यो अभिव्यक्ति राष्ट्रहितविपरीत र कूटनीतिक मर्यादाविपरीत छ । प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ ।
नेपाली कांग्रेस
- नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिले निम्त्यायो राजनीतिक गतिरोध
- प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध
- युवा विद्यार्थीहरू सडक प्रदर्शनमा, मागियो प्रधानमन्त्रीको राजीनामा
- देशको ठाउँ-ठाउँमा प्रधानमन्त्री शाहको पुत्ला दहन, नेविसंघका छ जना नेता पक्राउ
- प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको निष्कर्ष
- सदनमा आएर क्षमा माग्न प्रधानमन्त्रीमाथि दबाब
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्दै संसद्मा दिएको अभिव्यक्तिले राजनीतिक गतिरोध निम्तिएको छ । संसद् बैठक लगातार अवरोध भएको छ ।
सोमबार पनि विपक्षी दलहरूले उभिएर नाराबाजी गरे । संसद्को कार्यसूची अघि बढ्न सकेन । बजेट छलफल रोकियो । संसद्को वातावरण तनावपूर्ण भइरहेको छ । यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक आज १ बजेसम्मका लागि स्थगित गरे । राष्ट्रिय सभा बैठक पनि अवरुद्ध भयो । विपक्षी दलका सांसदहरूले अवरोध पुर्याएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगन गरे ।
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही, गैरजिम्मेवार छ । त्यो संसद्को रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले रोस्ट्रमबाट माफी माग्नुपर्छ ।
ऐनबहादुर महर
प्रमुख सचेतक, नेकपा एमाले
राजनीतिक दल र ती दलका भ्रातृ संगठनहरू चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर सोमबारदेखि सडकमा उत्रिएका छन् । देशको ठाउँ-ठाउँमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री वालेन्द्रको राजीनामा मागेका छन् । सोमबार साँझ उनीहरूले वालेन्द्र सरकारविरुद्ध जुलुस पनि निकाले । केही ठाउँमा वालेन्द्रको पुत्ला दहन गरे । आज युवाहरूको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मसाल जुलुस निकाल्ने र २१ गते जनसंगठनहरूको सहभागितामा संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले जनताको धैर्यको बाँध फुट्न नदिन चेतावनी दिँदै प्रधानमन्त्री शाहले राजीनामा दिनैपर्ने बताए । ‘जनविरोधी तथा राष्ट्रघाती गतिविधिहरू हामी देशभक्त, राष्ट्रप्रेमी र जनजीविकाका पक्षमा आवाज बुलन्द गर्ने युवाहरूको निम्ति सह्य हुन सक्दैन । नेपाली जनताको धैर्यको बाँध नटुट्दै जनतासमक्ष माफी मागेर राजीनामा दिन प्रधानमन्त्री शाहलाई आह्वान गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शनमा रहेका कांग्रेसनिकट छ जना विद्यार्थी नेता पक्राउ परेका छन् । नेविसंघमा आबद्ध विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे पक्राउ परेका हुन् । विगतमा काठमाडौं महानगरपालिकाको प्रमुख छँदा ग्रेटर नेपालको नक्सा राखेका प्रधानमन्त्री शाहको राष्ट्रवादको मखुण्डो उघ्रिएको भन्दै आलोचना भइरहेको छ ।
उता सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तटबन्ध निर्माणमा रोक लगाएको छ । यससँगै सीमा क्षेत्रमा चिन्ता बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार नेपाल-भारत संयुक्त गस्तीका क्रममा भारतीय पक्षले निर्माण रोक्न मौखिक आग्रह गरेको हो । भण्डारीले प्रभावसँग भने, ‘सीमा स्तम्भ भएको क्षेत्र हो । त्यसैले तत्काल निर्माण रोक्न भनिएको जानकारी आएको छ ।’
