- त्रुटिपूर्ण नतिजा प्रकाशन गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा
- उत्तरपुस्तिका निःशुल्क हेर्ने व्यवस्था गर्न र पुनः परीक्षण शुल्क हटाउन माग
- विद्यार्थीको भविष्य खेलबाड गरेको भन्दै सरकारको विरोध
नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको होइन । आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।
सस्मित पोखरेल
शिक्षामन्त्री
काठमाडौं- कक्षा १२ को नतिजा समयभन्दा छिटो सार्वजनिक भएको भन्दै सरकारले त्यसलाई उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका बेला नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरू भने सडकमा उत्रिएका छन् । आफूहरूले अपेक्षा गरेभन्दा निकै कम ग्रेड प्राप्त गरेको, कतिपयलाई ननग्रेड (एनजी) आएको र उत्तरपुस्तिका परीक्षणमा त्रुटि भएको आशंका गर्दै विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षामन्त्री सस्मित पोखरेलमाथि प्रश्न उठाएका छन् ।
नतिजा सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा विरोध चर्किएको थियो । बिहीबार भने असन्तुष्ट विद्यार्थीहरू माइतीघर मण्डलमै प्रदर्शनमा उत्रिए । उनीहरूको आरोप छ- सरकारले छिटो नतिजा निकाल्ने नाममा उत्तरपुस्तिका परीक्षण र डेटा प्रविष्टिमा पर्याप्त सावधानी नअपनाउँदा हजारौँ विद्यार्थीको भविष्य जोखिममा परेको छ ।
बानेश्वरकी सीमा चन्द त्यही आक्रोश बोकेर माइतीघर पुगेकी थिइन् । विज्ञान संकायबाट कक्षा १२ उत्तीर्ण गरेपछि चिकित्सा शिक्षा अध्ययन गर्ने लक्ष्यसहित उनी एमबीबीएस प्रवेश परीक्षाको तयारीमा जुटेकी थिइन् । तर नतिजामा गणित र भौतिकशास्त्रमा एनजी आएपछि उनको सपना एकाएक संकटमा परेको छ ।
‘रातदिन नभनी मेहनत गरेर पढेँ । परीक्षा पनि राम्रो भएको थियो । ए प्लस नआए पनि बी प्लस आउला भन्ने विश्वास थियो,’ उनले भनिन्, ‘तर, दुई विषयमै एनजी आयो । मेरो परीक्षा त्यति खराब भएको थिएन । यो नतिजा कसरी आयो भन्ने नै बुझ्न सकेकी छैन ।’ सीमाले अन्य विषयमा समेत अपेक्षाभन्दा कम ग्रेड आएको बताउँदै सबै विद्यार्थीको उत्तरपुस्तिका निःशुल्क पुनः परीक्षण गर्न सरकारसँग माग गरिन् ।
‘आफ्नो कपी हेर्न र पुनः परीक्षण गराउन पनि ठूलो रकम तिर्नुपर्छ । गल्ती हाम्रो होइन भने किन हामीले पैसा तिर्ने ?’ उनले सोधिन् । उदयपुरकी एसिका कार्की पनि त्यही गुनासो लिएर माइतीघर पुगिन् । होटल मेनेजमेन्ट अध्ययन गरेकी उनले परीक्षा राम्रो भएको दाबी गरिन् । तर, नतिजा हात पर्दा अपेक्षाभन्दा निकै कम अंक आएको देखेपछि उनी स्तब्ध भइन् ।
उनले भनिन्, ‘मेहनतअनुसार नतिजा आएन । पुनः परीक्षण गराउन जाँदा एउटा विषयकै चार हजार पाँच सय रुपैयाँ लाग्ने रहेछ । घरमा पनि राम्रो नतिजा नआएको भन्दै गाली भयो । फेरि रिचेकिङका लागि पैसा माग्दा पनि दिनुभएन । अब मैले चाहेको विषय पढ्न नपाउने भएँ ।’ विद्यार्थीहरूको आरोप अंक कम आएकोमा सीमित छैन । उनीहरू परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न हतार गर्दा परीक्षण प्रक्रियामै त्रुटि भएको हुनसक्ने आशंका व्यक्त गरिरहेका छन् ।
