- करको दर हेरफेरको प्रमाण ल्याउन विपक्षीलाई अर्थमन्त्रीको चुनौती
- प्रमाण ल्याए मन्त्री पदसँगै सार्वजनिक जीवन त्याग्ने दाबी
- विपक्षीहरूको विगतका काण्डबारे जानकार रहेको र खोल्ने चेतावनी
- बदनाम गर्न योजनाबद्ध भ्रमण फैलाइएको दाबी
- आर्थिक विधेयकमा कर्मचारीले टाइप गर्दा गल्ती गरेकाले सच्याइएको स्वीकार
- सुशासनमा निर्मम ढंगले अघि बढ्दा आफूमाथि हिलो छ्याप्ने काम भएको आरोप
काठमाडौं- आर्थिक विधेयकमा गरिएको संशोधन, करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी आरोपका कारण दबाबमा परेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध प्रश्न उठाउने सांसदहरूलाई कडा चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमै आक्रामक शैलीमा प्रस्तुत भएका उनले आफूमाथि औंलो ठड्याउने सांसदहरूका विगतका गतिविधि र विवादास्पद घटनाबारे आफूहरू जानकार रहेको भन्दै ती काण्ड पनि खुल्ने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले आफूविरुद्ध भ्रष्टाचार, कर चलखेल र अनियमितताका आरोप लगाउने सांसदहरूलाई नैतिकताको पाठ पढाउन खोज्दै भने, ‘...तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ छौं र ? ती पनि खुल्ने छन् ।’ संसद्को रोस्ट्रमबाट आएको यो अभिव्यक्तिलाई धेरै सांसदहरूले सामान्य राजनीतिक प्रतिवादभन्दा बढी चेतावनीको रूपमा बुझेका छन् । खासगरी बजेटअघिको जाँचपास पासको कागज बनाएर बजेटपछि बिवाइडी गाडी कोरला नाकाहुँदै ल्याइएको प्रकरणमा निरन्तर प्रश्न उठिरहेका बेला अर्थमन्त्री वाग्ले आफ्नो बचाउमा निरन्तर लागिरहेका छन् ।
केही दिनयता आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै प्रस्तुत गरिएको आर्थिक विधेयकमा पटक-पटक संशोधन गरिएको विषयले राजनीतिक वृत्त तातेको छ । विधेयकका फरक-फरक संस्करण सार्वजनिक हुनु, केही करका दर परिवर्तन भएको देखिनु र अर्थ मन्त्रालयको वेबसाइटबाट समेत एक दिन विधेयक गायब हुनुजस्ता घटनाले अर्थमन्त्रीमाथि शंका बढाएको छ । अर्थमन्त्री वाग्लेले पनि त्रुटि भएको स्वीकार गर्दै सच्याइएको बताएका छन् । तर, गल्ती आफूबाट नभई टाइप गर्नेबेला कर्मचारीले गल्ती गरेको भन्दै उनी पन्छिएका छन् ।
विपक्षी दलका सांसदहरूले यो विषयलाई गम्भीर अनियमितताको रूपमा प्रस्तुत गर्दै छानबिनको माग गरिरहेका छन् । संसद्मामात्रै होइन, प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति र सार्वजनिक लेखा समितिमासमेत अर्थमन्त्री वाग्लेले लगातार प्रश्नको सामना गर्नुपरेको छ । तर, ती प्रश्नको जवाफ दिने क्रममा वाग्लेले आफूमाथि लागेको आरोपलाई राजनीतिक प्रहारका रूपमा चित्रण गरे । उनले आफूलाई बदनाम गर्न योजनाबद्ध रूपमा भ्रम फैलाइएको दाबी गरे । उनले आफूमाथि लगाइएका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै कुनै पनि प्रकारको अनियमितता प्रमाणित भए तत्काल पद छाड्ने घोषणा पनि गरे ।

‘दुई अर्बको कुरा गरियो । दुई अर्ब होइन, दुई रुपैयाँको पनि बदमासी वा बेइमानी मबाट भएको प्रमाणित भए म मन्त्री पद त्याग्न तयार छु । सार्वजनिक जीवन नै त्याग्न पनि तयार छु,’ उनले चुनौती दिँदै भने, ‘यो नैतिक आँट ममाथि औंलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस् ।’ उनले आफूलाई आरोप लगाउने सांसदहरूलाई लक्षित गर्दै दिएको उक्त चेतावनीले थप विवाद चर्काएको छ । वाग्लेको भनाइले राजनीतिक वृत्तमा दुईवटा सन्देश दिएको विश्लेषण भइरहेको छ । पहिलो, ‘जो चोर, उसकै ठूलो स्वर’ प्रवृत्ति देखाउनु र दोस्रो, आफू कुनै पनि आरोपबाट डराएको छैन भन्ने देखाउन खोज्नु ।