उनले यो विषयको जानकारी गृह मन्त्रालयलाई पनि गराएको बताए । सुस्ताका स्थानीय भने चिन्तित भएका छन् । वर्र्षौंदेखि नदी कटानले भूमि गुमाइरहेका उनीहरूका लागि अत्यावश्यक तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध आएको हो । सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले तटबन्ध निर्माण रोकिँदा स्थानीय थप जोखिममा पर्ने बताए । ‘सुस्ता संवेदनशील क्षेत्र हो । यहाँ तटबन्ध रोकिँदा स्थानीय थप जोखिममा पर्छन्,’ उनले भने । गौतमका अनुसार प्रधानमन्त्री शाहको अभिव्यक्ति र राज्यको ढिलासुस्तीसँगै अस्पष्ट नीतिले समस्या झन् बढाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कडा शब्दमा आलोचना गरेको छ । कांग्रेसले भनेको छ, ‘यो अभिव्यक्ति राष्ट्रहितविपरीत र कूटनीतिक मर्यादाविपरीत छ । प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ ।’ नेकपा एमालेले पनि कडा प्रतिक्रिया दिएको छ । एमालेले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती’ भनेको छ । एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्ने माग गरे । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही, गैरजिम्मेवार छ । त्यो संसद्को रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले रोस्ट्रमबाट माफी माग्नुपर्छ ।’
एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी दिइन् । ‘हाम्रो लागि देशभन्दा ठूलो विषय अरू केही छैन । अहिले बजेटमाथि छलफल चलाउने कुरामात्र होइन,’ उनले भनिन्, ‘राष्ट्रहितसँग जोडिएको गम्भीर विषय उठेको छ । यस्तो विषयलाई बेवास्ता गरेर अगाडि बढ्न सकिँदैन ।’ उनले ऐतिहासिक तथ्यविपरीत प्रधानमन्त्री शाहबाट यस्तो अभिव्यक्ति आउनु गम्भीर त्रुटि भएको बताइन् । नेपाललाई सीमा मिचुवा देशको रुपमा प्रधानमन्त्रीको अभिव्यक्तिले चित्रण गरेको भन्दै उनको अभिव्यक्ति गैरजिम्मेवार, कूटनीतिक मर्यादाविपरीत र राष्ट्रघाती भएको टिप्पणी गरिन् ।
परराष्ट्र मन्त्रालयले भने यसलाई सीमा व्यवस्थापनसँग सम्बन्धित प्राविधिक विषय भनेर व्याख्या गरेको छ । तर, विवाद अझै रोकिएको छैन ।
सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिले विपक्षी दलहरुलाई एक ठाउँमा उभ्याएको छ । सोमबार विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयुक्त बैठक बस्यो । बैठकले प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा गर्यो । एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सदनको रेकर्डबाट वालेन्द्रको अभिव्यक्ति हटाउनुपर्नेमा जोड दिए ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने हटाउनेभन्दा पनि सुरक्षित राख्नुपर्ने र कुनै बेला देशको प्रधानमन्त्रीले सीमाजस्तो संवेदनशील विषयमा कसरी हलुवा र अपरिपक्व ढंगले अभिव्यक्ति दिए ? त्यसको प्रमाणका लागि हटाउनेभन्दा पनि सुरक्षित राख्नुपर्ने बताए ।
‘प्रधानमन्त्रीजीले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्नुभयो र यो बिना तथ्य, प्रमाण, सरकारी दस्तावेज वा अन्य अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानमन्त्रीले त्यसो भन्नुभयो जस्तो लाग्छ,’ आङ्देम्बेले भने, ‘तर, कहाँ र कति मिचेको रहेछ ? त्यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’
प्रधानमन्त्री शाहको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यसबारे मुख खोलेको छैन । उक्त दलका केही सांसदहरू प्रधानमन्त्रीको बचाउमा उत्रिएका छन् । पूर्वमन्त्रीसमेत रहेका बब्लु गुप्ताले भने भारतीय जग्गा नेपालले मिचेको देखाउन एउटा तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको बचाउ गरे । रास्वपाकै सांसद आशिका तामाङले भने प्रधानमन्त्रीलाई प्रमाण सार्वजनिक गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेकी हुन् ।