राचार, कानुनी प्रक्रिया, न्यायिक सूचना, बैंकिङ तथा अन्य आधिकारिक कामका लागि सक्कली चिठीपत्र र कागजात अपरिहार्य छन् । त्यसैले हुलाक सेवाको महत्व आज पनि उत्तिकै रहेको छ । “उनले कर्मचारीको सुविधा, सेवाको गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर कार्यालयले विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
साइकल वितरणले हल्काराहरूलाई दुर्गम बस्ती तथा ग्रामीण क्षेत्रमा समेत सहज रूपमा पुग्न मद्दत पुग्ने र समयमै चिठीपत्र वितरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पहिलो चरणमा राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, कटहरिया नगरपालिका, मौलापुर नगरपालिका, बौधीमाई नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपालिका, ईशनाथ नगरपालिका तथा यमुनामाई गाउँपालिकाका हल्काराहरूलाई साइकल वितरण गरिएको कार्यालयले जनाएको छ ।
साथै बाँकी रहेका अन्य ६ वटा स्थानीय तहका हल्काराहरूलाई पनि आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा साइकल वितरण गरिने कार्यालय प्रमुख यादवले जानकारी दिए । साइकल प्राप्त गरेका हल्काराहरूले कार्यालयप्रति आभार व्यक्त गर्दै यसले आफ्नो दैनिक कार्यसम्पादनमा ठूलो सहजता ल्याउने बताएका छन् ।
उनीहरूले अब टाढाटाढाका गाउँमा समेत समयमै चिठीपत्र तथा सरकारी कागजात पुर्याउन सहज हुने, यात्रा खर्च र समयको बचत हुने तथा सेवा प्रवाह अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । जिल्ला हुलाक कार्यालय रौतहटका अनुसार साइकल वितरण कार्यक्रमले कर्मचारीको मनोबल बढाउनुका साथै हुलाक सेवालाई आधुनिक, छरितो र नागरिकको अपेक्षाअनुसार प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।