संसद्मा उठेको विवादको केन्द्र आर्थिक विधेयकमा भएको संशोधन हो । एमाले सांसद डा. पुष्पराज कँडेलले अर्थ समितिमा विधेयक चारपटकसम्म परिवर्तन भएको विषय उठाएका थिए । उनले बजेट पेस भएपछि विभिन्न पृष्ठ संख्या भएका विधेयकका प्रतिहरू भेटिएको र एक दिन अर्थ मन्त्रालयको वेबसाइटबाट समेत विधेयक हटाइएकोबारे प्रश्न गरेका थिए । त्यसपछि अर्थमन्त्री वाग्ले झन् रक्षात्मक अवस्थामा पुगेका थिए । तर, बिहीबार भने उनले आरोपको प्रतिवादमात्र गरेनन्, आरोप लगाउनेहरूलाई नै आक्रोशित हुँदै जवाफ फर्काए ।
उनले विधेयकका पृष्ठ संख्या फरक देखिनुलाई ठूलो विषय बनाइएको भन्दै सञ्चारमाध्यम र आलोचकहरूमाथि समेत व्यंग्य गरे । ‘४५०-४६० पानाको डकुमेन्टमा कोलम अलिकति सार्दा पनि पृष्ठ तलमाथि हुन्छ,’ उनले भने । उनको यो अभिव्यक्ति पनि विवादित बनेको छ । कतिपयले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठेका बेला अर्थमन्त्रीले त्यसलाई प्राविधिक बहानामा टार्न खोजेको भन्दै टिप्पणी गर्न थालेका छन् । यद्यपि, करका दर हेरफेरको विषयमा पनि वाग्लेले आफ्नो बचाउ गरे । बजेट पेस भइसकेपछि केही करका दर परिवर्तन भएको विषय सार्वजनिक भएपछि पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि लागेको ‘कर चलखेल’ प्रकरणसँग यसको तुलना गरिएको थियो ।
तर, वाग्लेले आफूले कुनै व्यापारी वा समूहलाई फाइदा पुग्ने गरी निर्णय नगरेको दाबी गरे । उनका अनुसार रगत र भ्याक्सिन बोक्ने क्यारियरसम्बन्धी भन्सार दर सच्याउने क्रममा प्राविधिक त्रुटि सुधार गरिएको मात्र हो । तर, विपक्षी सांसदहरू यो व्याख्याबाट सन्तुष्ट छैनन् । उनीहरू आर्थिक विधेयकका विभिन्न संस्करण कसरी बने, कसले परिवर्तन ग¥यो र किन ग¥यो ? भन्ने प्रश्नको स्पष्ट जवाफ खोजिरहेका छन् । यही दबाबकाबीच अर्थमन्त्रीले संसद्मा आक्रोशित सुनिएका हुन् । उनले आफूविरुद्ध उठेका आरोपलाई‘हिलो छ्याप्ने अभियान’ को संज्ञा दिए । ‘सुशासनमा निर्मम ढंगले अघि बढेको व्यक्तिलाई हिलो छ्याप्ने काम भएको छ । हिलो छ्यापेपछि जति धोए पनि केही टाटा बाँकी रहन्छ,’ उनले भने ।
उनको भनाइमा आफूलाई नियोजितरूपमा बदनाम गर्ने प्रयास भइरहेको पीडामात्र होइन, आरोप लगाउनेहरूप्रति असन्तुष्टि पनि स्पष्ट देखिन्थ्यो । सूचना चुहावटको विषयमा पनि वाग्लेले बैठकमा कडा प्रतिवाद गरे । विद्युतीय सवारीसाधनको करसम्बन्धी जानकारी बजेटअघि नै बाहिरिएको आशंका गरिएको छ । केही आयातकर्ताले कर बढ्नुअघि ठूलो परिमाणमा गाडी भित्र्याएको विषय सार्वजनिक भएपछि सूचना चुहावटको प्रश्न उठेको थियो । तर, वाग्लेले आफू वा आफ्नो टोलीबाट कुनै सूचना बाहिर नगएको दाबी गर्दै आएका छन् । उनले प्रमाण भए सार्वजनिक गर्न चुनौतीसमेत दिए । ‘मबाट सूचना चुहिएको भए एउटा सानो प्रमाण ल्याइदिनुस्,’ उनले भने ।
उनको यो चुनौती पनि विपक्षी सांसदहरूप्रति लक्षित थियो । पछिल्ला दिनमा संसद्मा निरन्तर उठिरहेको छानबिनको मागप्रति उनले असन्तुष्टि व्यक्त गरे । जुनसुकै विषयमा छानबिन समिति बनाएर संसद्को ओज घटाउन नहुने तर्कसमेत उनले राखेका छन् ।