- उपत्यकाको पनि काँठ क्षेत्र सर्वाधिक प्रभावित
- बर्डफ्लु नियन्त्रणमा आएन
- कुखुरादेखि जंगली पक्षीदेखि कागसम्म मरे
- बर्डफ्लुको नयाँ भेरियन्ट उत्परिवर्तन भएको शंका
- छ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
- उपत्यकामा कुखुराको मासुको खपत घट्यो
- कुखुरापालक किसानलाई ठूलो क्षति
यसपटकको बर्डफ्लु संक्रमणको फैलावट, जंगली चरामासमेत देखिएको संक्रमण र नियन्त्रणका प्रयासपछि पनि देखिएको निरन्तरताले केही फरक संकेत गरिरहेको छ । अहिले हामी भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको छ कि छैन भन्ने विषयमा अध्ययन गरिरहेका छौं ।
उमेश दाहाल
महानिर्देशक, पशु सेवा विभाग
काठमाडौं- मुलुकमा फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएञ्जा) संक्रमणको इपिसेन्टर काठमाडौं उपत्यका भएको पाइएको छ । व्यावसायिक कुखुरापालन फार्मदेखि जंगली पक्षी र कागसम्ममा संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य अधिकारीहरू थप सतर्क बनेका छन् । संक्रमणको फैलावट, नियन्त्रणका प्रयास र अपेक्षाअनुसार कमी नआएको अवस्थाले पशु सेवा विभागलाई भाइरसमा नयाँ उत्परिवर्तन (म्युटेसन) वा नयाँ भेरियन्टको सम्भावनाबारे अध्ययन गर्न बाध्य बनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो बर्डफ्लु संक्रमण गत चैत ४ गते कोशी प्रदेशस्थित मोरङ जिल्लाका सुन्दरहरैंचा-४ र उर्लाबारी-८ मा पुष्टि भएको थियो । त्यसयता संक्रमण विस्तारै विभिन्न जिल्लामा फैलिँदै अन्ततः काठमाडौं उपत्यकालाई मुख्य केन्द्र बनाएको पाइएको हो । अहिले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संक्रमण पुष्टि भइसकेको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल देशभर देखिएका कूल संक्रमणमध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकामै केन्द्रित छ । संक्रमण नियन्त्रणका लागि सरकारी संयन्त्र परिचालन भए पनि अपेक्षाकृतरूपमा संक्रमण घट्न नसक्दा थप अनुसन्धान आवश्यक भएको उनले बताए ।
उनले प्रभावसँग भने, ‘यसपटकको बर्डफ्लु संक्रमणको फैलावट, जंगली चरामासमेत देखिएको संक्रमण र नियन्त्रणका प्रयासपछि पनि देखिएको निरन्तरताले केही फरक संकेत गरिरहेको छ । अहिले हामी भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको छ कि छैन भन्ने विषयमा अध्ययन गरिरहेका छौं ।’ त्यसका लागि जेनेटिक सिक्वेन्सिङ प्रक्रिया अघि बढाइएको उनले बताए । यसपटकको संक्रमणलाई अघिल्लो वर्षहरूमा फैलिएको प्रकोपभन्दा फरक बनाउने एउटा महत्वपूर्ण पक्ष भनेको जंगली पक्षी र विशेषगरी कागमा संक्रमण पुष्टि हुनु हो । काठमाडौंका विभिन्न स्थानमा मृत फेला परेका कागहरूको परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि संक्रमण वातावरणीय रूपमा पनि फैलिएको पशु स्वास्थ्य विज्ञहरू बताउँछन् ।
व्यावसायिक फार्मभित्र मात्र सीमित रहने संक्रमण खुला वातावरणमा रहेका पक्षीमासमेत देखिएपछि नियन्त्रण कार्य झनै जटिल बनेको छ । जंगली चराको आवतजावत नियन्त्रण गर्न नसकिने भएकाले भाइरस फैलिने जोखिम बढेको विभागको निष्कर्ष छ ।
डा. दाहालले भने, ‘फार्मभित्र जैविक सुरक्षा कडा बनाउन सकिन्छ । तर खुलारूपमा उड्ने चराचुरुंगी र कागहरूमा संक्रमण देखिएपछि जोखिमको दायरा फराकिलो हुन्छ ।’
काँठ क्षेत्र बढी प्रभावित
संक्रमणको भौगोलिक विश्लेषण गर्दा काठमाडौं उपत्यकाको सहरी केन्द्रभन्दा काँठ क्षेत्र र सहरोन्मुख बस्तीहरू बढी प्रभावित देखिएका छन् । विभागका अनुसार काठमाडौंको बुढानीलकण्ठ, गोकर्णेश्वर, शंखरापुर, टोखा, चन्द्रागिरि र कीर्तिपुर क्षेत्रमा संक्रमणको प्रभाव उल्लेख्य रहेको छ ।
भक्तपुरको सल्लाघारी, चाँगुनारायण र सूर्यविनायक तथा ललितपुरको गोदावरी र इमाडोल क्षेत्रमा पनि संक्रमण पुष्टि भएको छ । उपत्यकाबाहिर काभ्रेपलाञ्चोक र चितवनका केही व्यावसायिक फार्ममासमेत संक्रमण देखिएको छ । विभागका अनुसार यी क्षेत्रहरूमा व्यावसायिक कुखुरापालनसँगै स्थानीय रैथाने कुखुरा पाल्ने चलन बढी छ ।
हालसम्म संक्रमण नियन्त्रणका लागि भन्दै छ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट गरिएको विभागले जनाएको छ । दुई लाख सात हजार किलोभन्दा बढी दाना र फिड सामग्री नष्ट गरिएको छ । संक्रमण पुष्टि भएका फार्मलाई तत्काल सिल गरेर त्यहाँ रहेका सबै पक्षी तथा सामग्री वैज्ञानिक विधिबाट नष्ट गर्ने प्रक्रिया अपनाइएको छ ।
यो अभियानका कारण पोल्ट्री क्षेत्रले ठूलो आर्थिक क्षति बेहोरेको छ । संक्रमणको असर बजारमा देखिएको छ । यससम्बन्धी समाचार सार्वजनिक भएपछि कुखुराको मासुको खपत घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार काठमाडौं उपत्यकामा कुखुराको मासु खपत २० देखि ३० प्रतिशतसम्म घटेको छ । उनले काठमाडौं उपत्यकामा दैनिक ६० देखि ९० हजार किलोसम्म बिक्री हुने गरेकोमा अहिले निकै घटेको बताए ।
बर्डफ्लु पशुपक्षीबाट मानिसमासमेत सर्न सक्ने रोग मानिन्छ । यद्यपि, हालसम्म नेपालमा मानिसमा संक्रमण पुष्टि भएको कुनै घटना छैन । पशु सेवा विभागले कुनै फार्ममा संक्रमण पुष्टि हुनासाथ स्वास्थ्य मन्त्रालयलाई जानकारी दिने र प्रभावित क्षेत्रका मानिसहरूको स्वास्थ्य निगरानी गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।