सामाजिक सञ्जालमा पनि शिक्षामन्त्री सस्मित पोखरेलको आलोचना बढिरहेको छ । विद्यार्थीहरूले मन्त्रालयले नतिजा प्रकाशनलाई उपलब्धि भनेर प्रचार गरे पनि त्यसको गुणस्तर सुनिश्चित गर्न नसकेको आरोप लगाएका छन् । कतिपयले इन्स्टाग्राम, डिस्कोर्ड र रेडिटमार्फत मन्त्रीविरुद्ध अभियानसमेत चलाएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कक्षा १२ को नतिजामा एक लाख ४७१ विद्यार्थी ननग्रेड भएका छन् । यही तथ्यांकले पनि नतिजाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । यद्यपि बोर्डले भने उत्तरपुस्तिका परीक्षणमा कुनै लापरवाही नभएको दाबी गरेको छ । कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा छिटो सार्वजनिक गरिए पनि गुणस्तरमा सम्झौता नगरिएको बताए ।
‘छिटो नतिजा निकाल्न अन्तर्राष्ट्रिय अभ्यासमा कुनै सम्झौता गरिएको छैन,’ शर्मा भन्छन्, ‘गत वर्षसम्म केन्द्रीय रूपमा गरिने सम्परीक्षण यस पटक शाखा, कार्यालय र प्रदेश कार्यालयमार्फत गरिएको हो । नयाँ प्रविधिको प्रयोग गरिएको छ ।’ उनले केही मानवीय त्रुटि हुनसक्ने बताएपनि त्यसलाई प्रणालीगत समस्या भन्न नमिल्ने बताए । ‘विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने, पुनर्योग गर्ने र पुनः परीक्षण गराउने कानुनी व्यवस्था छ । विगतमा पनि पुनर्योगपछि दुई प्रतिशतभन्दा बढी नतिजा परिवर्तन भएको देखिएको छैन,’ उनले भने ।
शर्माका अनुसार प्रत्येक विषयका लागि उत्तरकुञ्जिका तयार गरिएको थियो र शिक्षकलाई तालिम तथा अभिमुखीकरण दिएर मात्रै उत्तरपुस्तिका परीक्षणमा खटाइएको थियो । तर, विद्यार्थीहरू बोर्डको यही तर्कबाट सन्तुष्ट छैनन् । उनीहरूका अनुसार यदि प्रक्रिया यति व्यवस्थित थियो भने ठूलो संख्यामा विद्यार्थीले नतिजाप्रति असन्तुष्टि जनाउनुको कारण के हो भन्ने प्रश्नको जवाफ बोर्डले दिन सकेको छैन ।
विवाद चर्किएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पनि सफाइ दिएका छन् । उनले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको दाबी गर्दै आवश्यक जनशक्ति थपेर र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर मात्रै नतिजा समयमै सार्वजनिक गरिएको बताए । ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको होइन,’ उनले भने, ‘मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भने ,‘आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।’ उनले नतिजा प्रक्रियाबारे उठेका प्रश्नहरूको अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरू सम्मिलित समिति गठन गरिएको जानकारी पनि दिएका छन् । समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको प्रमाणीकरण गर्ने बताइएको छ ।
यद्यपि, आन्दोलनरत विद्यार्थीहरू भने छानबिन समितिको घोषणाभन्दा पनि ठोस परिणाम चाहन्छन् । उनीहरूको माग छ कि सबै प्रभावित विद्यार्थीलाई निःशुल्क रूपमा उत्तरपुस्तिका हेर्ने व्यवस्था गरियोस् र पुनः परीक्षण शुल्क हटाइयोस् । नतिजामा त्रुटि भए त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ । कक्षा १२ को परीक्षाफल यही ५ असारमा सार्वजनिक भएको थियो । लगत्तै शिक्षामन्त्री पोखरेलले ४० दिनमा नतिजा प्रकाशन भएको भन्दै राष्ट्रिय परीक्षा बोर्डलाई धन्यवाद दिएका थिए ।